नेपालगन्ज म्याराथनको तयारी अघि बढ्दै



नेपालगन्ज, (नेस)
क्रिएटिभ ह्यान्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एन्ड इभेन्ट्सको व्यवस्थापनमा मंसिर ६ गते शनिबार हुने छैठौं धारा नेपालगन्ज म्याराथनको तयारी तीव्र गतिमा अघि बढेको छ।
एक्सन एड नेपालको साझेदारीपछि ‘बाँच्नका लागि हिँडौं’ भन्ने नारा नेपालगन्ज म्याराथन आयोजना हुँदै छ। सरकार र सशस्त्र द्वन्द्वरत तत्कालीन माओवादीका बीचमा भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगन्जमा म्याराथन आयोजना हुने गरेको छ।
नेपाल एथलेटिक्स संघबाट मान्यता प्राप्त नेपालगन्ज म्याराथन यसपटक नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पिक छनोटका रूपमा समेत लिएको छ। म्याराथनका विजेताले अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने एनओसीले जानकारी गराएको छ।
केएल दुगड ग्रुपअन्तर्गत सौरभ आयल मिलको उत्पादन धारा नेपालगन्ज म्याराथनको मुख्य प्रायोजक रहनेछ। धाराको नारा ‘मुटु चाहिन्छ मुटुसँग’ म्याराथनको कहीं न कहीं तालमेल हुन आउँछ। म्याराथन दौडका लागि तयार हुन पनि मुटु नै चाहिन्छ।
म्याराथनमा आशीर्वाद पेन्ट्स र राष्ट्रिय वाणिज्य बैंकको विगतमा जस्तै साथ रहनेछ। खेल पोशाक उत्पादन कम्पनी साहस स्पोर्टस्सँग पनि म्याराथनका लागि सहकार्य भएको छ। नेपालगन्ज म्याराथनमा हाम्रो खेलकुद डट कम मिडिया पार्टनर रहेको छ।
दैनिक नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज, वेस्टर्न हस्पिटल एन्ड रिसर्च सेन्टर, निदान डाइग्नोस्टिक, होटल भ्यू सिद्धार्थलगायत पार्टनर छन्। राष्ट्रिय खेलकुद परिषद्, एनओसी र नेपालगन्ज उपमहानगरपालिकालगायत स्थानीय तह साथमा छन्।
कोरोना महामारीका कारण यसपटक मानिसको जमघटमा कोरोनाका कारण बढी ध्यान दिने र स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाउनुपर्ने छ। दौडमा भाग लिनेलाई दौडको समयमा बाहेक र म्याराथनलाई सफल बनाउन उपस्थित हुने सबैलाई मास्कको प्रयोग र सामाजिक दूरीलाई कायम गर्न अनुरोध गरिएको छ।
कोरोनाकै कारण ठूलो जमघट गर्न उपयुक्त नभएका कारण यसपटक विगतको भन्दा म्याराथनमा समावेश इभेन्ट भने घटाइएको छ। पुरुष खुलातर्फ म्याराथन, महिलाको हाफम्याराथन र ३ किलोमिटरको कर्पोरेट रन मात्रै समावेश छ।
यसपटक म्याराथन र हाफ म्याराथनको पुरस्कार राशिमा पनि वृद्धि गरिएको छ।
यसपटक म्याराथनका विजेताले ७५ हजार, दोस्रोले ३० हजार, तेस्रो हुनेले १५ हजार रुपियाँ प्राप्त गर्नेछन्। त्यस्तै, चौथोले १०, पाँचौंले ८, छैठौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपियाँ पाउनेछन्। म्याराथनको विजेताले गत वर्षको तुलनामा २० हजार रुपियाँ पुरस्कार बढी पाउनेछन्।
महिला हाफ म्याराथनको विजेताले ३०, दोस्रो हुनेले १५ र तेस्रो हुनेले १० हजार रुपियाँ पाउनेछन्। त्यस्तै, चौथोलाई ७, पाँचौंलाई ६ र छैठौं हुनेलाई ५ हजार रुपियाँ प्रदान गरिनेछ।
नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र सेनाका नवराज साउद विजेता भएका थिए।
त्यस्तै, महिला हाफ म्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छन्। गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्