राजनीतिमा रअ



भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्त कुमार गोयलको नेपाल भ्रमणलाई लिएर अहिले बिभिन्न कोणबाट टिप्पणी शुरु भएको छ । नेपाल भारतबीचको सम्वन्धमा तनाव उत्पन्न भएको बेला  उनको नेपाल भ्रमणले विशेष अर्थ राख्नु स्वाभाविक छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विषेश दूतको रुपमा गोयलको भ्रमणलाई एक थरीले सम्बन्ध सूधारको सूत्रका रुपमा  लिएका छन् भने अर्का थरिले नेपालको राष्ट्रियतामाथि प्रतिकूल असर पर्ने कुनै काम त हुने होइन भनेर आशंका प्रकट गरेका छन् । नेपाली  भूमी लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतले आफ्नो भएको दावी गर्दै आएपछि नेपालले त्यसको बदलामा विवादित  नेपालीभूमी समेटेको नयांँ नक्सा जारी गरेपछि दुवै मुलुकबीच केही हदसम्म तनाबको सम्वन्ध सिर्जना भएका बेला गोयलको भ्रमणलाई लिएर आशंका व्यक्त गरिएको छ । नेपालको राष्ट्रिय खुफिया एजेन्सी राष्ट्रिय अनुसन्धान बिभागले भ्रमणको चाँजोपाजो मिलाएको कारण गोयलको भ्रमण सरकार प्रमुखकै चाहनामा भएको टिप्पणी समेत गरिएको छ । रअका प्रमुखले प्रधानमन्त्री केपी ओली, गृह मन्त्री रामबहादुर थापा र सुरक्षानिकायका प्रमुख र उच्च सुरक्षाअधिकारीसँंग भेटघाट गर्नुले पनि नेपाल सरकारको चाहनामा नै गोयल नेपाल आएको प्रष्ट हुन्छ ।

खुला सिमानाको आनन्द उठाउँदै आएका दुई छिमेकी मुलुकबीच अधिकांशतः सुखद र सामान्य सम्बन्ध नै छ । तर, सुल्झाउन बाँकी मुद्दाहरु पनि त्यति नै छन् । भारतमा पछिल्लो सरकार आएपछि छिमेकीसंँग राम्रो सम्बन्ध राख्नुको सट्टा नेपाललाई नाकावन्दी गर्ने सीमा क्षेत्रमा विवाद निकाल्ने जस्ता काम भए । नेपालले भारतको यस कार्यलाई असल छिमेकीको व्यवहारका रुपमा स्वीकार गर्ने अवस्था थिएन । यस्तै बेला नेपाल सरकारले भारतले आफ्नो भनेर दावी गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भएको दावी गर्दै नयांँ नक्सा जारी गरेपछि दुवै देश बीच राजनीतिक र सरकारी स्तरमा तनावको वातावरण उत्पन्न भएको छ । यद्यपि दुई देशबीचको जनस्तरको सम्बन्ध प्रभावित हुने स्थितिमा छैन । नेपालले भूमिको मुद्दालाई वार्ताको माध्यमबाट समाधान गर्न खोजेपनि भारतको बेवास्ता गरेका कारण वार्ताको बातावरणसमेत बन्न नसकिरहेको बेलाखुल्ला रुपमा गोयलले नेपाल भ्रमण गरेपछि भारतले नेपालसँंग सम्बन्ध बढाउन चाहेको संकेतका रुपमा पनि हेरिएको छ । अर्कातिर सत्ताधारी नेकपाभित्रको अन्तरविरोध चर्किरहेको बेला गोयललाई नेपाल भ्रमण गराएर ओलीले आफ्नो गुटबाहिरका शक्तिलाई तर्साउन खोजेको आरोप अर्काथरि विश्लेषकहरुले लगाएका छन् । गोयलको नेपाल भ्रमण वास्तवमै रहस्यमय बनेको छ ।

जेहोस्, दुई देशबीचको सम्बन्ध सुधार अहिलेको प्रमुख आवश्यकता हो । दुई देशबीचको सम्बन्ध सुधारका लागि गोयल नेपाल आएको भएत्यो राम्रो संकेत हो ।एक–आपसमा जुधेर होइन मिलेर अघि बढ्नु नेपाल र भारत दुवै देशका लागि हितकर हुनेछ । भारतले समयमा नै सम्बन्ध सुधारका लागि ध्यान दिन सकेन भने जनस्तरको सम्बन्ध समेत नबिग्रेला भन्न सकिन्न । यसतर्फ दुवै सरकारको ध्यानजान जरुरी छ ।तर, दुई देशबीचको सम्बन्ध विस्तारका लागि सूत्रधार बन्ने निकाय रअ होइन, राजनीतिक निकायहरु हुन् । भारतबाट कुनै राजनीतिक वा प्रशासनिक प्रमुख आएर सम्बन्ध सुधार्ने प्रयास हुनु स्वाभाविक हुने थियो ।

प्रतिक्रिया दिनुहोस्