पाल्पामा विपद्बाट करिब डेढ करोड क्षति



पाल्पा, (नेस) ।

पाल्पामा विगत अढाइ महिनाको अवधिमा बाढी र पहिरोका कारण १ करोड ५५ लाख बराबरको भौतिक क्षति भएको छ ।

गत साउन, भदौ र असोज महिनामा विपद्सम्बन्धी घटना पहिरो, आगलागी, बाढीका कारण घर तथा भौतिक सम्पत्ति मात्र डेढ करोड बढीको क्षति भएको जिल्ला प्रशासन कार्यालय पाल्पाले विवरणमा जनाएको छ । जिल्लाका विभिन्न स्थानमा २०७७ साउन १ गतेयता बाढी–पहिरोले आठ जनाको मृत्यु भएको थियो । यस्तै घर, विद्यालय भवन, सामुदायिक भवनमा समेत क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । जिल्लामा साउनयता असोज महिनासम्ममा ५८ वटा विपद्का घटना भएको प्रशासनको तथ्यांकमा उल्लेख छ ।

अढाइ महिनाको अवधिमा १७ वटा घर पहिरोले बगाएको छ । १९ वटा घरलाई पहिराले क्षति पु¥याएको छ । यस्तै वस्तुभाउको १२ वटा गोठमा पहिरोले क्षति पु¥याएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिनुभयो ।

विपद् व्यवस्थापन समितिमा आएको तथ्यांकअनुसार पहिरोले गोठसँगै च्यापिएर ३४ वटा पशुचौपायको मृत्यु भएको छ । बाढी र पहिराले तानसेन, रिब्दीकोट, रम्भा, तिनाउ, माथागढी, रामपुर, बगनासकाली र निस्दीका विभिन्न स्थानमा क्षति पु¥याएको सहायक प्रमुख जिल्ला अधिकारी बञ्जाडेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्