सार्वजनिक यातायातमा भाडा लिस्ट नटाँसे कारबाही



काठमाडौं, (नेस)

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारीसाधनमा भाडा दरको विवरण (लिस्ट) नभएमा वा नटाँसेमा त्यस्ता सवारीसाधनलाई कारबाही गर्ने भएको छ ।

शुक्रबारदेखि अभियानकै रूपमा थालनी गरी ४ सय २९ वटा सवारीसाधनमा भाडा लिस्ट टाँसेको महाशाखाले जनाएको छ भने शनिबार पनि उक्त अभियानलाई निरन्तरता दिएको छ ।

सार्वजनिक सवारीसाधनले नियमविपरीत चर्को भाडा लिने गरेको गुनासो व्यवस्थापन गर्न तथा यात्रुलाई आफ्नो गन्तव्यसम्मको भाडादर सजिलै थाहा पाई ठगिनबाट जोगिनका लागि यात्रुले देखिने गरी भाडादरको लिस्ट सवारीमा अनिवार्य राख्न कडाइ गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँले सवारीसाधनले त्यस्तो लिस्ट नराखेको पाइए नियमअनुसार कारबाही गरिने जानकारी दिनुभयो ।

यात्रुवाहक सवारीसाधनले प्रचलित तोकेकोभन्दा बढी भाडा लिने, आरक्षण सिट नराख्ने र राखे पनि कार्यान्वयन नगर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम उल्लंघन गर्ने गरेको भन्दै काठमाडौं उपत्यकामा कडा निगरानी तथा चेकजाँच गरिरहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिनुभयो ।

सडक र सवारी प्रयोगकर्तालाई कुनै पनि समस्या परेमा वा यात्राको क्रममा कुनै जानकारी लिनुपरेमा ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गर्न पनि महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै महाशाखाले ठूलो आवाज तथा मोडिफाइ गर्ने, हर्न बजाउने, ढोका खुला राख्ने तथा स्वास्थ्य मापदण्ड पालना नगर्नेलगायत ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधन माथि कडाइका साथ अभियानमार्फत कारबाही अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्