विशेष सम्पादकीय : राष्ट्रियताको मापदण्ड बनोस् !



नेपाल संवत्ले राष्ट्रिय संवत्का रुपमा मान्यता पाउनुपर्छ भनेर आन्दोलन गर्ने नागरिक समाज नै यतिखेर अलमलमा देखिएको छ । सरकारले १२ वर्षअघि ‘नेपाल संवत् राष्ट्रिय संवत् भयो’ भनेर निर्णय गरिदिएपछि अभियन्ताहरुले एक प्रकारले आराम लिए । मागेको पाइहालियो अब नयाँ अभियानका लागि विषय नै रहेन भन्ने किसिमको सोच एकातिर आयो भने अर्कातिर सरकारले अगाडि के गर्दोरहेछ, हेरौं न भन्ने ‘वेट एन्ड सी’को मानसिकताका कारण पनि नेपाल संवत्को सन्दर्भ ओझेलमा प¥यो । के यो यसरी ओझेलमा पर्ने विषय हो त ?

नेपाल संवत् राष्ट्रिय संवत् भएपछि इस्वी र विक्रम संवत् हट्छन् र नेपाल संवत् चल्छ भन्ने सोच पनि कतिको थियो । तर केही प्राविधिक कारणले त्यसो गर्न सम्भव नभएको अभियन्ता तथा नागरिक समाजले घोषित–अघोषितरुपमा स्वीकार ग¥यो । तर त्यसको अर्थ के थिएन भने नेपाल संवत्को प्रयोग नै त्याज्य भएको होस् । सरकारले राष्ट्रिय संवत् भनेर स्वीकार गरेपछि कार्यान्वयनका लागि ठोस कार्यविधि बनाउनुपथ्र्यो । राष्ट्रिय संवत्को मान्यता केवल औपचारिकतामा मात्र सीमित राख्नुहुनेथिएन । खासगरी, सरकारले करबलले मात्र यसलाई राष्ट्रिय संवत् मानेको अभियन्ता तथा नागरिक समाजबाट लुकेको विषय पनि होइन ।

त्यसैले कार्यान्वयनका लागि लगातार दबाब बनाइराख्न सक्नुपथ्र्यो । कुनै पनि अभियान र पैरवीको लक्षण निरन्तरता हो, विश्राम लिएका कारण मुद्दा ओझेलमा परेको छ । यसलाई ओझेलमा पार्नुहुन्न, पर्न दिनुहुन्न भन्ने सोचले नै नेपाल समाचारपत्रको प्रकाशन संस्था कामना न्यूज पब्लिकेसन्स्ले ‘नेपाल संवत् विशेषांक’ प्रकाशित गर्दै यस अभियानमा सरिक सबै अभियन्ताप्रति अभिनन्दन प्रकट गरेको हो, यस अभियानलाई निरन्तरता दिन आफ्ना तर्फबाट भूमिका खेल्ने प्रयास गरेको हो ।

चार दशकभन्दा लामो अभियानले २०६५ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा सफलता पायो, नेपाल संवत् राष्ट्रिय संवत् बन्यो । नेपाल संवत्लाई राष्ट्रिय मान्यता प्रदान गरे पनि सरकारले नेपाल संवत्लाई व्यावहारिक प्रयोगमा ल्याउन गम्भीरताका साथ कार्य अघि बढाएन । प्रचण्ड सरकारले यस निर्णयका कारण राजनीतिक लोकप्रियता त पायो, अभियन्ता र नागरिक समाजले विजय जुलुस पनि निकाले तर कार्यान्वयनको पाटोमा सरकार सुस्त हुनु त अपेक्षित नै थियो, तर अभियन्ता चुप लाग्नु कत्ति पनि स्वाभाविक थिएन । २०५७ साल मंसिर २ को तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नेतृत्वको मन्त्रिपरिषद्ले नेपाल संवत्का प्रणेता शंखधर साख्वालको हैसियत राष्ट्रिय विभूतिका रूपमा रहेको स्वीकार गरेर यस अभियानले हासिल गरेको सफलता २०६५ सालमा आएर एक प्रकारले शून्यतातिर लाग्यो ।

आज विश्व कोरोना संक्रमणका कारण प्रभावित छ, नेपालको राजधानी संक्रमणको ‘हट स्पट’ बनेको छ । नेपाल संवत्, ११४१ को नयाँ वर्ष कार्यक्रम नहुनु स्वाभाविकै पनि छ । तर, वसन्तपुरलगायतका टोल र सडकमा आन्दोलन भए वा नभए पनि हाम्रो मन–मस्तिष्कको आन्दोलन भने रोकिनुहुन्न । सरकारले मन्त्रालयका लेटरप्याडमा, औपचारिक वेबसाइटहरुमा, सन्धि–सम्झौता र मुद्रामा नेपाल संवत् लेख्नैपर्ने व्यवस्था गर्नुपर्छ ।

आफूलाई राष्ट्रिय सञ्चार माध्यम भन्नेहरुले नेपाल संवत् नछुटाई लेख्नुपर्छ । राष्ट्रिय महŒवका हरेक अभिलेखहरुमा नेपाल संवत् लेखियो भने मात्र यस सन्दर्भमा राष्ट्रप्रमुख र सरकार प्रमुखहरुले दिने शुभकामनाले सार्थकता पाउनेछ । राष्ट्रियताको मापदण्ड बन्नु र त्यसको कार्यान्वयनका लागि मार्गनिर्देशन तयार भई अनुगमन तथा नियमित प्रतिवेदनको व्यवस्था गरिनु आजको आवश्यकता देखिन्छ । नेपाल संवत्, ११४१ को सबैमा हार्दिक शुभकामना !

 

प्रतिक्रिया दिनुहोस्