कविता : पिसिआर रिपोर्ट



दीपक खनाल ।

चेलाले गुरूसँग सिकाइ माग्दा
गुरूको शर्त आयो-पिसिआर रिपोर्ट ?
कोरोना कहरमै जन्मेको शिशुले‌
च्याँच्याँ गर्दै स्तनपान गर्दा
आत्तिदैँ उग्र ‌बनिन् आमा
ए ! खै पिसिआर रिपोर्ट ?

आफ्नै मांशपिण्डबाट
भर्खरै ‌छुट्टिएको डल्लोमाथि
वात्सल्यको पोखरी घोप्ट्याउँदा
रिसले चुर भएर डल्लो बौलायो
पिसिआर रिपोर्ट ! पिसिआर रिपोर्ट !!

प्रेमातुर मलेवाका जोडी
जब‌ जोड्दै थिए दुई मुटु
आकासवाणी भयो
खबरदार ! खबरदार !!
पिसिआर रिपोर्ट ! पिसिआर रिपोर्ट !!

यौवन र उमेरले मैमत्त तरूनी-तन्नेरीको
लकडाउनले लम्बिएको लगन लेख्दा लेख्दै
लमीलाई आयो द्धिपक्षीय नै फर्मान
दाइजो-उपहार‌ : पिसिआर रिपोर्ट !

हालैको सूचनामा लोकसेवाले लेख्यो
जागिर ‌खाने भए
अनिवार्य बुझाऊ पिसिआर रिपोर्ट‌ !
१२ वर्षमा बल्ल-बल्ल गर्भ राख्नुअघि
नि: सन्तान जोडीले
आ-आफैँ खोज्यो पिसिआर रिपोर्ट !

कोरोना कमिसन काण्डमा मुछिँदा-मुछिँदा
जनअदालतलाई छलेर
हिजो राति आत्महत्या गरी नर्क भागेको
एक राजनीतिक माफियालाई
यमदूतहरूले केरकार गरे
ओ नेताजी ! लेऊ पिसिआर रिपोर्ट ?

१०८ वर्षमा
आजै राति बैकुण्ठ पुगेको एक परमात्मालाई
इन्द्रपालहरूले सम्झाए
खै त पिसिआर रिपोर्ट ?

त्यही परमात्माको शरीर जलाउनुअघि
आर्यघाटले समेत माग्यो- पिसिआर रिपोर्ट

कोरोनाले मजवूरी खोसिएर
इन्तु न चिन्तु शिशुपाल भरिया
गरेर धनुष्टंकार ‌
बिसाउँदै थियो आँसुको भारी
झोक्किएर पशुपतिनाथले जारी गरे परमादेश
तु ल्या पिसिआर रिपोर्ट !

सडकमा सुतिरहेको
एक मानसिक रोगीलाई
लात्तिले हान्दै प्रशासनले
माथीको आदेश सुनायो
ओई देखा पिसिआर रिपोर्ट !

पिसिआरकै खोजी रिपोर्टिङ गर्न
अस्पताल पुग्यो पत्रकार
सुरक्षागार्डले लाठी तेर्स्यायो

पिसिआर रिपोर्ट नदेखाइ छिर्न मनाइ !
ए साहुजी ! हेर्नुस् त !
अझै बुझ्नुहुन्न ?
अझै सुन्नुहुन्न ??
छोड्नैहुन्न है छोड्नैहुन्न
एक रूपियाँ नि छोड्नैहुन्न
नि: शुल्क त गर्नैहुन्न

कामधेनु गाईजस्तो
घाँस-कुँडो पाए पनि नपाए पनि
जतिबेला पनि
दोइरहन पाइने
दोएर दूध
दही जमाइरहन पाइने
जमाएर दही
घ्यू निकालिरहन पाइने
निकालेर घ्यू
जीउ बनाइरहन सइने

सेकेन्ड सेकेन्डमै रोपेर
सेकेन्ड सेकेन्डमै फलाइने
यति गतिलो फल
कहीँ कैलै देख्नुभएको छ आजसम्म रु
हो त्यसैले
अब सङ्गठन झैँ
हिमाल-पहाड-तराई
जताततै फैलाइरहनुपर्छ कोरोना
अनिवार्य गराइरहनुपर्छ पिसिआर रिपोर्ट
उठाइरहनुपर्छ फिरौती
किनकि
पिसिआर टेस्ट
कोरोना अर्थशास्त्रले जन्माएको
यो शताब्दीकै
सबैभन्दा उच्च र गुणस्तरीय माल हो ।

सुन त
ओ मान्छेहरू हो !
छिनछिनै गर या दिनदिनै गर
सातैदिनमा गर या चौध दिनमा गर
सस्शुल्क गर या निस्शुल्क गर
सरकारकोमा गर या‌ व्यक्तिकोमा टेस्ट गर
यस गर्दै नगर
तर
जसरी पनि
पिसिआर रिपोर्ट पेस गर ।

प्रतिक्रिया दिनुहोस्