विकासको ‘मौलिक नेपाली मोडल’



इन्द्रकुमार श्रेष्ठ

दिगो विकास भनेको के हो ? यो के–कस्तो हुनुपर्छ र कसरी गर्नुपर्छ भन्ने विषयमा विश्वव्यापी मान्यता छ । तर हामीकहाँ त्यसलाई पूरै बेवास्ता गर्ने गरिएको छ । अधिकांश विकास निर्माणका काम शुरु गर्नुअघि त्यसको स्थायित्व र त्यसले पार्न सक्ने असरका विषयमा विचारै गरिँदैन ।

खालि विकास देखाउने र पैसा खर्च गर्ने÷कमाउने काममात्र सोचिन्छ । यसमा पनि योजनाको लागत–आकार र नेताको स्तरअनुसार कमिसन, भ्रष्टाचारको बाँडफाँड हुने गरेको देखिन्छ । कमिसन चक्करकै चपेटामा परेर सानातिना र ठूला गौरवका योजना÷आयोजनाहरूले लामो समय लिने गरेका छन् । उदाहरणका लागि मेलम्ची खानेपानी आयोजना एउटै काफी छ । विदेशले अनुदान दिएर गरिदेला भन्ने आशामा हुने गरेको ‘आशावादी विकास’ पनि जताततै पर्खेर बसेका छन् ।

सरकार तथा राजनीतिक दलपिच्छेका चुनावकेन्द्रित ‘योजना र घोषणापत्रे विकास’ त पहिलेदेखि नै सुनिएको÷पढिएको छँदै छ । सिद्धान्ततः तिनलाई खालि समयको सदुपयोग भनौं वा दुरुपयोग गर्ने माध्यमका रूपमा पनि बुझ्न सकिन्छ । व्यवहारमा चाहिँ हिमाली÷पहाडी क्षेत्रमा घर–घरमा बाटो पु¥याउने खालको ‘डोजरे विकास’ जथाभावी भएर जताततै पहिरो गई जनधनको क्षति भोगिएको छ । पानी नभएको वा त्यो आइनपुग्ने ठाउँमा धारा–ट्याङकी बन्ने अनि केही वर्षपछि त्यो अवशेषका रूपमा रहने र वर्षौंदेखि बिजुलीको खम्बा–तार मात्र गाडिने÷टाँगिने गरिएको ‘देखौवा विकास’ पनि प्रशस्तै देखिन्छ ।

विकास भन्ने कुरा क्षेत्रगत हिसाबले सबैतिर समानुपातिकरूपमा हुनुपर्ने हो । तर झापा, मोरङ, धनकुटाझैँ कुनै जिल्लाका नेता प्रधानमन्त्रीको कुर्सीमा पुगेका छन् भने भने त्यस जिल्लामा बढ्तै विकास भएको देखिन्छ । त्यस प्रकारको विकासलाई ‘प्रधानमन्त्री–मन्त्री विकास’को नाम दिए पनि हुन्छ । हाम्रा हिमाली पहाडी डाँडाहरूको प्राकृतिक सुन्दरता मेटाउँदै ‘टावर विकास’ हुने गरेकोमा अहिले त्यसमा ‘भ्यू टावर तथा स्वागत द्वार विकास’ पनि थपिएको छ ।

मर्मत गरेर कामचलाउ अवस्थाका गाडीहरू मन्त्रालयपिच्छेको चउरमा थुपारी राखेर नयाँ मोडलका र महँगा गाडी धमाधम किनेर ‘गाडी विकास’ गर्नसम्म गरिएको छ । प्रतिव्यक्ति छकरोडको ‘सांसद विकास’ पनि छँदै छ ।

एकातिर सडक बनाउँदै जाने, अर्कातिर खानेपानी र ढल निकासले खन्दै जाने पाराको ‘प्रतिस्पर्धात्मक विकास’ पनि कहिलेकाहीँ खासखास मौसममा देखिन्छ । कुनै ठाउँमा कोही भीआईपी स्वदेशी वा विदेशी पाहुना आउने भए भने उनीहरूका लागि हतारहतार हुने गरेको सडक कालोपत्रे, मञ्च र स्वागत द्वार निर्माणका ‘स्वागते विकास’ पहिलेदेखि नै चर्चित छँदै छ । हरेक वर्ष आर्थिक विकासको अन्त्यमा बजेट सक्न गरिने ‘असारे विकास’ उल्लेखनीय छ । चाडबाड आउनुअघि गरिने ‘चाडबाडे विकास’ पनि कमको छैन । प्राकृतिक प्रकोपका कारण कुनै ठाउँको सरकारी भवन भत्कियो भने त्यहाँ तत्कालका लागि गरिने ‘हतारपतारको विकास’ पनि अनिवार्य नै ठानिन्छ । थुप्रै रकम खर्चेर पनि झारा टार्ने पाराको निर्माण भएपछि त्यहाँ नयाँ–नयाँ योजना र प्रशस्त रकमसहितको ‘निरन्तर विकास’ पनि चलिरहन्छ । ‘बैठक विकास’, ‘गोष्ठी विकास’, ‘काज विकास’, ‘भ्रमण विकास’, ‘अनुगमन विकास’का त के कुरा भयो र !

प्रतिक्रिया दिनुहोस्