कोरोना संक्रमण पुष्टि भएका ५ जनाको मृत्यु



घनश्याम बगाले, नवलपरासी

पूर्वी नवलपरासीमा कोरोना पुष्टि भएका ५ जनाको शनिबार मृत्यु भएको छ ।

कोभिड–१९ देखिएपछि होम आइसोलेसनमा बसेका २ जना र उपचार गराउँदै गरेका ३ जनाको जिल्लामा एकै दिन मृत्यु भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका अनुसार मृत्यु हुनेमा सदरमुकाम कावासोती–६ का ६७ वर्षीय पुरुष तथा गैंडाकोट–२ की ७७ वर्षीया महिला रहेका छन् ।

उनीहरु दुवै जनाको होम आइसोलेसनमा रहेकै बेला मृत्यु भएको हो ।

यसै गरी गैंडाकोट–१३ घर भई भरतपुर बस्ने ३८ वर्षीय पुरुषको पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको गैंडाकोट नगर, नगर स्वास्थ्य प्रमुख झलक पौडेलले बताउनुभयो ।

विनयी त्रिवेणी–१ की ६४ वर्षीया कोरोना संक्रमति महिलाको पनि उपचारकै क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको बताइएको छ ।

चितवन मेडिकल कलेज भरतपुरमै उपचाररत कावासोती–११ का करिब ६२ वर्षका पुरुषको पनि मृत्यु भएको वडाध्यक्ष शारदा अधिकारीले बताउनुभयो ।

उनको शव चितवनको जुगेडीनजिक व्यवस्थापन गरिएको बताइएको छ ।
होम आइसोलेसनमा मृत्यु भएकाहरुको शव व्यवस्थापन परिवारजन, स्थानीय जनप्रतिनिधि, स्वास्थकर्मी तथा सुरक्षाकर्मीहरुको संयोजनमा भएको छ ।

जिल्लामा हालसम्म कोरोना पुष्टि भएका २३ जनाले ज्यान गुमाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्