असल–खराब दुवै गुण हामीभित्रै छन्



प्रेम रावत

असल गुण र खराब गुण– यो त मानिसकै एउटा प्रकृति हो । असल र खराब दुवै कुरा मानिसभित्रै छ । मानिस जहाँ पुगे पनि आफ्नो खराब गुणलाई साथैमा लिएर हिँडेको हुन्छ । राम्रो गुणलाई पनि साथैमा लिएको हुन्छ । तपाईँ कतै जाँदा आफ्नो रिसलाई पनि आपूmसँगै लिएर जानुभएको हुन्छ । अनि आफ्नो दयालुपनलाई पनि सँगै लैजानुभएको हुन्छ । कुरा त के मात्र हो भने, तपाईँ कुन कुरालाई धेरै प्रयोग गर्नुहुन्छ ? तपाईँमा भएकामध्ये कुनचाहिँ कुरालाई बढी प्रेरित गर्नुहुन्छ ? क्रोधलाई प्रयोग गर्नुहुन्छ कि दयालाई प्रयोग गर्नुहुन्छ ? दया पनि तपाईँभित्र छ र रिस पनि तपाईँभित्र छ । त्यसबाट तपाईँ कहिल्यै वञ्चित हुन सक्नुहुन्न ।

शान्ति पनि कतै बाहिर छैन । त्यो पनि हामीभित्रै छ । यदि शान्ति कुनै अर्कै स्थानबाट आइरहेको छ भने त गडबड छ । यसको अर्थ– यदि शान्ति पृथ्वीमा भएको कुनै कुवाबाट आइरहेको छ, अनि हामी हवाईजहाजमा पचास हजार फिट माथिबाट उडिरहेको छौँ भने हामी शान्तिको अनुभव गर्न सक्दैनौँ । तर, त्यो शान्ति हामी भित्रबाट आइरहेको छ भने हामी जहाँ भए पनि त्यसको अनुभव गर्न सक्छौँ । यदि हामी केवल बाहिर लडिरहेका छौँ र भित्रबाट शान्त छौँ भने शान्तिको अनुभव त लडाइँको मैदानमा पनि हुन सक्छ ।

बाहिरी शान्ति ल्याउनका लागि आन्तरिक शान्तिको अनुभूति गर्नु अत्यन्तै आवश्यक हुन्छ । यसलाई एउटा उदाहरणबाट पनि बुझ्न सकिन्छ– यदि तपाईँसँग पानीले भरिएको एउटा गाग्रो छ । तपाईँ रेलमा यात्रा गरिरहनुभएको छ । तपाईँले गाग्रोको ढकनीलाई खोलेर हेर्नुभयो भने पानी हल्लिरहेको देख्नुहुन्छ । तपाईँको मनमा विचार उत्पन्न हुन्छ, ‘पानी किन हल्लिरहेको छ ? गाग्रो त हल्लिरहेको छैन !’ मैले यसलाई यति बेस्सरी समाएको छु तैपनि पानी भने हल्लिरहेकै छ । त्यसको कारण हामी सबैलाई थाहा छ । रेल हल्लिरहेको हुनाले गाग्रो हल्लिरहेको छ र पानी पनि । चाहे तपाईँ गाग्रोलाई जतिसुकै जोडले समातेर बस्नुहोस्, पानी त हल्लिन्छ नै । ठीक त्यसै गरी यदि तपाईँ अशान्त हुनुहुन्छ अर्थात् तपाईँ हल्लिरहनुभएको छ भने बाहिर पनि अशान्ति नै हुनेछ । यदि तपाईँ भित्रबाट शान्त हुनुहुन्छ भने त्यही शान्ति बाहिर पनि प्रकट हुन्छ, किनभने शान्ति त हामीभित्रै छ ।

एउटा समयको कुरा हो । एक ठाउँमा फिरन्ताहरूको एउटा समूह थियो । एकदिन एउटा बालकले फिरन्ताहरूको अगुवाकहाँ गएर एउटा प्रश्न सोध्यो– ‘मैले के देखेको छु भने केही मानिस जो राम्रा हुन्छन् तर तिनैले कहिलेकाहीँ नराम्रो काम गर्छन् । नराम्रा कर्महरू गर्छन् । अनि, जो खराब कर्म गर्नेहरू हुन्छन्, तिनीहरूले पनि कहिलेकाहीँ राम्रो काम गर्छन् । जो मानिसहरू खुशी रहन्छन्, तिनीहरू पनि दुःखी हुन्छन् । जो मानिसहरू दुःखी छन्, कहिलेकाहीँ तिनीहरू पनि खुशी हुन्छन् । यस्तो किन हुन्छ ?’

त्यसपछि अगुवाले भन्छन्– ‘हरेक मानिसभित्र दुईवटा सिंह हुन्छन् । एउटा असल सिंह हुन्छ र अर्को खराब सिंह हुन्छ । अनि ती दुईवटै सिंहहरू एक–आपसमा लडिरहन्छन् ।’
अनि बालकले अगुवालाई सोध्छ– ‘दुईवटै सिंह एक–आपसमा किन लड्छन् ?’
अगुवाले भन्छन्– ‘किन लडिरहन्छन् भने, तिनले तिमीलाई काबुमा राख्न चाहन्छन् ।’
फेरि बालकले सोध्छ– ‘तिनीहरूमध्ये कुनचाहिँले जित्छ– असलले कि खराबले ?’
अनि अगुवाले भन्छन्– ‘जुन सिंहलाई तिमी खुवाउँछौँ, उसैले जित्नेछ । खराब सिंहलाई खुवायौ भने त उसैले जित्नेछ । उसैले तिमीलाई नियन्त्रण गर्नेछ । असल सिंहलाई खुवायौ भने असलले नै जित्नेछ । उसले तिमीलाई नियन्त्रण गर्नेछ । असल सिंह राम्रो हो, खराब सिंहचाँहि नराम्रो हो ।’

तपाईँ कुनचाहिँ सिंहलाई पालनपोषण गरिरहनुभएको छ ? असललाई या खराबलाई ? किनभने, यदि खराबलाई पालनपोषण गर्नुभयो भने त्यही बलवान् बन्छ । त्यसपछि उसले असल सिंहलाई जित्छ । अनि, तपाईँसँग नराम्रो व्यवहार मात्रै हुन्छ । यदि असलचाहिँलाई खुवाउनुभयो भने त्यो शक्तिशाली हुनेछ । उसले खराब सिंहलाई मार्नेछ अनि केवल राम्रो व्यवहार हुनेछ !

राम्रो गुण र नराम्रो गुण त हरेक मानिसभित्रै छ । अँध्यारो र प्रकाश, शङ्का र स्पष्टता पनि मानिसभित्रै छ । यदि हामी यो संसारमा हराइरहेका छौँ या आपूmले आपूmलाई पाइरहेका छौँ भने पनि हराउनु र भेट्टाउनु दुवै कुरा हामीभित्रै छन् । हामीले कुनै चीजलाई हेर्दा सौन्दर्यको अनुभूति हुन्छ, त्यो सौन्दर्यको आनन्द पनि भित्रै छ । किनभने, हामी जे–जति कार्य गरिरहेका हुन्छौँ, त्यसको स्रोत हामीभित्रै छ । यदि मैले कुनै कुरालाई बुझिरहेको छु भने त्यसको स्रोत म नै हुँ । बुझिरहेको छैन भने पनि त्यसको स्रोत पनि म नै हुँ । म जता गए पनि यी सबै कुरा मसँगै जान्छन्, किनकि सबै कुरा मभित्रै हुन्छन् । प्रायः कोठामा पसेर ढोका बन्द गरेपछि हामीलाई ‘अब म एक्लै छु’ भन्ने लागेको हुन्छ । तथापि, त्यतिखेर पनि हामी एक्लै हुँदैनौँ । क्रोध, दया, लोभ, चिन्ता सबै हामीसँगै त्यो कोठामा सधैँ आइरहेका हुन्छन् । खराबीलाई बाहिर देखाउने र असलपनलाई अगाडि सार्ने दुवै कुरा तपाईँमा निर्भर रहन्छ ।

यदि हामी आफ्नो जीवनमा राम्रो होस् भन्ने चाहन्छौँ भने असलपनकै बाटोमा हिँड्नुपर्छ । त्यसलाई प्राथमिकता दिनुपर्नेछ ! किनभने, मानिसले राम्रोपनलाई चिन्न थालेपछि, त्यसलाई प्राथमिकता दिन थालेपछि यो संसार बदलिन समय नै लाग्दैन ।
म त मानिसहरूसँग के भन्छु भने, हामीसँग एउटा यस्तो पनि चीज छ– जो असल पनि छैन र खराब पनि छैन । यो भनेकै प्रकृति हो । सृष्टिकर्ताले यो नियम बनाएका छन् । यो नियम सबैमा लागू हुन्छ । यसमा धनी–गरिब, शिक्षित–अशिक्षितको विभेद छैन । यो सबैमाथि समानरूपले लागू हुन्छ । मानिसको प्रकृति अर्थात् स्वभाव नै के हो भने, यी चीजहरूकै बीचमा भएर पनि उसलाई ‘के प्राप्त भएको छ’ भन्ने नै थाहा छैन । जे प्राप्त भयो त्यसलाई पनि ऊ सकारात्मकरूपमा सोच्दैन– ‘मैले खराब चीज मात्र पाएँ, असल चीज त पाउनै सकिन’ भन्छ । किनभने, मानिसको स्वभाव नै यही हो ।

उसले आपूूmलाई अरूसँग तुलना गर्छ । ‘त्योसँग त्यस्तो के चीज छ, जुन मसँग छैन ?’ अर्को व्यक्तिलाई हेरेर भन्छ । ऊ अरूसँगै दाँजिएर आफ्नो बारेमा अनुमान लगाउँछ– ‘त्यो मानिस मभन्दा धनी छ कि गरिब छ ?’ कार हुनेहरू आफ्नो कारमा बसेर अर्काको कारलाई हेर्छन् र तुलना गर्छन्– ‘त्यसको कार मेरोभन्दा राम्रो छ कि नराम्रो छ ?’ कारको कुरा छोडाँै । भाडा तिरेर बसमा यात्रा गर्नेहरू पनि यही कुरा दोहो¥याउँछन् । अर्को बस आपूm चढेकोभन्दा राम्रो छ कि नराम्रो छ ?’ यद्यपि त्यो बस उसको पनि होइन । त्यसमा ऊ त यात्रा मात्र गरिरहेको हुन्छ । निश्चित गन्तव्यसम्मका लागि भाडा तिरेको हुन्छ । तर पनि, अर्को बसलाई हेर्दै तुलना गर्छ– ‘अरूहरू चढेको त्यो बस आपूm चढेको बसभन्दा राम्रो छ कि नराम्रो ?’ मानिसहरूले एउटा महत्त्वपूर्ण कुरालाई सधैँ बिर्सिन्छन् । मानिसभित्रै एउटा यस्तो चीज छ, जो सबैका लागि समान छ । त्यो आइरहन्छ, गइरहन्छ । यो कुरामा मानिसको ध्यान कहिल्यै जाँदैन ।

अवसर आयो । अवसर प्राप्त भयो तर यसलाई बुझ्न सकेनौँ र यो हाम्रो हातबाट फुस्कियो । हाम्रो जीवनमा भएको वा हुनसक्ने कुनै ठूलो दुःखद कुरा के हो भने, जुन कुरा हामीलाई प्राप्त भइरहेको थियो, त्यही कुरालाई हामीले सदुपयोग गर्न सकेनौँ । कति मूल्यवान् चीज छ– यो श्वास ! सोच्नुहोस् त ! यस संसारमा तपाईँ हीरा, मोती, जग्गा–जमिन धेरै चीजलाई किन्न सक्नुहुन्छ तर यो श्वासलाई किन्न सक्नुहुन्न ! यो कस्तो चीज हो ? तपाईँ आपैmँ मनन गर्नुहोस् । तपाईँ खाना बाँड्न सक्नुहुन्छ, पानी बाँड्न सक्नुहुन्छ, आफ्ना लुगाफाटा सारा भौतिक कुराहरू तपाईँले बाँड्न सक्नुहुन्छ तर यो श्वासलाई बाँड्न सक्नुहुन्न । यो जसको हो, त्यसैको मात्र हो । जोसँग छ, त्यसैको मात्र हुन्छ । यसलाई चोरले चोरेर लैजान सक्दैन । जबसम्म यो रहन्छ, तबसम्म तपाईँ रहनुहुनेछ । जब यो हुँदैन तब तपाईँ पनि रहनुहुने छैन ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्