अस्ट्रेलियाको तास्मानियामा दोस्रो पटक ‘आमा’ प्रदर्शन गर्दै



न्युज अफ नेपाल,कास्की ।

अस्ट्रेलियाको तास्मानियामा नेपाली कथानक चलचित्र आमा पुनः प्रदर्शन गरिने भएको छ । वडादशैँको अवसरमा अक्टोबरमा पहिलो पटक प्रदर्शन गरिएको उक्त चलचित्र दोस्रो पटक तिहारको अवसरमा भाइटीकाको भोेलीपल्ट प्रदर्शन गरिने भएको हो । एएसएपी इन्टरटेनमेन्ट अस्ट्रेलिया प्रालिको विशेष पहलमा तास्मानियाको होवर्ट स्थित स्टेट सिनेमामा उक्त चलचित्र प्रदर्शन हुँदैछ ।

कोरोनाभाइरस महामारीको कारण विश्वकै चलचित्र क्षेत्र ठप्प रहेकोे अवस्थामा तास्मानियामा आमा चलचित्र प्रदर्शन गर्न लागिएको हो । अवस्था जे भएपनि चलचित्र क्षेत्र विस्तारै उठ्ने क्रममा रहेको सन्देश दिने गरी फिल्म प्रदर्शन गर्न लागिएको इन्टरटेनमेन्टका निर्देशक तथा चलचित्रका सहनिर्माता समेत रहेका सन्तोष अधिकारीले बताउनुभयो ।

नोभेम्बर १७ गते स्टेट सिनेमा हलमा साँझ ६ बजे चलचित्र शुरु हुने छ । हलमा २ सय जनाको सिट रहने छ जहाँ सामाजिक दूरी कायम गरी ५० जना मात्र राखिनेछ । महामारीको कारण निराश भएका दर्शकलाई यसले सकारात्मक बल प्रदान गर्ने अधिकारीकोे भनाई रहेकोछ ।
दिपेन्द्र के खनालको निर्देशन रहेको उक्त चलचित्रको निर्माता शर्मिला पाण्डे, सहनिर्माता सन्तोष अधिकारी रहेका छन ।

चलचित्रमा नेपाली समुदायमा आमाले गर्ने संघर्ष देखाइएको छ । जसमा एक बिरामी बाबूको उपचार गर्न पैसाको अभाव हुँदा छोरीले निभाएको भूमिका र छोराले जिम्मेवारीबाट भाग्न खोजेको विषय देखिन्छ । अन्तिममा पिताको निधनमा छोरीले नै किरिया गर्छिन । यो चलचित्रमा अभिनेत्री मिथिला शर्माको शीर्ष भूमिका छ भने नायिका सुरक्षा पन्त छोेरीको भुमिकामा रहेकी छन । त्यस्तै सरिता गिरी पनि चलचित्रमा प्रमुख पात्र रहेकी छन ।

प्रतिक्रिया दिनुहोस्