यौनका दृष्टिले विवाहको उमेर



– डा. राजेन्द्र भद्रा 

नेपाली समाजमा विवाह गर्दा केटाको भन्दा केटीको उमेर कम हुनुपर्छ भन्छन् । यौन र प्रजनन जीवनका हिसाबले विवाह कुन उमेरमा गर्दा ठीक होला ?

– उमेश खरेल, पाल्पा

कुनै पनि समाजमा जब कुनै सामाजिक नियम बन्छन्, ती त्यस बेलाको समाजको बृहत्तर हितमा राखी निर्माण भएका हुन्छन् । समयसँगै रहनसहन र जीवनशैलीमा धेरै भिन्नता आउँछ, सामाजिक मूल्य मान्यतामा पनि परिवर्तन आउँछन् । समाजले कुनै समयमा बनाएको नियम कालान्तरमा नमिल्दा मात्रै होइन, नकारात्मक प्रभाव पार्ने किसिमका पनि हुन्छन् । कतिपय यस्ता कुरामा बाह्य प्रभाव पनि रहेको हुन्छ । केटाको उमेर केटीको भन्दा बढी हुनुपर्छ भन्ने आ–आफ्नै तर्क छन् ।

उमेरमा फरक किन हुन्छ ?

नेपालमा मात्रै होइन, संसारभरि नै प्रायजसो स्थितिमा पुरुषको उमेर महिलाको भन्दा केही बढी हुने गरेको पाइन्छ । यसो हुनुमा समाजको विकासक्रमको शुरुवातदेखि नै सामाजिक, आर्थिक सुरक्षा तथा स्रोतहरूको पहुँच यसको मुख्य कारण हो भन्ने गरिन्छ । बालबालिका वा किशोर–किशोरीको भन्दा वयष्क वा बढी उमेर भएको व्यक्तिमा यो पहुँच स्वाभाविकरुपमा नै बढी हुने गर्दछ । केटीको लागि ऊभन्दा बढी उमेरका केटाले सो सुरक्षा प्रदान गर्ने गर्दछ । अहिले महिलाहरू पनि श्रमबजारमा पहिलेको भन्दा सशक्तरुपमा अघि बढेको कारणले पहिलेजस्तो पुरुषमा नै भर पर्नुपर्ने स्थिति भने कम हुँदै गएको छ । सन्तान जन्माउन र त्यसलाई हुर्काउन पर्याप्त लगानी गर्नुपर्ने हुन्छ । जैविकरुपमा नै आमा अर्थात् महिलाले बढी लगानी गर्नुपर्ने स्थिति हुन्छ । यसै क्रममा पुरुषको लगानी पनि महत्वपूर्ण हुन्छ । खाना तथा अन्य स्रोतको व्यवस्थापनमा बाबुको भूमिका धेरै हुन्छ । आमा र बाबुको सहयोगमा सन्तानले राम्ररी हुर्कने अवसर पाउँछन् ।

यस्तो हुनुमा आर्थिक एवं सामाजिक कुरा मात्रै होइन, यौन तथा प्रजननसम्बन्धी कुराले पनि यसको निर्धारण गरेको हुन्छ । कम उमेरका र शारीरिकरुपमा आकर्षक युवतीतिर पुरुषहरुको बढी रुचि भएको देखिन्छ । यसको सम्बन्ध विशेषतः प्रजनन क्षमता उच्च हुने कुरासँग पनि छ । अहिले आधुनिक समाजमा गरिएका अध्ययनले पनि पुरुषले कम उमेरका शारीरिकरुपमा आकर्षक महिलालाई रुचाउने र महिलाले भने सफल, व्यवसायमा स्थापित अनि आफ्नै उमेरका वा बढी उमेरकालाई रुचाउने गरेको पाइएको छ ।

सन्तानलाई जन्माउने र हुर्काउने सन्दर्भमा पुरुषको तुलनामा महिलाको लगानी बढी हुने भएकोले आफ्नो यौनजोडीको छनोट गर्ने र यौनसम्पर्क गर्ने कार्यमा विशेष सजग हुने गर्दछन् । केही बढी उमेरका भए पनि पुरुषको प्रजनन क्षमता कायमै रहने अर्थात् धेरै ह्रास नआउने हुन्छ । पुरुषको सामाजिक हैसियत र स्रोत–साधनको सम्पन्नता र सोसम्म महिलाको पहुँचलाई लिएर महिलाले जोडी छान्ने आधार बनाउने गर्दछन् । शायद यसैले होला संसारका धेरै नै समुदायमा महिलाको तुलनामा पुरुषको उमेर केही बढी हुने देखिएको छ । कालान्तरमा यो नै एक सामाजिक नियम वा मान्यताको रुपमा स्थापित भएको पाउँछौं । यो नेपालको सामाजिक परिदृश्यमा पनि प्रचलित भएको पाइन्छ । तर अहिले यी कुरामा पनि परिवर्तन हुँदै आएको छ ।

पुरुषले कम उमेरका शारीरिकरुपमा आकर्षक महिलालाई रुचाउने र महिलाले भने सफल, व्यवसायमा स्थापित अनि आफ्नै उमेरका वा बढी उमेरकालाई रुचाउने गरेको पाइएको छ ।

उमेरमा धेरै फरक भए के हुन्छ ?

किशोरावस्थामा यौनेच्छा सबैभन्दा तीव्र हुन्छ । युवा अवस्थामा पनि यौनेच्छा उच्चस्तरमा नै रहेको हुन्छ । उमेरअनुसार यौन क्रियाकलापमा संलग्नता तथा यौनेच्छामा परिवर्तन हुन्छ । पुरुषको सन्दर्भमा उमेर बढ्दै जाँदा यौनेच्छा राम्रै भए पनि यौन क्रियाकलापमा संलग्नतामा कमी आउन सक्छ । ३० वर्षको हाराहारीमा पुगेदेखि करिब ४० वर्ष पुग्दासम्म लिंग उत्तेजित हुन केही समय लाग्ने हुन्छ । उत्तेजित भए पनि पर्याप्त कडापन नआउने हुन सक्छ । ४० देखि ५० वर्षको उमेरमा यो समस्या अझ केही बढ्ने र उमेरसँगै बढ्दै जाने हुन्छ ।

त्यसै गरी महिलामा पनि किशोरावस्था र २० देखि ३० वर्षको उमेरमा यौनेच्छा तीव्ररुपमा रहेको हुन्छ । त्यसपछि ४० को शुरुवाती वर्षहरुसम्म यौनेच्छा राम्रै हुने गर्दछ । यस उमेरमा युवावस्था वा प्रौढ उमेरका महिलामा भन्दा तीव्र किसिमको यौन परिकल्पना हुने एक अध्ययनले देखाएको छ । यस्तै ५० वर्षको हाराहारीमा पुगेपछि महिनावारी बन्द हुने स्थितितिर पुगिने भएकोले त्यसको प्रभावले महिलाको यौनेच्छा केही कमी हुनुको साथै योनि सुख्खा हुनु, लिंग प्रवेश गराउँदा पीडा हुनुको साथै चरमसुख प्राप्त गर्न गाह्रो वा नसकिने स्थिति आउन सक्छ । त्यसबाहेक महिनावारी बन्द हुने बेलामा अनुहार राँकिनेजस्ता समस्याले यौनजीवनमा पनि नकारात्मक असर परेको हुन्छ । साथै सन्तानको जन्म र हेरचाहको भारले महिलाको यौनजीवनमा नकारात्मक असर गर्दछ ।

पुरुष र महिलाको उमेरमा धेरै फरक छैन भने यौन तथा प्रजनन जीवनमा खासै फरक पर्दैन । तर धेरै नै फरक छ भने त्यसको असर पर्छ । पुरुष युवा अवस्थामै हुँदा महिला प्रौढ अवस्था भएको स्थितिमा यस्तो समस्या झनै बढी देखिन्छ । यौनेच्छामा भएको फरकलाई व्यवस्थापन गर्न सकिएन भने यौनजीवनमा मात्रै होइन, वैवाहिक सम्बन्धमा नै पनि नकारात्मक असर पर्दछ । प्रौढावस्थाका केही व्यक्तिमा दीर्घरोको समस्या हुने र त्यसको उपचारको क्रममा विभिन्न औषधि प्रयोग गर्नुपर्ने स्थिति आइसकेको हुन सक्छ । यसको नकारात्मक प्रभाव पनि यौनजीवनमा पर्न सक्ने हुन्छ । साथै उमेरमा धेरै फरक हुँदा दुवैको सोच, आकांक्षा, मूल्य मान्यतामा र जीवनका प्राथमिकतामा पनि फरक पर्ने गर्दछ ।

यो हो विवाह गर्ने उचित उमेर

विवाह गर्न व्यक्ति शारीरिक, मानसिक, बौद्धिक तथा सामाजिकरुपमा पनि परिपक्व हुनुपर्दछ । किशोरावस्थामा प्रजनन अंगका साथै मानसिकरुपमा पनि परिपक्व भइसकेको स्थिति नहुने भएकोले त्यसपछि मात्रै विवाह गर्नु उचित मानिन्छ । नेपालको हकमा कानुनीरुपमा पनि विवाह गर्न सकिने उमेर केटा तथा केटी दुवैको लागि २० वर्ष तोकिएको छ । त्यसभन्दा कम उमेरको विवाहलाई कानुनीरुपमा वैध मानिदैन । त्यसैले नेपालको हकमा कम्तीमा पनि यो उमेरसम्म त विवाहको लागि पर्खनै पर्ने स्थिति छ । उमेर नपुगी वा विवाह गर्ने व्यक्तिको मञ्जुरीविना गरिएको विवाह बदर हुन्छ ।

उमेर तथा शारीरिक पक्ष मात्रै होइन, अरु पक्षको बारेमा पनि विचार गर्नुपर्छ । पहिले संयुक्त परिवारमा हुर्कने स्थिति हुँदा परिवारको आर्थिक भारको व्यवस्थापन प्रत्यक्षरुपमा नवविवाहित जोडीमा पर्दैनथ्यो । अहिले परिवार सानो र कतिपय हदमा एकल हुँदै गएको छ । यस्तो स्थितिमा विवाहपछिको परिवारको व्यवस्थापन सामाजिक तथा आर्थिकरुपमा विवाहित जोडी आफैंले गर्नुपर्ने स्थिति आएको छ । त्यसैले विवाहको उमेर आफ्नो लागि कति उपयुक्त होला भन्ने सन्दर्भमा आफू सामाजिक अनि आर्थिकरुपमा कति सबल र सक्षम छु भन्ने कुरालाई पनि विचार गर्नुपर्छ ।

उमेरै नपुगी अर्थात् किशोरावस्थामा नै विवाह गर्दा गर्भ रहन गएको स्थितिमा बच्चा तथा आमा दुवैलाई स्वास्थ्यमा हानि हुनुको साथै ज्यानै जान सक्छ । गर्भपतन, रगतको कमी, पोषणको कमी, सुन्निने र कम्पन हुनेजस्ता गम्भीर स्वास्थ्य समस्या हुन सक्छन् । बच्चा जन्मिने बाटो साँघुरो हुने भएकोले बच्चा अड्किएर जन्माउन गाह्रो हुने, बच्चाको तौल कम हुने समस्या पनि बढी नै हुने गर्दछन् । सानै उमेरमा विवाह गर्दा पारिवारिक बोझको कारणले शिक्षादीक्षा पूरा गर्न गाह्रो हुन्छ, जसले वृत्तिविकास र भावी जीवनमा नै नकारात्मक असर पर्दछ ।

प्रतिक्रिया दिनुहोस्