कोरोनाको मारमा होटल व्यवसायी



चिरञ्जीवी मास्के, दोलखा ।

लामो समयको लकडाउनपछि फाट्टफुट्ट पर्यटक पुग्न लागेको दोलखाको प्रसिद्ध धार्मिक एवं पर्यटकीय केन्द्र कालिञ्चोकमा शक्तिपीठहरु बन्द गर्ने सरकारको पछिल्लो निर्णयले फेरि शून्यता छाएको छ ।

गत २०७६ चैत ११ देखि कालिञ्चोक क्षेत्र सुनसान प्रायः भएपछि कुरी आसपासमा करोडौं लगानीमा बनेका सुविधा सम्पन्न होटलहरु आर्थिक सङ्कटमा परेका छन् । लकडाउन खुलेपछि दैनिक केही पर्यटकहरु कालिञ्चोक मन्दिर पुग्ने गरेका थिए । कालिञ्चोक मन्दिरको प्रवेशद्वार कुरीका सुविधा सम्पन्न होटलहरुमा थोरै चहलपहल शुरु भएको थियो ।

तर कात्तिक १ गतेदेखि विभिन्न धार्मिकथल मन्दिर र शक्तिपीठहरु बन्द गर्ने सरकारको निर्णयका कारण करोडौंको लगानीमा निर्माण भएका कुरीका सुविधा सम्पन्न होटहरु सङ्कटमा परेको होटल मिराकलका सञ्चालक मोहन लुइँटेल बताउनुहुन्छ ।

आफूहरुले लकडाउनभन्दा केही समयअघि मात्र पाँच करोडभन्दा बढी लगानी गरेर होटल सञ्चालन गरेको तर लगतै लकडाउनका कारण समस्या भएको मिराकलका सञ्चालक लुइँटेलको गुनासो छ ।

३ हजार ८ सय ४२ मिटरको उचाइमा रहेको कालिञ्चोक मन्दिर प्राकृतिक र धार्मिक दुवै हिसाबले निकै महत्वपूर्ण मानिन्छ । कालिञ्चोक मन्दिर परिसरको जलकुण्ड नै यहाँको मुख्य विशेषता हो । किम्बदन्तीअनुसार जलकुण्डबाट दाहिनेतिर तामाको धारा भएर तामाकोसी बगेको र देब्रेतिर सुनको धारा भएर सुनकोशी बगेको छ ।

कालिञ्चोक मन्दिर परिसरमा हिमालय पर्वतकी पुत्री पार्वतीले तपस्या गरेको र महादेव–पार्वतीको वासस्थान भएको जनविश्वास रहँदै आएको छ । कालिञ्चोक क्षेत्रमा भेडागोठहरु रहेको र कालिञ्चोक मन्दिरमा सबै भेडाहरु जम्मा भएर बस्ने तथा ढुंगा चाट्ने गरेर जलकुण्ड देखिएको किम्बदन्तीसमेत प्रचलनमा रहेको छ । कालिञ्चोकको दर्शन गर्‍यो भने मागेको कुरा पूरा हुने, रोग व्याधी नलाग्ने, शत्रुको भय नहुने, धन सम्पत्तिमा वृद्धि हुने जनविश्वाससमेत रहँदै आएको छ ।

कालिञ्चोक मन्दिरमा हरेक हप्ताको शनिबार र मंगलबार तथा जनैपूर्णे, बडादशैंजस्ता चाड पर्वहरुमा ठूलो संख्यामा धार्मिक पर्यटकहरु पुग्ने गर्छन् । कात्तिक १ गते घटस्थापनाको दिन ठूलो संख्यामा पर्यटक पुग्ने अनुमान गरिएकोमा सोही दिनदेखि सरकारले मठ मन्दिर तथा शक्तिपीठहरु बन्द गर्ने निर्णय गरेकाले कुरीका होटल व्यवसायीहरु मर्कामा परेको एमपी होटल एन्ड गेस्ट हाउसका सञ्चालक राजकुमार पाख्रिन बताउनुहुन्छ । गत वर्षहरुमा दशैंको घटस्थापनादेखि पूर्णिमासम्म हजारौं पर्यटक कालिञ्चोक मन्दिर पुग्ने गरेका थिए । यसपटक कोरोना महामारी भए पनि मन्दिर दर्शनमा रोक नलगाइएको भए दशैंको अवधि भर पाँच–सात हजार पर्यटक पुग्ने अनुमान गरिएको राजकुमार बताउनुहुन्छ ।

सरकारले मठ मन्दिरमा प्रवेश गर्न रोक लगाएकै कारण घटस्थापनाका दिन कालिञ्चोक मन्दिरमा ढेड सय जतिमात्र पर्यटक पुगेको कालिञ्चोक त्रिपुरा सुन्दरी गुठी समितिका दिलबहादुर तमाङले बताउनुभयो । सरकारको निर्णयबारे जानकारी नभएर मन्दिर पुगेका केहीले दर्शनसमेत गर्न नपाएको दिलबहादुरले बताउनुभयो ।

कोरोना र लकडाउनका कारण झन्डै चार–पाँच महिना बन्द रहेको कालिञ्चोकका होटलहरुमा दशैंको अवधिमा केही पर्यटक आउँछन् र थोरै भए पनि आर्थिक घाउमा मल्हम लाग्ने अनुमान गरिएको अवस्थामा मन्दिर बन्द गर्ने निर्णयले समस्या भएको राजकुमार गुनासो गर्छन्। कालिञ्चोक मन्दिरसँगै त्यहाँ सञ्चालनमा रहेको केबुलकारसमेत बन्द गरिएको छ ।

कालिञ्चोकको कुरीमा करोडभन्दा बढी लगानीको ४० भन्दा बढी सुविधा सम्पन्न होटलहरु रहेका छन् । कोरोना महामारीअघि हिमपातको समय र विभिन्न चाडपर्वहरुको अवधिमा कालिञ्चोक पुग्ने पर्यटकले कुरीका सबै होटलहरु भरिने गर्थे । कोरोनापछि पर्यटक आगमनले गतिलिन खोजेकै बेला फेरि मन्दिर प्रवेशमा रोक लगाइएकाले समस्या थपिएको सुनपाति होटलका सञ्चालक हरि ओली बताउनुहुन्छ ।

कोरोना महामारीबाट सर्तक रहनुपर्ने अहिलेको आवश्यकता भए पनि चाडबाडको बेला मन्दिरलाई पूर्णतः बन्द गर्नु उपयुक्त नभएको कुरीका होटल व्यवसायीहरुको धारणा छ । भिडभाड नगरी पैदल नै गएर मन्दिर दर्शन गर्न चाहनेलाई कोरोना सर्तकतासहित मन्दिर खुला गर्नुपर्ने कुरीका होटल व्यवसायीहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस्