च्याम्पियन्स लिगमा बार्सिलोनाको सुखद शुरुआत



लन्डन, (एजेन्सी) ।

गत सिजनको यूईएफा च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा बायर्न म्युनिखसँग लज्जास्पद हार व्यहोरेको स्पेनिस क्लब बार्सिलोनाले यो सिजनमा सुखद शुरुआत गरेको छ।

बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिग फुटबलको नयाँसिजनअन्तर्गत मंगलबार राति भएको समूह चरणको पहिलो खेलमा हंगेरियन क्लब फेरेन्सभारोसमाथि ५–१ गोलअन्तरको फराकिलो जित निकालेको छ। घरेलु मैदान क्याम्प नोउ रंगशालामा भएको खेलमा बार्सिलोनालाई जिताउन कप्तान लियोनल मेसी, अन्सु फाती, फिलिपे कौटिन्हो, नयाँ खेलाडी पेड्री र उसमान डेम्बेलेले समान एक–एक गोल गरेका छन्।

बार्सिलोना खेलको ६८औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो। डिफेन्डर जेरार्ड पिकेले विपक्षी खेलाडीलाई डिबक्समा लडाएपछि रेफ्रीले उनलाई सोझै रातो कार्ड देखाउँदै फेरेन्सभारोसलाई पेनाल्टीसमेत दिएका थिए। उक्त रातो कार्ड देखेका पिकेले अर्को साता हुने युभेन्ट्सविरुद्धको खेल पनि गुमाउने भएका छन्।

बार्सिलोनाले एकपक्षीय बनाएको उक्त खेलको२७औं मिनेटमा कप्तान मेसीले पेनाल्टीमार्फत गोल गरेका थिए। एक्लैले बल अघि बढाउँदै गर्दा मेसीलाई विपक्षी टिमका दुईजना खेलाडीले घम्साघम्सी गर्दै लडाएपछि बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो। जसमा मेसी स्वयंले गोल गरे। बार्सिलोनाको तर्फबाट दोस्रो गोल भने खेलको ४२औं मिनेटमा फातीले गरेका हुन्। फ्रेन्की डे जोङले दिएको सटिक पासमा फातीले आकर्षक फिनिसिङगरेका थिए।

त्यसैगरी, दोस्रो हाफ शुरू भएको सातौं मिनेटमै बार्सिलोनाले तेस्रो गोल ग¥यो। यसपटक भने कौटिन्होले गोलमा आफ्नो नाम लेखाए। फातीले डिबक्सभित्रबाट दिएको ब्याकहिलको पासमा कौटिन्होले सजिलै बललाई गोलपोस्टको दिशा दिएका थिए। त्यस्तै, खेलको ७०औं मिनेटमा पाहुना टोलीका लागि इहोर खार्टियानले पेनाल्टीमार्फत गोल गर्दै खेल ३–१ बनाए। पिकेले बक्समा खराब तरिकाले विपक्षी खेलाडीलाई समातेर लडाएपछि रेफ्रीले उनलाई रातो कार्ड दिँदै फेरेन्सभारोसलाई पेनाल्टी हान्न दिएका थिए।

खेलको ८२औं मिनेटमा सब्सिच्युट खेलाडी पेड्रीले उसमान डेम्बेलेको पासमा बक्सभित्रबाट गोल गरेपछि खेल बार्सिलोना ४–१ को स्थितिमा पुगेको थियो। पेड्रीले बार्सिलोनाका लागि पहिलो गोल गरेका हुन्। त्यसपछि, ८९औं मिनेटमा सब्सिच्युट खेलाडी डेम्बेलेले अर्को गोल थपेपछि खेल बार्सिलोनाले ५–१ ले जितेको हो।

यस खेलमा मेसीले यो सिजनमा गरेका सबै गोल पेनाल्टीमार्फत मात्रै भएका छन्। यो सिजन मेसीले बार्सिलोनाबाट ५ र अर्जेन्टिनाबाट २ गरी७ खेलबाट मात्रै ३ गोल गरेका छन्। मेसीले ती सबै गोल पेनाल्टीमार्फत गरेका हुन्।

उक्त गोलपछि ३३ वर्षीय अर्जेन्टिनी फरवार्डका नाममा एकसाथ दुई रेकर्ड बनेका छन्। हाल वेल्सको राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक रहेका रायन गिग्स र मेसी अब यस प्रतियोगितामा लगातार १६ सिजनसम्म गोल गर्ने खेलाडी बनेका छन्। मेसीले च्याम्पियन्स लिगमा लगातार १६ सिजन गोलको रेकर्ड बराबरी गरेका छन्। यस्तो रेकर्ड यसअघि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका लिजेन्ड खेलाडी रायन गिग्स एक्लैको नाममा थियो। त्यस्तै, मेसी अब यस प्रतियोगितामा सबैभन्दा धेरै ३६ फरक–फरक टिमविरुद्ध गोल गर्ने खेलाडीसमेत बनेका छन्।

त्यस्तै, बार्सिलोनाका युवा स्टार अन्सु फातीका नाममा युरोपियन च्याम्पियन्स लिग फुटबलमा अर्को कीर्तिमानी बनेको छ। उनी अब यस प्रतियोगितामा १८ वर्ष सबैभन्दा कम उमेरमै दुई गोल गर्ने एक मात्रै खेलाडी बनेका छन्। बार्सिलोनाले फेरेन्सभारोसलाई ५–१ ले हराउँदा फातीले ४२औं मिनेटमा गोल गरेका थिए।

उक्त गोलसँगै १७ वर्षीय फातीले यस प्रतियोगितामा गरेको कुल गोल संख्या दुई पुगेको छ। उनी अब यस प्रतियोगितामा १८ वर्ष नपुगी दुई गोल गर्ने एक मात्रै खेलाडी बनेका छन। यसअघि यस प्रतियोगिताको इतिहासमा १८ वर्षभन्दा कम उमेरमा कुनै पनि खेलाडीले दुई गोल गरेका थिएनन्।फातीले च्याम्पियन्स लिगमा हालसम्म कुल ६ म्याच खेल्दै दुई गोल गरेका हुन्। गत वर्ष उनले कुल ५ म्याच खेलेर एक गोल गरेका थिए। फाती च्याम्पियन्स लिगमा गोल गर्ने सबैभन्दा कान्छा रेकर्डधारी खेलाडी पनि हुन्।

युभेन्टस्को जित

त्यसैगरी, यसै समर विन्डोमा अनुबन्ध भएका स्पेनिस फरवार्ड अल्भारो मोराटा चम्किँदा इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनको सुखद शुरुआत गरेको छ। मंगलबार राति नै भएको समूह चरणको पहिलो खेलमा युभेन्ट्सले युक्रेनको क्लब डाइनामो किभलाई उसैको घरेलु मैदानमा २–० गोल अन्तरले निराश बनाएको हो।प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोविनै मैदानमा उत्रिएको युभेन्ट्सलाई नयाँ सिजनको पहिलो खेलमा सहज जित दिलाउनेक्रममा मोराटाले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरे। उनले दुवै गोल दोस्रो हाफमा गरेका हुन्। उनले दोस्रोपटक युभेन्ट्सका लागि खेल्नेक्रममा यसपटकको च्याम्पियन्स लिग डेब्यूमै दुई गोल गर्न सफल भएका छन्।

खेलको पहिलो हाफ गोलरहित बनेको थियो। तर, दोस्रो हाफ शुरू भएको पहिलो मिनेटमै मोराटाले गोलकिपरबाट रिबाउन्ड बलमा सहजै गोल गरेर टिमलाई अग्रता दिलाएका हुन्। डेजान सुलुसेभ्स्कीको कडा प्रहार गोलकिपरबाट रिबाउन्ड भएको बलमा मोराटाले सहजै गोल गरेका थिए।

त्यसपछि, युभेन्ट्सलाई अर्को गोलका लागि ८४औं मिनेटसम्म कुर्नुपरेको थियो, जहाँ मोरोटाले नै जुआन काउडराडोको क्रस पासमा हेडिङमार्फत उत्कृष्ट गोल गरेर टिमको जित पक्का गरे। समूहको पहिलो खेलपछि समूह ‘जी’ मा ३ अंकसहित युभेन्ट्स दोस्रो स्थानमा छ। ३ अंक नै जोडेको बार्सिलोना समूहको शीर्ष स्थानमा छ।

लाजियोसँग डर्टमुन्ड स्तब्ध

अर्को इटालियन क्लब लाजियोले पनि आफ्नो घरेलु मैदानमा बलियो टोली जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई ३–१ गोलले स्तब्ध पारेको छ। डर्टमुन्डले बल पोजिसनमा अधिक नियन्त्रण बनाए पनि जित भने लाजियोले आत्मसात् गरेको छ। खेलमा भएका तीन गोलमध्ये लाजियोले एक गोल उपहारमा पाएको थियो। यता, पराजित डर्टमुन्डका लागि एक गोल युवा स्टार अर्लिङ हल्यान्डले गरे पनि टिमको हार टार्न पर्याप्त भएन।

लाजियोका लागि खेल शुरू भएको छैठौं मिनेटमै सिरो इम्मोबिलेले डर्टमुन्डको रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए। त्यसपछि, खेलको २३औं मिनेटमा डर्टमुन्डका मार्बिन हिट्जले आफ्नै गोलपोस्टमा गोल गरेपछि लाजियो २–० ले अघि रह्यो।त्यसपछि खेलको ७१औं मिनेटमा नर्वेजियन हल्यान्डले गोल गरेर टिमलाई खेलमा फर्काउने संकेत दिएका थिए।

तर, हल्यान्डले गोल गरेको ५ मिनेटमै लाजियोका लागि जिन ड्यानियल अक्प्रोले गोल गरेपछि डर्टमुन्डको खेलमा फर्कने सम्भावना सकिएको छ।पहिलो जितपछि लाजियो पहिलो खेलबाटै ३ अंक जोडेर समूह ‘एफ’को शीर्ष स्थानमा छ। अर्को खेलमा जेनिटलाई हराएको बेल्जियन क्लब ब्रुगी पनि ३ अंकसहित दोस्रो स्थानमा छ।

चेल्सी निराश

च्याम्पियन्स लिग फुटबलअन्तर्गत नै नयाँ सिजनको पहिलो खेलमा इंग्लिस प्रिमियर क्लब चेल्सी आफ्नै घरेलु मैदानमा निराशाजनक बराबरीमा रोकिएको छ। मंगलबार राति नै भएको समूह चरणको पहिलो खेलमा चेल्सीलाई पाहुना टोली स्पेनिस क्लब सेभियाले गोलरहित बराबरीमा रोकेको हो। स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सी पहिलो रोजाइका खेलाडीसहित उत्रिए पनि सेभियाले खेलभरि नै दबाब कायम राख्न सफल भएको थियो।निर्धारित ९० मिनेट र थप समयमा समेत दुवै टोलीले गोल गर्न नसक्दा अन्ततः पहिलो खेलबाट दुवै टोलीले समान एक/एक अंक बाँड्न बाध्य भएका थिए।

समूह ‘इ’ अन्तर्गत अर्को खेलमा गत राति नै क्रस्नोडार र रेनेजले पनि १÷१ को बराबरी खेलेका छन्। यस समूहका चारवटै टोलीले पहिलो खेलबाट बराबरी खेल्दै एक/एक अंक मात्रै जोडेका हुन्।

पीएसजी पराजित

च्याम्पियन्स लिगको गत सिजनको फाइनालिस्ट फ्रेन्च क्लब पीएसजी भनेनयाँ सिजनको पहिलो खेलमै पराजित भएको छ। समूह चरणको पहिलो खेलमा पीएसजी आफ्नै घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडसँग २–१ ले स्तब्ध बनेको छ। नेयमार र क्लियन एमबाप्पेससहित स्टार खेलाडीले भरिएको पीएसजीले आफ्नै घरेलु मैदानमा एक गोल पनि गर्न नसक्दा पहिलो खेलमै हार व्यहोर्नुपरेको हो।

युनाइटेडलाई जिताउन खेलको २३औं मिनेटमा कप्तान ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत गोल गरेका थिए। उनको पहिलो पेनाल्टी प्रहार पीएसजीका गोलकिपर केलर नाभासले रोकेका थिए। तर, पेनाल्टी छेक्नेक्रममा नाभासले नियमविपरीत भएको भन्दै रेफ्रीले युनाइटेडलाई दोस्रोपटक पेनाल्टी हान्न दिएका थिए, जहाँ दोस्रो प्रहारमा फर्नान्डेजले सहजै गोल गरे।

पहिलो हाफमा पेनाल्टीमार्फत गोल व्यहोरेर पछि परेको पीएसजीले दोस्रो हाफको शुरुआतबाटै बराबरी गोल फर्काउन भरमग्दुर प्रयास गरेको थियो। जसअनुसार खेलको ५५औं मिनेटमा पीएसजीका नेयमारले हानेको कर्नर किकमा युनाइटेडका एन्थोनी मार्सियाले बक्समा हेडिङमार्फत बल क्लियर गर्न खोज्दा सोझै आफ्नै गोलपोस्टमा छिराएपछि खेल १–१ को स्थितिमा पुगेको थियो।

तर, ८७औं मिनेटमा युवा स्टार मार्कुस रासफोर्डले पाउल पोग्बाको पासमा उत्कृष्ट प्रहारमा गोल गर्दै घरेलु टोलीविरुद्ध युनाइटेडलाई २–१ को जित दिलाए।योसँगै युनाइटेडले च्याम्पियन्स लिगमा पीएसजीलाई लगातार दुई खेलमा हराएको छ। यसअघि सिजन २०१८÷१९ मा पनि युनाइटेडले पीएसजीलाई अन्तिम १६ मा उसैको घरेलु मैदानमा ३–१ ले हराएको थियो। दुई वर्षपछि च्याम्पियन्स लिगकै खेलमा सोही मैदानमा भिड्दा पीएसजीले अर्को हारको समाना गर्नुपरेको छ।

प्रतिक्रिया दिनुहोस्