विकासे आयोजनाको डुब्लीकेसनलाई सुधार्नुपर्छ : उपाध्यक्ष कँडेल



प्रताप बानियाँ, म्याग्दी ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कँडेलसहितको एक टोलीले म्याग्दीमा सञ्चालित विभिन्न विकासे आयोजनाहरुको स्थलगत निरीक्षण गरेको छ । उपाध्यक्षको टोलीद्वारा खासगरी समपुरक र विशेष अनुदानका योजना तथा आयोजनाहरुको अनुगमन र निरीक्षण गरिएको हो ।

उक्त टोलीले बेनी–जोमसोम–कोरला सडक आयोजना, राहुघाट जलविद्युत आयोजना, बेनी–जोमसोम सडकअन्तर्गत गलेश्वरमा निर्माणाधीन मोटरेबल पुल, कालीपुल बसपार्क, बेनी अस्पतालको निर्माणाधीन भवन र म्याग्दी बहुमुखी क्याम्पसको अनुगमन गरेको जनाएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको अवस्थाबारे स्थलगत अवलोकन गरेको कँडेल नेतृत्वको टोलीले म्याग्दीमा पनि योजनाहरुको अनुगमन गरेको हो ।

अनुगमनपछि बेनीमा आयोजित सरोकारवालासँगको भेटघाटमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कँडेलले विकासका आयोजनाहरुमा डुब्लीकेसन रहेकाले यसलाई सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले डुब्लीकेसन सुधार्न केन्द्र सरकारले परियोजना बैंक प्रणालीको अवधारणा ल्याएकाले यसलाई केन्द्र हुँदै प्रदेश र स्थानीय तहमा लागू गरिने जानकारी दिनुभयो । उहाँले तीनवटै तहले सञ्चालन गर्ने विकासे आयोजनाहरुमा डुब्लीकेसन हुने हुँदा आगामी दिनमा ठूला आयोजनाहरु सह–लगानीमा सञ्चालन गरिने बताउनुभएको छ ।

संघीय सरकारको समपुरक र विशेष अनुदानमा सञ्चालित आयोजनाहरुको अनुगमनका क्रममा पर्वत र बागलुङ हुँदै म्याग्दी आउनुभएका उपाध्यक्ष कँडेलले आगामी दिनमा संयुक्त लगानीमा आयोजनाहरु सञ्चालन हुने बताउनुभयो । उहाँले ठूला सडक लगायतका योजना तथा आयोजनाहरु सबैको उपस्थितिमा होस् भन्ने हेतुले भर्खरै कार्यविधि पास भएको बताउनुभयो ।

उहाँले सोहीअनुसार तीनवटै सरकारको सह–लगानीमा आयोजनाहरु सञ्चालन हुने बताउँदै अधिकांश क्षेत्रमा योजना पार्नका लागि मरिमेट्ने तर योजना परिसकेपछि त्यसमा चासो नहुँदा योजनाहरु सम्पन्न हुन समय लागेको बताउनुभएको छ ।

संघीय सरकारको जिम्मेवारी सबै क्षेत्रको विकासमा रहेको र त्यसका लागि सबैले आ–आफ्नो मार्ग प्रयोग गर्नुपर्ने पनि उपाध्यक्ष कँडेलले बताउनुभयो । सशर्त अनुदानको पाटोलाई विधागत मन्त्रालयमार्फत जानुपर्ने, समानीकरण अनुदान आफ्नो बाटोबाट आउने भए पनि योजनाहरुमा हुन सक्ने डुब्लीकेसनलाई सबैले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । तर, परियोजनाहरु तयार भैसकेपछि मात्रै कार्यान्वयनको पाटोमा जाने भएकाले सुरुदेखि नै ध्यान पु¥याउनुपर्ने उहाँको भनाइ छ ।

सोही अवसरमा प्रधानमन्त्रीका विकास तथा योजना विज्ञ सल्लाहकार गजेन्द्र थपलियाले जिल्ला भित्रका विकासे योजनाहरुको अनुगमन अनि त्यसको अवस्था थाहा पाउनका लागि आफूहरु निरीक्षणमा निस्किएको बताउनुभयो । योजना तथा आयोजनाहरुमा नतिजामुखी विकास हुनुपर्ने बताउँदै उहाँले प्रधानमन्त्री आफै सबै स्थानमा पुग्न सम्भव नभएकाले उहाँकै निर्देशनमा आफूहरु जिल्लाको अनुगमनमा आएको जानकारी दिनुभयो ।

योजना आयोगका उपाध्यक्ष कँडेलसहितको टोलीसँगको भेटघाटमा संविधान सभा सदस्यद्वय नवराज शर्मा, गोविन्द पौडेल, गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, नेकपा म्याग्दीका कार्यालय सदस्य बालकृष्ण सुवेदीले जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका आयोजना तथा योजनाको अवस्था, विकासे गतिविधि, निर्माणाधीन सडक तथा भवनको भौतिक प्रगतिका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्