गाउँपालिका केन्द्र विवाद प्रकरण, दश दिनदेखिको तालाबन्दी तत्काल नखुल्ने संकेत



विनोदसिंह विष्ट, बैतडी । 

गाउँपालिकाको केन्द्र विवादमा पर्दा बैतडीको सुर्नया गाउँपालिकामा गत असोज २६ गतेदेखि लगाइएको ताला तत्काल नखुल्ने देखिएको छ । गाउँपालिकाले गत वर्ष पबिता केन्द्र बनाउने निर्णय गरेपछि असन्तुष्ट बनेका समूहले तालाबन्दी गरेका हुन् ।

गत असोज २८ गते मुचुल्का बनाएर ताला खोल्ने क्रममा गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टमाथि नै कुटपिट भएपछि गाउँपालिकाका सबै कामकाज प्रभावित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविन्द्रप्रसाद ओझाले बताउनुभयो । सो दिन गाउँपालिका अध्यक्षसहित १४ जना घाइते भएका र गाउँपालिका अध्यक्ष अझै पनि उपचारमै रहेकाले छलफल नै हुन नपाएको उहाँले बताउनुभयो । दशैंपछि मात्र असन्तुष्ट समूहसँग बसेर छलफल गर्ने तयारी भएको प्रमुख प्रशासकीय अधिकृत ओझाको कथन छ ।

गाउँपालिकाको केन्द्रका विषयमा विवाद हुँदा अहिले गाउँलेहरुबीच समेत तिक्तता आएको छ । कसैले पबिता केन्द्र उपयुक्त हुने तर्क गरिरहेका छन् भने कसैले साविककै ठाउँमा केन्द्र उपयुक्त हुने बताएका छन् । गाउँपालिकाको केन्द्रको विवादलाई लिएर

जनप्रतिनिधिमाथि नै आक्रमण भएपछि असुरक्षा महसुस भएको जनप्रतिनिधिहरुको धारणा छ । छलफलबाट समस्याको समाधान गर्नुको सट्टा कुटपिटमै उत्रिएपछि अब त्यो ठाउँमा जान मुस्किल भएको सुर्नया गाउँपालिका–१ का वडाध्यक्ष गजेन्द्रबहादुर चन्दले बताउनुभयो ।
गाउँपालिका अध्यक्षमाथि कुटपिट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्