देशकै ठूलो सबस्टेशन निर्माण



काठमाडौं, (नेस) ।

कुलमान घिसिङकै कार्यकालमा चार्ज गर्ने तयारी भए पनि लकडाउनले ढिला भएको देशको सबैभन्दा ठूलो ढल्केबर सबस्टेशन बुधबार चार्ज भएको छ । ४०० केभी क्षमताको सो सबस्टेशन नो लोडमा चार्ज भएसँगै देशकै ठूलो पावर हवको काम सम्पन्न भएको हो ।

नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले सामाजिक सञ्जालमार्फत् दिएको उक्त जानकारी अनुसार सो नेपालको पहिलो ठूलो र ग्यास इन्सुलेटेड सबस्टेशन हो । उहाँले आफ्नै कार्यकालमा निर्माण पूरा गर्न ठूलो प्रयास गरे पनि हाई भोल्टेज टेस्टिङ मेसिन केरुङ नाकाबाट तीन महिनासम्म छुटाउन नसक्दा काम रोकिएको थियो । सरकारको लगानी, प्राधिकरणकै डिजाइन र प्राधिकरणकै स्वामित्वमा रहेको एनइए इन्जिनियरिङ कम्पनीको परामर्शमा सो आयोजना सम्पन्न भएको भन्दै घिसिङले यसकार्यमा संलग्न सबैलाई बधाई दिनु भएको छ ।

सो आयोजना करिब अढाइ वर्षमा सम्पन्न भएको हो ।  नयाँ सबस्टेशन निर्माण सम्पन्न भएपछि १ हजार २ सय मेगावाट विद्युत् आयातनिर्यात गर्न सकिने भएको छ । यसअघि नेपाल–भारतबीच विद्युत् आदान प्रदानका लागि ढल्केबर–मुजफ्फरपुर ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न भएको थियो । अब आवश्यक परेको बेला जुनसुकै बेला उक्त क्षमताको विद्युत् आयात निर्यात गर्न सकिन्छ । यद्यपि, तत्कालका लागि ८५० मेगावाट मात्रै विद्युत् आयात निर्यात गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्