बर्दिवास समृद्धिको आधार मत्स्यपालन



बर्दिवास बजारबाट क़रीब २४ किलोमिटर जत्ती दक्षिण गएपछि बिजलपुरा भन्ने ऐतिहासिक गाँउ पुगिन्छ ।अहिले यो गाँउ बर्दिवास नगरपालिका वडा नं. १२ अन्तर्गत पर्दछ । यहाँ मिश्रीत जातजाती (मधेसी,पहाड़ी)हरुको घनाबस्ती रहेको छ जहाँ हिन्दु मुस्लीम बराबरीको संख्यामा बसोबास रहेको पाइन्छ ।

आआफ्नो धर्मसंस्कृती भएता पनि एकापसमा सुमुधुर सम्बन्ध रहेको ४१ वर्षीय बासिम बैठाले भन्नुहुन्छ । धर्म संस्कृतिको कारण अहिले सम्म कुनै किसीमको तिक्तता नभएको बासिम बताउनु हुन्छ । उहाँ पनि बैदेशिक रोजगारीमा क़तार ५ बर्ष बसेर २ बर्ष अगाडी नेपाल फर्केर १ बिगाह ज़मीनमा माछापोखरी खनेर मत्स्यपालन शुरु गर्नुभयो । सँगै बाँकी रहेको ज़मीनमा ३ हजार जत्ती कुखुरापालन गरीरहेको बैठा बताउनु हुन्छ । यहि आम्दानीले ठुलो छोरा ईन्जीनीयरिङ र सानो छोरा यसपाली देखि ११ कक्षा बिज्ञान संकाय पढाउँदै गरेको वासिम वैठा बताउनु हुन्छ ।

त्यस्तै ४० वर्षीय राजकुमार साहले बिजलपुरा क्षेत्रमै सबैभन्दा ठुलो २४ वटा पोखरी खनेर ब्यबसायीक माछापालन गरीरहनु भएको छ । ।उहाँ यो क्षेत्रका अग्रणी कृषि ब्यबसायीमा पर्नुहुन्छ ।आफ्नो छरछिमेक, नातागोता युवाहरु अधिकांश बैदेशिक रोजगारीमा खाडीमुलुक, मलेशिया जाने परम्परा जस्तै रहेको उहाँले बताउनु भयो । तर साह आफु रोजगारीको लागी बिदेश जाने मन नभएको र स्वदेश मै केहि उद्यम गरी युवाहरुलाई रोजगारी दिने सोंच भएकोले यो अबस्थामा आईपुगेको बताउनु हुन्छ ।

अहिले ४/५ जनालाई आवासिय रोजगारी दिएको र सिजनल रोजगारी २०÷२५ जनालाई दिईराखेको बताउनुहुन्छ ।उहाँले २४ बिगाह ज़मीन भाडामा लिएर २०७१ साल मा (मुस्कान मत्स्यपालन केन्द्र बिजलपुरा) नामबाट ब्यबसायीक माछापालन सुरु गर्दा निक्कै दुःख भएको तर हतास नभई निरन्तर अहोरात्र खटिरहेकोले अहिले धेरै सहज महशुस भएको बताउनु हुन्छ ।

माछापुच्छ्रे बैंकबाट ५० लाख रुपैयाँ बार्षिक ६ प्रतिशत ब्याजदरले रिण लिएर शुरु गरेको माछापोखरीमा सबै प्रजातीको माछाहरु पालीएको छ । पोखरीको डिलहरुमा पनि मौसमी अन्नबाली लगाएर बिक्रीबितरण गरीएको छ । अहिले सबै खर्चहरु कटाएर महिनाको २ लाख बचत गर्न थालेको उहाँले बताउनु हुन्छ । माछाको खपत काठमाण्डौं, बिराटनगर, लाहान, जनकपुर, चितवनका ब्यापारीहरु पोखरीमै आएर लैजाने गरेको साहले बताउनुभयो ।

अहिलेसम्म राज्यबाट कुनै अनुदान नलिएको र लिन प्रक्रिया गरेपनि पहुँच हुनेले मात्र पाउने गरेको राजकुमार साह गुनासो पोख्नु हुन्छ । कृषिप्रधान देशमा बास्तबिक कृषकहरुले राज्यबाट पाउने सुविधा धेरै कमले मात्र पाएको छ । यो अबस्था रहिन्जेल सम्म कृषि क्रान्तीले फड्को नमार्ने ठोकुवा साह गर्नु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्