सिटीको जित, रियल हारबाट जोगियो



लन्डन, (एजेन्सी) । 

नयाँ सिजनको च्याम्पियन्स लिगअन्तर्गत् समूह चरणका खेलहरुमा म्यानचेस्टर सिटीले जित हात पा¥यो भने रियल मड्रिडले हार टारेको छ ।

मंगलबार राति मार्सेलीमा भएको खेलमा इंग्लिस टिम म्यानचेस्टर सिटीले फ्रान्सको घरेलु टिमलाई ३–० ले हराएको हो । म्यानचेस्टर सिटीको जितमा फेरान टोरेस, गुन्डोगान र रहीम स्टरलिंगले एक–एक गोल गरेका हुन् । केभिन डी ब्रुएनको पासमा टोरेसले १८औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै केभिनकै पासमा स्टरलिंगले ८१औं मिनेटमा गोल गरेका थिए । यसअघि स्टरलिंगको पासमा गुन्डोगानले ७६औं मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए ।

यो जितसँगैं सिटी समूह सी मा ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । टिम नकआउट चरणमा पुग्नेतिर अग्रसर भएको छ । सिटीले अर्को खेल आफ्नै घरेलु मैदानमा ओलिम्पीयाकोसमा ३ नोभेम्बरमा खेल्नेछ । मार्सेलीले भने खेलेको दुबै खेलमा हार बेहोरेको छ । यस्तै अन्य टिममा एफसी पोर्टो र ओलिम्पियाकोसको ३÷३ अंक छ । पोर्टोले ओलम्पियाकोसलाई २–० ले हराएर जित निकालेको हो ।

समूह बी को खेलमा स्पेनी ला लिगा च्याम्पियन रियल मड्रिड अन्तिममा दुई गोल फर्काएर पराजित हुनबाट जोगेको हो । जर्मन टिम बोरुसिया मोन्चेनग्लाडबाचले मार्कुस थुरामको दुई गोलको सहयोगमा २–० को अग्रतामा थियो । मोच्नेनग्लाडबाच जितको निकट थियो तर ८७औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै गोलअन्तर खुम्च्याए । अर्को गोल इन्जुरी समयमा क्यासमेरोले गोल गरेपछि रियलले २ खेलमा पहिलो अंक जोड्न सफल भयो । समूहमा रियल १ अंकसहित पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्