मेचीपारिका जनतालाई झोलुङ्गेपुलको राहत



उत्तम नेपाल, भद्रपुर

झापाको मेचीपारिको टापु भनेर वर्षौंयताबाट परिचित गाउँ मेचीनदीमा झोलुङ्गे पुल सञ्चालनमा आएपछि सो बस्तीका बासिन्दालाई राहत भएको छ । वर्षायामको समयमा मेचीनदीमा आएको बाढीका कारण नेपाली भए पनि सबै भारतका बजारमा निर्भर हुने गरेका थिए । अत्यावश्यक कामका लागि डुङ्गाको सहायताले सदरमुकाम आउनबाहेक अन्यले आँट गर्न सकेका थिएनन् ।

केही महिनायताबाट पुल सञ्चालनमा आएपछि भद्रपुर–३ महेशपुरमा रहेको सो बस्तीका जनता खुसी देखिएका छन् । हाल झोलुङ्गे पुल पार गर्नेबित्तिकै एउटा बजार लाग्न थालेको छ । मेचीवारि भचक बस्तीका भरत राजवंशीको जग्गामा हाल मेचीवारि र पारिका स्थानीयले अस्थायी टहरा निर्माण गरेर होटल, खाद्य सामग्री, माछा मासु पसल, फास्ट फुडलगायतका सेवा सञ्चालनमा ल्याएका छन् ।

पुल निर्माणपश्चात् हालसम्म सुरक्षा चुनौती नदेखिएको सशस्त्र प्रहरी बल गण नम्बर २ का एसपी रमेशकुमार पाण्डेले बताउनुभयो । सशस्त्र प्रहरी नभएका कारण भारततर्फको केही त्रास भए पनि पोस्ट स्थापनाका लागि स्थानीयले जग्गा दिएर भरपुर सहयोग पाइरहेको उहाँको भनाइ छ । हाल आन्तरिक पर्यटनमा चहलपहल देखिएको उहाँले बताउनुभयो ।

परियोजना हालसम्म नगरपालिकामा हस्तान्तरण भइनसकेको भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले बताउनुभयो । सो ठाउँमा फोटो खिच्नेको भिडभाड बढेकोले आन्तरिक पर्यटन बढ्दै गएको उहाँको भनाइ छ ।

पुल नभएका कारण एउटै नगरपालिकाका जनता पनि अर्को देशका भइरहेको अवस्थामा नेपाल सरकारबाट निर्मित पुलले मेचीपारिका जनतालाई जोड्ने काम गरेको जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेलले बताउनुभयो । पुल निर्माणपश्चात् स्थानीयको आर्थिक गतिविधिमा चहलपहल र पर्यटकीय गन्तव्य पनि बन्ने भएकाले पुलसम्म जानेआउने सडक स्तरीकरण गर्न नगरपालिकासँग आवश्यक पहल हुने उहाँको भनाइ छ ।

पुल सञ्चालनमा आएपछि यो ठाउँमा जनताले राहत महसुस गरेको टहरामा भेटिएका स्थानीय पिन्टु राजवंशीले बताउनुभयो । पुल हेर्न र टहरामा खाजा खान दैनिक सयभन्दा बढी मानिस आउने गरेको उहाँले सुनाउनुभयो ।

भदौ महिनाबाट टहरा निर्माण गरी होटल सञ्चालनमा ल्याएको उहाँको भनाइ छ । कोरोनाका कारण होटलमा बिक्री कम भएको राहुलसिं राजवंशीले बताउनुभयो । दैनिक १५ सयदेखि २ हजारसम्म बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । पुल सञ्चालनमा आएकै कारण यो क्षेत्रको स्वरुप फेरिँदै गएको व्यवसायी भूपाल गिरीले बताउनुभयो ।

पुल तर्नेबित्तिकै समतल भू–भागमा रहेको करिब डेढ बिघा जमिनमा हाल धमाधम टहराहरु निर्माण भइरहेका छन् । भद्रपुर नगरपालिकाको सबैभन्दा जोखिमयुक्त सो गाउँमा प्रहरी बस्दै आइरहे पनि गत फागुनयताबाट कोरोनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी महेशपुर बीओपी पनि स्थापना भइसकेको छ । यहाँका जनता पुल नभएका कारण सम्बन्धित कार्यालयमा सेवा लिन आउन नसकिरहेको अवस्थामा अब सहज भएको निलम राई बताउनुहुन्छ । स्थानीय सरकारले यो बस्तीको उजागरका लागि ल्याइएको मेचीपारि तरकारीबारीलाई मुख्य पेसा बनाउन जरुरी रहेको उहाँको भनाइ छ ।

हाल सञ्चालनमा आएका होटलमध्ये केहीमा गङ्गटोको परिकार मुख्य रहेको छ । झोलुङ्गे पुल पार गरेर गङ्गटोको स्वाद लिन होटल सञ्चालकहरुले अनुरोध गरेका छन् । मेचीपारिका जनताले उत्पादन गरेका तरकारीलाई यही क्षेत्रमा सब्जी बजार लगाएर नमुना गाउँ बनाउन स्थानीय सरकारले योजना अघि सार्नुपर्ने स्थानीयको माग छ ।

हाल निर्माण भइरहेको स्थानमा निःशुल्क बिजुली बत्ती सञ्चालनमा ल्याइएको र खानेपानी तथा शौचालयका लागि प्रक्रिया अघि बढेको वडा नम्बर ३ की अध्यक्ष कमला थुलुङ्ले बताउनुभयो । सो स्थानलाई व्यवस्थितरुपमा व्यवस्थापन गरिने उहाँको भनाइ छ । मेचीपारि तरकारी बारी भएकाले बजार व्यवस्थापन गरी सो स्थानलाइ नमुना बनाइने उहाँको भनाइ छ ।

तत्कालीन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पुलका लागि बजेट विनियोजन गरी ठेक्का लगाएको थियो । भ्याटसहित २ करोड ८५ लाख ९८ हजार २ सय ५९ रुपियाँमा निलगिरी निर्माण सेवा प्रालि बानेश्वर काठमाडांैले २०७२ भदौ ७ गते ठेक्का सम्झौता गरी कामको जिम्मा लिएको थियो । २ सय ८० मिटर लम्बाइ र १३ मिटर चौडाइसहितको झोलुङ्गे पुलको निर्माण कार्य १८ महिना अर्थात् २०७३ फागुन ६ गते सम्पन्न हुने गरी निर्माण व्यवसायी युवराज डाँगीले ठेक्का लिएका थिए । २०७६ फागुनमा पुल सम्पन्न भएको डाँगीको भनाइ छ ।

पुल निर्माण नहुँदा गाउँका बासिन्दा हिउँदमा हिँडेर या साइकलमा सदरमुकाम जाने–आउने गरेका थिए । वडा कार्यालय आउनसमेत नदी पार गरेको मेची आधारभूत विद्यालयका शिक्षक कैलाश राईले बताउनुभयो । आफ्ना बारीमा उत्पादन गरेका सागसब्जी बेचेर होस् या जनमन गरेर हिउँदभर नेपालतिरै परनिर्भर रहने यहाँका बासिन्दाको वर्षायामको समयमा भोकभोकै बस्नुपरेको शिक्षक राईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्