विपन्नलाई विद्युत् मिटर



हेटौंडा, (नेस) ।

मकवानपुरको बकैया गाउँपालिका–१ स्थित ढिकीफेदीका अतिविपन्न २ घरपरिवारलाई विद्युत् डिजिटल मिटर बितरण गरिएको छ ।
विद्युत् पुगिसकेको स्थानमा हेटौँडा विद्युत् प्राधिकरणले निःशुल्क डिजिटल मिटर वितरण गरिरहेको अवस्थामा हेटौँडासम्म आएर मिटर लिने अवस्था नरहेका ढिकीफेदी–२ का स्थानीयलाई स्थानीय समाजसेवीको पहलमा मिटर वितरण गरिएको हो ।

निःशुल्क डिजिटल मिटर लिनेमा बकैया गाउँपालिका–१ को धोबीगाउँका स्थानीय मेजरमान लो र ढिकीफेदी निवासी टेकबहादुर ब्लोन छन् । दुई घरपरिवार समाजको अतिविपन्न परिवार रहेकाले विहान बेलुका हातमुख जोर्नसमेत कठिन अबस्था रहेको स्थानीयको भनाइ छ । मिटर लिनुअगावै नेपाल बैंकमा १ हजार रुपियाँ जम्मा गर्न नसक्दा घरको आँगनबाट विद्युत् गए पनि यी घरपरिवार टुकीको उज्यालोमा निर्भर थिए । स्थानीय समाजसेवी तथा बाख्रा फारम व्यबसाय चलाउँदै आएका ढिकीडाँडाका बिलबहादुर बोम्जनले अतिविपन्न लो र ब्लोनको नाममा हेटौँडामा रहेको नबिल बैंकमा दुवै जनाको १ हजार रुपियाँ जम्मा गरिदिएको र मिटर लिन हेटौँडा विद्युत् प्राधिकरणमा आउँदा लाग्ने बाटो खर्चसमेत आफैँले तिरेर विद्युत् मिटर ल्याएर बितरण गरिएको छ ।

बिलबहादुर साह्रोगारो परेकालाई सहयोग गर्नेमात्र नभएर बकैया गाउँपालिका–१ को ढिकीडाँडामा विकास कार्यमा पनि त्यत्तिकै सहयोग गर्दै आएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्