बार्सिलोनाद्वारा युभेन्ट्स पराजित



एजेन्सी ।

युईएफा च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन सिरी ए क्लब युभेन्ट्सलाई पराजित गरेको छ ।

बिहीबार बिहान भएको समूह चरणको दोस्रो खेलमा युभेन्ट्स आफ्नै घरेलु मैदानमा बार्सिलोनासँग २-० गोलअन्तरले पराजित भएको हो । योसँगै नयाँ प्रशिक्षक आन्द्रे पिर्लोको नेतृत्वमा च्याम्पियन्स लिगको दोस्रो खेलमा युभेन्ट्सले पहिलो हार बेहोरेको छ ।

कोरोना संक्रमित चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डोबिना नै मैदानमा उत्रिएको युभेन्ट्सका अल्भारो मोराटाले घरेलु मैदानमा तीन पटक बललाई बार्सिलोनाको गोलपोस्टको जाली चुमाए पनि भिएआरले गोलको मान्यता नदिँदा हार आत्मसात गर्नुपर्‍यो । त्यतिमात्र होइन, खेलको ८५औं मिनेटमा डिफेन्डर मेरिह डेमिराल रातो कार्ड बेहोरेपछि युभेन्ट्स १० खेलाडीमा सीमित बनेको थियो ।

सुरुआतबाटै आक्रामक खेल पस्किएको बार्सिलोनाका लागि खेलको १४औं मिनेटमा कप्तान लिओनल मेसीको पासमा फ्रेन्च विंगर औस्मान डेम्बेलेले लामो दूरीबाट गरेको सशक्त प्रहार गोलमा परिणत भएको थियो । त्यसपछि गोल फर्काउन प्रयासरत युभेन्ट्सले लगालग तीन गोल गरेपनि भिएआरले अफसाइड संकेत गरेपछि गोलको मान्यता पाएन ।

यता, थप समयको पहिलो मिनेटमा युभेन्ट्सका खेलाडीले अन्सु फातीलाई डीबक्समा लडाएपछि बार्सिलोनाले पेनाल्टी हान्ने अवसर पायो । जसमा कप्तान मेसीले बिना कुनै गल्ती गोल गरेपछि बार्सिलोनाले २(० को जित पक्का गरे । मेसीले नयाँ सिजन सुरुभएयता बार्सिलोनाका लागि ७ खेलमा ३ गोल मात्र गरेका छन् । मेसीले यो सिजन गरेका सबै गोल पेनाल्टीमार्फत् नै गरेका हुन् ।

युभेन्ट्सलाई हराएपछि बार्सिलोना समूह ‘जी’ मा दुई खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । यता, पराजित युभेन्ट्स भने ३ अंकसहित दोस्रो स्थानमा रहँदा डाइनामो किभ र फेरेन्सभारोस समान एक–एक अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्