विद्यालयका शिक्षकलाई न तलब न दशैं खर्च



ईश्वरराज ढकाल, काठमाडौं ।

‘भोलि शुक्रबारबाट दशै बिदा हुदैछ । अहिलेसम्म हामीले तलब पाएका छैनौं । यस्तो अवस्थामा हामीले कसरी दशै मान्ने ? दशै बिदाको अघिल्लो दिनसम्मपनि तलब नपाएर बिल्लीबाठ भएका निजी विद्यालयका शिक्षकले आज बिहीबारसम्म दुई महिनाको तलब र दशैं पेश्की उपलब्ध नगराए दशै लगत्तै अनलाईन कक्षा बन्द गर्ने चेतावनी दिएका छन् ।

शिक्षक महासंघको अगुवाईमा प्याब्सन, एनप्याब्सन, अभिभावक महासंघ र संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) का अधिकारीबीच पटक पटक वार्ता हुँदापनि कुरा नमिलेपछि आक्रोशित बनेको इष्टुले दशैपछि सबै किसिमका पढाई र विद्यालय ठप्प पार्ने चेतावनी दिएको हो ।

चैतदेखि पुरा तलब नपाएका शिक्षकले दशैंमा तलब समेत पाएका छैनन । इष्टुका अध्यक्ष होमकुमार थापाले हाललाई दुई महिनाको तलब र दशैं पेश्की माग्दा समेत नदिएको आरोप लगाउनुभयो । उहांले भन्नुभयो–प्याब्सन र एनप्याब्सनका अधिकारीलाई धेरै पटक आग्रह गर्‍यौँ तैपनि समस्या समाधान भएन ।

‘तलब नपाएका कारण कति शिक्षक त रोएका छन् । कति घर जान पाएका छैनन् । कतिले त सरसापटी माग्दा समेत रकम नपाएपछि बिचल्ली भएका छन्’–अध्यक्ष थापाको भनाई थियो ।

प्याब्सन र एन प्याब्सनका अधिकारीबीच यही १ गते बैठक बस्दा तत्काल समस्या समाधान गर्ने बताएका थिए । दशैं आउन एकदिन बाँकी हुदासम्म तलब दिएका छैनन् । कति सञ्चालक त विद्यालय बन्द गरिसकेका छन्–अध्यक्ष थापाले भन्नुभयो ।

प्याब्सनका अध्यक्ष टीकाराम पुरीले यही अवस्था रहिरहे पुरा तलब दिन नसक्ने स्पष्ट पार्दै चाडवाड मनाउन सकेजति तलब उपलब्ध गराउन सबै विद्यालयलाई निर्देशन दिइसकेको दावी गर्नुभयो ।

उहांले भन्नुभयो–विद्यालय सञ्चालन गर्न र शिक्षक कर्मचारीलाई तलब खुवाउन मेघा र प्राइम बैकबाट ऋण लिने व्यवस्था गरेर भएपनि तलब खुवाउने व्यवस्था गरेका छौ ।

‘ऋण लिएर तलब दिन आग्रह गर्दा समेत समस्या समाधान हुन सकेको छैन, कति विद्यालयले त ऋण लिन समेत गएका छैनन–अध्यक्ष पुरीले भन्नुभयो ।

यस्तो अवस्थामा सकेजति तलब दिन सबैलाई आग्रह गर्दा समेत समस्या समाधान हुन नसकेको उहाको भनाई थियो । प्याब्सन र एन प्याब्सनका अध्यक्षले अभिभावकले अनलाईन कक्षा सञ्चालन गर्दापनि मासिक शुल्क नतिर्दा समस्या बढेको बताएका छन् ।

एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले भन्नुभयो–अहिलेको अवस्थामा खुसीसाथ दशै मनाउन सकेजति तलब उपलब्ध गराउन विद्यालयलाई आग्रह गरेका छौ, कतिले दिएका छन् भने कतिले अझै दिने तयारी गरिरहेका छन् ।

अबको एक वर्षसम्मपनि पुरै तलब दिनसक्ने अवस्था नहुने बताउदै आएका निजी विद्यालय सञ्चालकले अहिलेको अवस्थामा मिलेर बाँच्नुको विकल्प नभएको बताउदै आएका छन् ।

अब एक वर्ष यही अवस्था रहे करिब ७० प्रतिशत विद्यालय सदाकालागि बन्द हुनसक्छ–प्याब्सन र एनप्याब्सनका अध्यक्षले दावी गरेका छन । ‘अहिलेको समयमा विद्यालय र विद्यालयका शिक्षक र कर्मचारीलाई बचाउनुको विकल्प नभएको उनीहरुको भनाई थियो ।

इष्टुका अध्यक्ष थापाले शिक्षक र कर्मचारीको तलबको विषयमा कार्यदलले निर्णय गरे अनुसार हुने भएपनि चाडवाडको बेला दुई महिनाको तलब र दशै पेश्की माग्दापनि नदिने सञ्चालकले आफ्ना कर्मचारीमाथि घात गरेको आरोप लगाउनुभयो ।

उहांले भन्नुभयो–चाडवाडमा शिक्षक कर्मचारीको हात खाली हुदा कस्तो होला ? कसैलेपनि कल्पना गर्न सक्दैन उहाको भनाई थियो ।
इष्टुले तलब नपाएको झोकमा दशैपछि सबै विद्यालय बन्द गर्ने र पढाई ठप्प पाने चेतावनी दिएको छ । अध्यक्ष थापाले भन्नुभयो–पहिलो चरणमा श्रम कार्यालय जान्छौ, त्यसपछि पढाई बन्द गछौं । केहीदिन अघि मोरङ र झापाका शिक्षकले श्रम कार्यालयमा आरोपपत्र दर्ता गराइसकेका छन ।

मोरङ कार्यालयले तत्काल तलब र दशैं पेश्की दिन निर्देशन दिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । करिब १ लाख ५० हजार शिक्षक कर्मचारी मध्य सबैले पुरै तलब पाएका छैनन् । आधाजति शिक्षक कर्मचारी त खाली हात फर्केका छन् । एकाध विद्यालयले ५० प्रतिशत तलब र दशैँ पेश्की दिएको थापाको भनाई छ ।

प्याब्सनका अध्यक्ष पुरी र महासचिव कुमार घिमिरेले मंगलबार विज्ञप्ति जारी गरी यो अवस्थामा शिक्षक र कर्मचारीलाई यथाशक्य तलब उपलब्ध गराउन सबै सदस्य विद्यालयहरुलाई आग्रह गरेका थिए ।

यस कठिन परिस्थितिलाई सकारात्मक दिशातर्पm उन्मुख गराउन इस्टु लगायत सबै सरोकारवालासँग थप सर–सल्लाह र छलफलगरी विद्यालयको अवस्थालाई पनि अध्ययन गर्दै निकास निकाल्ने प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछौं विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्