पर्वत समाज बेल्जियमद्वारा पर्वत अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग



न्युज अफ नेपाल,पर्वत ।

पर्वत जिल्ला अस्पतालाई पर्वत समाज बेल्जियमले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । समाजले पर्वत अस्पतालका लागि आवश्यक अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो । पर्वत समाज बेल्जियमका सल्लाहकार गोबिन्दप्रसाद सुबेदीले पर्वत अस्पतालका अध्यक्ष गोबिन्द पहाडीलाई स्वास्थ्य उपकरण हस्तान्तरण गर्नुभयो ।

पर्वत अस्पतालाई पर्वत समाज बेल्जियमले यस अघि पनि बिभिन्न सामाग्रीहरु सहयोग गर्दै आएको छ । समाजको पहलमा बेल्जियमबाट पर्वत अस्पताललाई अत्याधुनिक सुबिधा सहितका ३५ थान इलेक्ट्रिक प्यासेन्ट बेड समेत सहयोग गर्ने तयारी रहेको सल्लाहकार सुबेदीले जानकारी दिनुभयो ।

पर्वत अस्पतालको नयाँ भवनमा प्रयोग गर्ने गरि उपलब्ध गराउन लागिएका बेड बेल्जियम सरकारबाट अनुदानमा प्राप्त भएका हुन । अनुदानमा प्राप्त सामाग्री कोलकत्ता बन्दरगाहामा आइसकेका छन । अनुदानमा आएका सामाग्रीलाई भन्सार छुट सहितका प्रकृया पुरा गराउनका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उहाँको सचिबालयले निरन्तर पहल गरेका कारण मात्रै संभव भएको उहाँले बताउनुभयो । ‘अध्यक्ष तिमिल्सिना र उहाँको सचिबालयको पहल नभएको अबस्थामा सामाग्री ल्याउन कठिन रहेछ।’ सल्लाहकार सुबेदीले भन्नुभयो ‘अब पर्वत अस्पताललाई थप सहयोग जुटाउनका लागि पहल गरिरहन्छौ।’

सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै कुस्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछानेले पर्वत अस्पतालको सेवामा पछिल्ला दिनमा धेरै सुधार हुँदै गएको बताउँदै बेल्जियमबाट आउँदै गरेका बेडको ढुवानी खर्च नगरपालिकाले बेहोर्ने जानकारी दिनुभयो । उहाँले अस्पतालमा सेवा बिस्तार र सुधारका लागि तीन तहका सरकार तथा मुलुकबाहिर रहेका पर्वतबासीको ठुलो सहयोग सह्रानीय छ भन्नुभयो ।

पर्वत अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष गोबिन्द पहाडीले पर्वत अस्पताल भौतिक पुर्वाधार र उपकरणका हिसाबले सम्पन्न हुँदै गएपनि सो अनुसार जनशक्ति नहुँदा सोचे अनुसार सेवा बिस्तार हुन नसकेको बताउनुभयो । तीन तहका सरकार सहित पर्वत समाज बेल्जिमय, पर्वत समाज अन्तराष्ट्रिय, रोटरी, लायन्स क्लबहरु लगायतका संस्थाले सेवा बिस्तार र सुधारका लागि ठुलो सहयोग गरिरहेकोमा धन्यबाद दिनुभयो ।

अस्पतालले तिहार भित्रै तीन बेड भेन्टिलेटर सहित पाँच बेड आइसियु सहितको कोरोना उपचारकेद्र सञ्चालनमा ल्याउन लागेको र पर्वत समाज बेल्जियमले गरेको अक्सिजन कन्सन्ट्रेटर मेसिनले जाडोमा श्वासप्रश्वासका बिरामी र कोभिडका बिरामीको उपचारमा ठुलो सहयोग पुग्ने बताउनुभयो । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रमको सञ्चालन अस्पतालका कम्प्युटर अपरेटर राजेश गिरीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्