धम्किपूर्ण फोन कल आए पनि महिलालाई न्याय दिन आवाज उठाउन भने छोडिन: पत्रकार शर्मा



पत्रकारीता क्षेत्रको हरेक विधामा विगत १८ वर्षदेखि सक्रिय पत्रकार रुपा शर्मा ‘नेहा’ नेपाली पत्रकारीता क्षेत्रमा क्रियाशिल पत्रकारको रुपमा चिनिनुहुन्छ । सिमान्तकृत समुदायको हकअधिकारलाई स्थापित गर्न होस या संविधानले ग्यारेन्टि गरेको जनताको अधिकारलाई व्यवहारमा कार्यान्वयन गराउन निती निर्माण तहमा रहेका सरोकारवाला निकायलाई जवाफदेहि तथा उत्तरदायि बनाउने सवालमा टेलिभिजनबाट वकालत गर्दै आईरहनुभएकि पत्रकार शर्मा रेडियो र छापा माध्यममा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।

पत्रकारीताको माध्यमबाट सामाजिक परिवर्तनको सवालमा सक्रिय शर्मा नेपालटेलिभिजनमा कार्यक्रम उत्पादक तथा संचालकको रुपमा कार्यरत हुनुहुन्छ भने विगत १८ वर्षदेखि काठमाडौं महानगरपालिकाद्धारा संचालित मेट्रोएफएममा समेत कार्यक्रम उत्पादक संचालक तथा समाचार सम्पादकको रुपमा कार्यरत हुनुहुन्छ । नेपाल टेलिभिजनबाट प्रसारण हुुने आजको चर्चा नामक कार्यक्रम र मेट्रो एफएमबाट प्रसारण हुने कार्यक्रम संकल्प आम दर्शक र पाठक माझ निकै चर्चित कार्यक्रम हुन् । यसैगरी उहाँले ब्रेकएण्ड लिंक नेपाली सेवामा समाजिक सरोकारका विषयमा खोजमुलक बिषयहरु लेख्ने गर्नुहुन्छ ।

सामाजिक रुपान्तरण गरि समतामुलक समाज निर्माणको लागि शर्माले टेलिभिजन रेडियो छापा तथा अनलाईन् लगायत हरेक विधाबाट शसक्त ढंगले आवाज उठाईरहेकि शर्माले राष्ट्रिय मानव अधिकार आयोग लगायत विभिन्न सरकारी निकायसंगको सहकार्यमा लैगिंक तथा सिमान्तकृत समुदायको हक अधिकार स्थापित गर्न सचेतनामुलक रेडियो कार्यक्रम संचालन गर्नुभएकोछ । पत्रकारीताको क्षेत्रबाट समाज परिवर्तनको निरन्तर क्रियाशिल शर्मालाई उहाँले गरेको कामको कदर गर्दै महिला बालवालिका तथा जेष्ठ नागरीक मन्त्रालय ,केन्द्रिय बालकल्याण समिति नेपाल पत्रकार महासंघ काठमाडौ महानगरपालिका लगायत थुप्रै संघसस्थाले सम्मान तथा पुरस्कार प्रदान समेत गरेका छन् भने सरकारी तथा गैरसरकारी संस्थाहरुमा लैगिंक विशेषज्ञको रुपमा आबद्ध हुनुहुन्छन् ।

पत्रकारीता क्षेत्रमा विभिन्न चुनौतिलाई सामना गर्दै पत्रकारीताको हरेक विधामा उत्तिकै क्रियाशिल पत्रकार शर्मासंग नेपाल समाचारपत्रका लागि गरिएको कुराकानीको सारः

अहिले कत्तिको व्यस्त हुनुहुन्छ ?

विहान रेडियो अनि दिउसो टेलिभिजन कार्यक्रम बचेको समय लेख लेख्ने भिडियो निर्माण तथा समाजिक काममा व्यस्त छु । कोभिड १९ को कारण घरबाट बाहिर हिड्ने वातावरण नभएपनि पत्रकार भएपछि ज्यानलाई जोखिममै राखेर भएपनि कामलाई निरन्तरता दिनैपर्ने हुन्छ । त्यसैले विहान देखि राति सम्मको समय काममा नै बित्छ ।

तपाई टेलिभिजन रेडियो पत्रपत्रिका सबैतिर उत्तिकै क्रियाशिल देखिनुहुन्छ कसरी सम्भव छ ?

तपाईले भनेको साचो हो । काखमा सानो बच्चा अनि डेराको जिन्दगि । साह्रै कठिन थियो दैनिकि गुजार्न । त्यसैले पनि म विहान देखि रातिसम्म बच्चालाई च्यापेरै पनि काममा हिड्थे । सुरुको समयमा आर्थिक कारणलेनै विहान देखि राति सम्म विभिन्न बाध्यताले पनि दुईतिन तिर काम गरियो अव भने बानि परिसक्यो । कुनै पनि विषयमा आवाज उठाउन थालेपछि त्यसलाई स्थापित नगर्दा सम्म निरन्तर लेखिरहन वा बोलिरहन मन लाग्छ ।

विहानको समयमा रेडियोमा काम गर्छु दिउसो टेलिभिजन कार्यक्रममा व्यस्त हुन्छु । बचेको समया अनलाइन तथा पत्रिकाको लागि काम गर्ने अन्य समाजिक काममा समय दिन्छु । कामप्रतिको लगाव र समयमको व्यवस्थापनको कारणनै मैले पत्रकारीताको हरेक विधामा उत्तिकै सक्रिय हुन सकेको छु जस्तो लाग्छ ।

पत्रकारीता पेशामा लागेर तपाईले हासिल गरेका उपलव्धि के हुन ?

पत्रकारीता पेशामा लागिसकेपछि जव आफुले उठाएका मुद्धालाई स्थापित गर्न सकिन्छ । मानौ कि एकजना हिंसा्पिडित महिलाको विषय उठान गरेपछि उहाँले न्याय पाउँनुभयो भने मात्र मैले पेशाप्रतिको धर्म पुरा गरे भन्ने लाग्छ त्यसबाट पाउने सन्तुष्टि अरु केहिले पुरा गर्न सक्छ जस्तो लाग्दैन । मैले उठाएका धेरै मुद्धा मध्य कोरीयामा विवाहको नाममा हुने बेचविखनको विषयमा कोरीयामै पुगेर अनुसन्धान गरी प्रकाशित गरेको लेखले व्यक्तिगत रुपमा मलाई ज्यान मार्ने सम्मको धम्कि आयो । मेरो छोरालाई किडन्याप गर्ने प्रयास गरियो अरुको समाचार लेख्ने म आफै समाचारको पात्र बने । तर पनि मैले निरन्तर फलोअप स्टोरी गर्न भने छाडिन र अन्त्यमा कोरीयामा विवाहको नाममा हुने वेचविखनको लगभग अन्त्य नै भयो । अब भन्नुस् यो भन्दा ठुलो सन्तुष्ठि मलाइ अरु के ले दिन्छ होला ?

यसैगरि सुरक्षा निकायमा संलग्न व्यक्ति तथा पत्रकार तथा समाजमा प्रतिष्ठित भनिएका व्यक्तिबाट महिलामाथि भएको हिंसाको विषयमा वकालत गर्दा जागिरबाट निकाला हुन सक्ने सम्मको धम्किहरु खेप्नुपरेको थियो । पत्रकारलेनै महिलामाथि गरेको हिंसाको विषयमा तपाईहरुकै पत्रिकामा मैले लेखेकि थिए त्यो समाचार बाहिर आएपछि मलाई पेशाबाटै पलायन गरिदिने धम्किसमेत आयो । पत्रकार भएर पत्रकारकै समाचार बाहिर ल्याउने भन्ने धम्किपुर्ण फोन कलहरु आए । तर पनि मैले नेपाली महिलाहरुलाई न्याय दिने सवालमा आवाज उठाउन भने छोडिन । अन्तमा अदालतबाट न्याय पाउने सवालमा त्यो लेख अनि रेडियो कार्यक्रमनै महत्वपुर्ण दस्ताबेज बन्न पुग्यो ।

तेस्रोलिङ्गि तथा समलिङ्गि विच हुने लैगिंक हिंसाको समाचार पहिलोपटक मैले मिडियाबाट बाहिर ल्याएकि थिए । त्यो समाचार बाहिर आएपछि तेस्रोलिङ्गहरुबाट व्यक्तिगत रुपमा मलाई मैले समाचार प्रकाशन गरेको प्रकाशन गृह हिमाल खबर पत्रिकालाई समेत धम्कि खेप्नुपरेको थियो । त्यो समाचार बाहिर आएपछि समलिङ्गि तथा तेस्रोलिङ्गि जोडिभित्र हुने हिंसाको घटनामा पिडित पक्षबाट आवाजबाहिर आउन थालेका छन् र हिंसाको घटनामा पनि कमि आउन थालेको छ । यसअगाडि त्यो समूहले हिंसालाई आफै भित्र लुकाएर राख्ने गर्थे । यसैगरी आन्तरीक बेचविखन अर्थात क्याविन डान्सबार मसाज सेन्टरभित्र हुनै यौन हिंसाको विषयमा मैले लामो समयदेखि आवाज उठाउदै आईरहेको छु । यहि सिलसिलामा रातभर ठमेललका डान्सबारमा मसाज दोहोरी तथा खाजाघरहरुमा बालिकाको प्रयोग तथा यौन हिंसाको विषयमा समाचार प्रकाशित गर्दा व्यवसायि तथा ग्राहकबाट आउने धम्किहरु हिजो पनि थिए र आज पनि छ ।

केहि महिना अगाडि मात्र एकजना यौनकर्मि महिलासंग भिडियो अन्तवार्ता गरेपछि केहि व्यक्तिहरुले मलाई तथानाम गालिगलौज गर्ने र धम्कि दिने गरेका थिए । चारैतिरबाट ति महिला अनि मलाई धम्किहरु आईरहेकै छ । यसरी पत्रकारीता पेशामा लागेपछि मैले धेरै धम्कि र यातनाहरु सहनु परेको छ । यसले मलाई थप सिकाई भएको छ र थप समाचारको खोजीका लागि हौसाएकोछ । मैले उठाउने मुद्धा भनेकै अंधिकांस महिला बालबालिका तथा किशोरी तथा तेस्रो लिङ्गिहरुमाथि हुने यौन हिंसा दुव्र्यवहारको विषयमा केन्द्रित हुन्छन् ।

जति नै डरधम्किको सामान गर्नुपरेपनि आफुले निरन्तर वकालत गरेपछि न्याय पाएकाहरुको अनुहारमा खुशि देख्दा आफ्नो पेशा प्रति गर्व लाग्छ । म अनि म जस्ता अरु पत्रकारले निरन्तर आवाज उठाएपछि अहिले मनोरन्जनको क्षेत्रमा बालिकाको प्रयोग न्युन भएको छ ।

पत्रकारीता क्षेत्रमा लागेर व्यक्तिगत रुपमा तपाईले भोगेको चुनौति चाहि के हो ?

केहि कुरा मैले अघि पनि उल्लेख गरेकि छु । समयको पार्वन्दि हुदैन । युद्धमा उत्रीएको सिपाही जस्तो जुनसुकै समयमा मैदानमा उत्रिन तयार हुनुपर्छ । पेशागत सुरक्षाको अभाव छ । व्यक्तिगत रुपमा मैले भन्नुपर्दा समाचार लेखेकै भरमा ज्यानमार्ने धम्कि आउने ,मनोवल गिराउने हिसावले फोन कलआउने जागिरबाट निकाला गर्ने धम्कि दिने जस्ता कुरा भईरहन्छन् । कोरीयाको समाचार प्रकाशित गरेपछि छोरालाई स्कुलबाटै अपहरण गर्ने प्रयास भएपछि मैले आफु बसेको ठाँउ र बच्चाको स्कुल समेत परिवर्तन गर्नु परेको थियो । केहि महिना अगाडि मात्र एकजना यौनकर्मि महिलाको अन्तवार्ता गरेपछि केहि पुरुषहरुले पत्रकारीतमा टिकिराख्ने हो भने यस्ता समाचार लेख्न बन्द गर भन्दै धम्क्याएका थिए । निकैनै चुनौतिपुर्ण पारिश्रमिक अत्यन्तै कम अनि असुरक्षित पेशा हो पत्रकारीता ।

पत्रकारीता बाहेक अन्य केमा व्यस्त हुनुहुन्छ ?

पत्रकारीता पेशा संगै संचार र मानवअधिकारका विषयसंग सम्वन्धित विषय काम गर्ने संस्थामा आवद्ध छु । दिगो विकासका लागि संचार माध्यमको परिचालन नेपालको अध्यक्ष, मानव अधिकार संचार प्रतिष्ठान ईह्रिकनको महासचिव तथा कोरीयामा रहेको एसियन वुमन व्रिज नामक संस्थाको नेपाल शाखाको लैगिंक विशेषज्ञको रुपमा समेत काम गर्छु । यसैगरी लैगिंक हिंसा तथा महिला अधिकारको सवालमा तालिमहरु दिने काम समेत गर्छु ।

पत्रकारीता पेशामा आउन चाहने व्यक्तिलाई तपाईको सुझाव ?

पत्रकारीता चुनौतिपुर्ण पेशा हो । तरपनि यस पेशामा लागेपछि तपाइजस्तोसुकै परिस्थिति आईपरेपनि डटेर लाग्छुभन्ने आत्मविश्वास छ भने यस पेशामा आउनुहोस् । तर यहि पेशाबाट टन्नै पैसा कमाउछु भन्ने भ्रममा भने नपर्नुहोला । लगनशिल भएर खोजमुलक समाचार ल्याउन सकेको खण्डमा एउटै समाचारले तपाईलाई स्थापित गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्