चेन्नई प्लेअफमा पुग्न कठिन बन्दै



दुबई, (एजेन्सी)

जारी सिजनको आईपीएलमा चेन्नई सुपर किंग्सको शीर्ष चारमा रहेर प्लेअफ खेल्ने आशा लगातार कमजोर बन्दै गएको छ।

सोमबार राति अबुधाबीमा भएको खेलमा चेन्नईलाई राजस्थान रोयल्सले ७ विकेटले हराएको हो। महेन्द्रसिंह धोनीको टिमले मात्र १ सय २६ रनको सहज लक्ष्य तेर्साएको थियो। जवाफमा राजस्थानले १७ दशमलव ३ ओभरमा ३ विकेटको नोक्सानीमा उक्त लक्ष्य हासिल गरेको थियो। राजस्थान यो जितसँगै ८ अंकसहित अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ। तर, चेन्नईका लागि भने ७ हार व्यहोरेर प्लेअफको यात्रा कठिन बनेको छ। टिम ६ अंकसहित अन्तिम स्थानमा रहेको छ।

राजस्थानको जितमा जोस बटलरले अर्धशतक लगाएका थिए। ४८ बलमा ७० रन बनाएका उनको यो आईपीएलमा ११औं अर्धशतक हो। उनले चौथो विकेटका लागि स्टिभ स्मिथसँग अटुट ९८ रनको साझेदारी गरेका थिए। दुवैले अन्तिम ५ ओभरमा ४५ रन बनाएर टिमलाई जित दिलाए। स्मिथ २६ रनमा नटआउट रहे। चेन्नईका दीपक चहरले २ विकेट लिए भने जोस हेजलउडले १ विकेट हासिल गरेका थिए।

राजस्थानको शुरुआती ठीकसँग भएको थिएन। बेन स्टोक्स र रोबिन उथप्पाले यस खेलमा केही खास प्रदर्शन गर्न सकेनन्। स्टोक्स १९ रनमा चहरको बलमा बोल्ड भए भने उथप्पा ४ रनमै हेजलउडको बलमा आउट भएका थिए। २ विकेट पतन हुँदा राजस्थानको स्कोर २८ थियो।

सन्जु सेमसन पनि ३ बल खेलेर आउट हुँदा टिमलाई अर्को ठूलो झट्का लागेको छ। उनलाई चहरले खातासमेत खोल्न दिएनन्। उनको क्याच धोनीले लिएका थिए। यसअघि जोस बटलर र स्टिभ स्मिथले सानदार ब्याटिङ गरेर चेन्नईलाई खेलमा फर्कने कुनै मौका दिएनन्।
यसअघि चेन्नईले ५ विकेटको नोक्सानीमा १ सय २५ रन बनाएको थियो। टिमका लागि रवीन्द्र जडेजाले नटआउट रहँदै सर्वाधिक ३५ रन जोडे। अन्यमा कप्तान धोनीले २८ रन र साम करनले २२ रन योगदान दिएका थिए। टिमको तर्फबाट एक मात्र छक्का प्रहार भएको थियो, जुन सामले गरेका थिए।

अन्य ब्याट्सम्यानले भने निराश खेल खेल्दा चेन्नईले १ सय ३० रन पनि कटाउन सकेन। ओपनरद्वय फाफ डु प्लेसिस १० रन र सेन वाटसन ८ रनमै आउट भएका थिए। राजस्थानको बलरमा जोप आर्चर, कार्तिक त्यागी, श्रेयस गोपाल र राहुल तेवतियाले समान एक÷एक विकेट लिए।

धोनीको तीन कीर्तिमान

राजस्थान रोयल्ससँग हारे पनि चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीले आफ्नो नाममा तीन कीर्तिमान लेखाएका छन्। उनले आईपीएलमा २ सय खेल खेल्ने पहिलो खेलाडी बन्ने कीर्तिमान रचे। त्यस्तै, चेन्नईका लागि ४ हजार रन पूरा गरेर कीर्तिमान राखेका उनी आईपीएलमा १ सय ५० क्याच लिने विकेटकिपर पनि बनेका छन्।

प्रतिक्रिया दिनुहोस्