प्रचण्ड–नेपाल फकाउँदै ओली

विवाद मिलाउन नेताहरुको दौडधूप



नेपाल समाचारपत्र, काठमाडौं

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र करिब टरिसकेको आन्तरिक विवाद फेरि उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीले गरेको निर्णय कार्यान्वयन नगरेको भन्दै विवाद चुलिएको हो ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको सहमतिअनुरुप प्रधानमन्त्री ओलीले पार्टीले गरेको निर्णय कार्यान्वयन नगरेपछि प्रचण्ड रुष्ट रहँदै आउनुभएको छ ।

पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलले सरकार सञ्चालनको क्रममा महत्वपूर्ण निर्णय गर्दा प्रधानमन्त्री ओलीले पार्टीको समन्वय गर्नुपर्ने समझदारी भएको थियो ।

तर महत्वपूर्ण निर्णय गर्दा प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डसँग कुनै सहमति कायम नगरी निर्णय लिएपछि नेकपाभित्रको विवाद थप चुलिएको छ ।

पछिल्लो पटकको मन्त्रिपरिषद् पुनर्गठन, राजदूत सिफारिस, अन्य नियुक्ति तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव, भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँगको भेट, पर्सा घटनालगायतका विषयमा प्रचण्ड ओलीसँग चर्को असन्तुष्टि राख्दै आउनुभएको थियो ।

दुई अध्यक्षबीचको विवाद उत्कर्षमा पुगेसँगै कर्णाली प्रदेशको विवाद समाधान गर्न समेत फरक–फरक परिपत्र भएको थियो ।

पार्टीभित्रको विवादलाई लिएर संवादसमेत हुन नसकेको अवस्थामा शनिबार अध्यक्षद्वय ओली–प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष ओलीले भेटका लागि बारम्बारको प्रस्तावपछि प्रचण्ड शनिबार बालुवाटार जानुभएको हो ।

भेटमा प्रचण्डले सचिवालय बैठक बोलाउने प्रस्ताव गरेका प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताउनुभयो । प्रचण्डले भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमण, कर्णाली प्रदेशको विवाद, पर्सा घटनालगायतका विषयमा सचिवालयमा छलफल गर्न प्रस्ताव गर्नुभएको बताइएको छ । दुई अध्यक्षबीच छलफल भए पनि सचिवालय बैठकको मिति तय गर्न भने सहमति जुटेको छैन ।

प्रचण्डले दुई जनाको भेटले मात्र निकास नआउने भन्दै सचिवालय बैठकमार्फत नै विवादको समाधान खोज्नुपर्ने पक्षमा अडान लिँदै आउनुभएको सचिवालयका एक सदस्यले भने । ती सदस्यले भने– ‘निकास नआउने छलफल गर्नुको अर्थ छैन, भेट मात्र भइरहने पार्टीले गरेको निर्णय तल्याउँदै जाने प्रवृत्ति घातक छ, अब सचिवालय बैठकबाटै छिनोफानो गरेर अगाडि बढ्छौं ।’

यसअघि दुई अध्यक्षबीच कात्तिक ४ गते छलफल भएको थियो । त्यसपछि पार्टीभित्र विवाद बढ्दै गएपछि छलफल रोकिएको थियो । प्रधानमन्त्री ओलीले छलफलका लागि बोलाउँदा प्रचण्डले अस्वीकार गरेपछि ओली निकटका नेताहरु सन्देश लिएर पटक–पटक खुमलटार पुगे पनि प्रचण्डले छलफलका लागि बस्न मान्नुभएको थिएन ।

गत बुधबार ओलीनिकट महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ, बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको सन्देश लिएर खुमलटार जानुभएको थियो ।

शनिबार बालुवाटार जानुअघि वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रचण्डले छलफल गर्नुभएको थियो । प्रचण्डले ओलीको प्रस्ताव नमानेपछि दुई साताको बीचमा प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्दै मिलेर अगाडि बढ्न प्रस्ताव गर्नुभएको थियो ।

तर ओलीको प्रस्ताव नेपालले स्वीकार नगरेपछि पुनः प्रचण्डसँगै ओलीले छलफल अगाडि बढाउनुभएको छ । आफ्नाविरुद्ध मोर्चाबन्दी गरेको भन्दै ओलीले प्रचण्ड र नेपाल दुवैलाई आगामी महाधिवेशनपछि पार्टी नेतृत्वको जिम्मेवारी दिने आश्वासन दिँदै आएको बताइएको छ ।

पार्टीको आन्तरिक संकट टार्न सफल भएका ओली सचिवालय बैठकमा फेरि अल्पमतमा पर्नुभएको छ । चार महिना लामो आन्तरिक विवाद समाधान गर्न निर्णायक मानिनुभएका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन तयार भए पनि मन्त्रीमण्डल पुनर्गठन हुँदा अर्थ मन्त्रालको जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिएपछि ओली सचिवालयमा अल्पमतमा पर्नुभएको छ ।

सचिवालयमा ओलीको पक्षमा महासचिव पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल र रामबहादुर थापाको मात्र साथ रहेको छ । प्रचण्ड पक्षमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्