प्रज्ञाले ल्यायो, नेपाली आख्यानमा शरीर राजनीति



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपाली आख्यानमा शरीर राजनीति’ नामक कृति प्रकाशन गरेको छ । पछिल्लो समयमा नेपाली भाषा साहित्यका क्षेत्रमा निकै उपयोगी केही पुराना र केही नवीन कृतिहरूको प्रकाशनमा तीव्रताका साथ जुटेको प्रज्ञा–प्रतिष्ठानले नेपाली पाठक र अनुसन्धाताहरूको अपेक्षालाई ध्यानमा राखेर यो कृति प्रकाशन गरेको हो ।

साहित्य (आख्यान) विभागको अनुसन्धान परियोजना कार्यअन्तर्गत रहेर डा. षडानन्द पौडेलले लेख्नुभएको प्रस्तुत कृतिमा शरीर राजनीतिको अर्थ र पृष्ठभूमि, पूर्वीय र पश्चिमी परम्परामा शरीर राजनीति, नेपाली आख्यानमा लिङ्ग, उमेर र रङको राजनीति, वर्गीय राजनीति, सामाजिक तथा धार्मिक मान्यतामा आधारित राजनीति, स्वार्थ, शक्ति र प्रभुत्वको राजनीति, सांस्कृतिक चेतनाको राजनीति जस्ता विषयहरू समेटिएको छन् ।

साहित्यमा परापूर्व कालदेखि नै शरीर राजनीतिको प्रत्यक्ष प्रभाव र प्रयोग हुँदै आएको हो तर वर्तमानमा आएर मात्र यस बारेमा पाठक र अनुसन्धाताहरूको चासो बढ्न थालेको हुनाले यस्तो कृति प्रकाशन गरिएको जानकारी विभागीय प्रमुख माया ठकुरीले दिनुभएको छ ।

उहाँले भन्नुभयो, विगत केही समयदेखि त्रिविलगायतका विभिन्न विश्वविद्यालय तथा अनुसन्धान केन्द्रहरूबाट यस विषयमा अनुसन्धानहरू हुन थालेका र नयाँ कुराका बारेमा खोजी गर्ने अध्येता र पाठकहरूले समेत यस विषयमा निकै चासो राखेको हुनाले उक्त मागलाई सम्बोधन गरी हामीले यो कृति प्रकाशन गरेका हौँ । यसबाट सम्बन्धित सबैले प्राज्ञिक लाभ हासिल गर्न सक्ने कुरामा हामी आशावादी छौँ ।

जम्मा ३९२ पृष्ठ र ४६० मूल्य रहेको प्रस्तुत कृति नेपाल प्रज्ञा–प्रतिष्ठानको बिक्री कक्ष तथा अधिकृत बिक्रेताबाट उपलब्ध गर्न सकिने कुरा प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्