संक्रमणका बीच विद्यालय



कोभिड–१९ को कारण बन्द रहेका विद्यालय सञ्चालन गर्नसक्ने अधिकार स्थानीय तहलाई तोकिएपछि धमाधम विद्यालय खोल्ने तयारी अघि बढेको देखिन्छ । नौ महिनादेखि बन्द विद्यालय खोल्ने तयारीमा लागेका स्थानीय तहले विद्यालय खोल्नुअघि र खोलेपछि आउनसक्ने समस्याको बारेमा गम्भीर हुनु जरुरी रहेको धारणा पनि विज्ञ पक्षबाट व्यक्त भइरहेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक कार्यढाँचा तयार गरी व्यवस्थापन गर्न स्थानीत तहलाई अधिकार दिएपछि स्थानीय तहले स्वाथ्य मापदण्ड सहितको आन्तरिक तयारी थालेको देखिएको छ भने कोभिडले संक्रमणको स्वरुप निरन्तर बढाइरहेका कारण अभिभावकहरु सरकारको यस व्यवस्थापनप्रति सशंकित देखिएका छन्, सरकारले तयार गरेको पूर्वाधार भरपर्दो छ र आफ्ना बालबालिकालाई विद्यालय पठाउनु सुरक्षित छ भन्न सकिरहेका छैनन् ।

कोभिड–१९ संक्रमण नभएका जिल्लाका अधिकांश स्थानीय तहले विद्यालय खोलेपछि मन्त्रालयले बाध्य भएर कार्यढाचा तयार गरेको हो । स्थानीय तहको समन्वयमा विद्यालय व्यवस्थापन समितिको सिफारिसमा विद्यालय खोल्नसक्ने भएपछि लामो समयसम्म बन्द रहेका विद्यालयमा विद्यार्थी पढ्न पाउने भएका छन् । केही महिनाअघि कोभिड संक्रमण कम भएका क्षेत्रमा सम्बन्धित स्थानीय तहले विद्यालय खोल्दा प्रमुख जिल्ला अधिकारीको ठाडो आदेशमा बन्द हुनेगरेको थियो । अब त्यसो गर्न पाइने छैन । स्थानीय तहले जिल्ला प्रशासन कार्यालयकै समन्वयमा विद्यालय खोल्न पाउनेछन् ।

हुन त हुम्लालगायत केही स्थानीय तहले केही दिनअघि विद्यालय खोलेका थिए । ती स्थानीय तहमा कोभिडसंक्रमण पुनः बढ्न थालेपछि विद्यालय बन्द गर्न थालेका छन् । तर, विद्यालय खोल्नु त्यति महत्वपूर्ण विषय होइन, जति विद्यालय आएपछि विद्यार्थीलाई संक्रमण हुनसक्ने हो कि भन्ने विषय गम्भीर छ । अभिभावक पक्षको चिन्ता यहींनिर देखिन्छ । विद्यालय खोल्दा सावधानी अपनाउनु त पर्छ नै त्योभन्दा पनि विद्यार्थीलाई कसरी विद्यालयमा फर्काउने भन्ने विषयमा चनाखो हुनु जरुरी छ ।

किनभने, विद्यार्थीलाई जबरजस्ती कक्षामा राख्न सकिन्न । न त यसरी राखिएका विद्यार्थी पठन–पाठनमा सक्रिय हुन नै सक्छन् । जेहोस्, कार्यढाँचा बनेको छ । कार्यढाँचामा संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी तोकेर विद्यालय खोल्ने उल्लेख गरिऐको छ । विद्यालय खोल्ने अधिकार स्थानीयतहलाई भएपनि अहिलेकै अवस्थामा उपत्यकामा विद्यालय खोल्नसक्ने अवस्था देखिएको छैन । लामो समयदेखि विद्यालय बन्द गर्दा शैक्षिक सत्रमा समेत असर पर्ने भएपछि मंसिर अन्त्यदेखि विद्यालय खोल्ने वातावरण तयार गर्न कार्यढाँचा तयार गरिएको थियो ।

सुरक्षाका लागि फर्निचर, शौचालय, पर्याप्त प्रकाश र हावा आवतजावत गर्नसक्ने कक्षाकोठा लगायतका पूर्वाधार, स्वास्थ्य तथा सरसफाइका लागि साबुन, पानी, सेनिटाइजर तथा विद्यालयमा आउनेहरूका लागि तापक्रम लिने व्यवस्था गर्ने, अनिवार्य मास्क लगाउने र खाजा व्यवस्थापन गर्ने लगायतका विषयवस्तु समावेश गरी तयार गरेको कार्यढाँचालाई आत्मसात गरी विद्यालय खोल्दा सबै विद्यालयले सावधानी अपनाउनु जरुरी हुन्छ । होइन भने विद्यालय कोभिड सर्ने थलोको रुपमा परिणत हुन बेर छैन । यस विषयमा सबै सरोकारवाला निकाय चनाखो हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्