हाइड्रोपावर कम्पनीप्रति लगानीकर्ताको आकर्षण



नेपाल समाचारपत्र, काठमाडौैं । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लगातार दोस्रो दिन पनि दोहोरो अंकले वृद्धि भएको छ । मंगलबार शेयर बजारमा लगानीकर्ताहरू हाइड्रोपावर कम्पनीप्रति आकर्षित भएका छन् ।

पछिल्ला केही दिन यता हाइड्रोमा लगानीकर्ता आकर्षित हुने क्रम जारी छ । नेप्सेका अनुसार साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक १३ दशमलव २२ अंकले बढेर १५८३ दशमलव ६० बिन्दुमा पुगेको छ । सोमबार पनि नेप्से दोहोरो अंकले बढेको थियो ।

कुल १९३ वटा कम्पनीको ५० लाख २४ हजार कित्ता शेयर १ अर्ब २७ करोड १८ लाख रुपियाँभन्दा बढीमा कारोबार भएको छ । नेप्सेसँगै मंगलबार कारोबार रकममा पनि वृद्धि भएको छ । साथै सेन्सेटिभ परिसूचक पनि २ दशमलव ६५ अंकले वृद्धि भई ३१३ दशमलव ५५ बिन्दुमा पुगेको छ । मंगलबार कारोबार भएका १२ वटै समूहको सूचकमा वृद्धि भएको छ । जसमध्ये बैंकिङ समूह ७ दशमलव ७४, व्यापार समूह २ दशमलव ९६, होटल समूह १९ दशमलव २७, विकास बैंक समूह २२ दशमलव १९ अंकले बढेको छ । त्यस्तै जलविद्युुत् समूह २७ दशमलव ७२, वित्त समूह ८ दशमलव ६, निर्जीवन बीमा समूह ५५ दशमलव ७६, उत्पादन समूह २५ दशमलव ३६, अन्य समूह ११ दशमलव ४, लघुवित्त समूह १६ दशमलव ४४, जीवन बीमा समूह ७८ दशमलव १२ र सामूहिक लगानी कोष समूह शून्य दशमलव ११ अंकले वृद्धि भएको छ ।

त्यस्तै कारोबार रकमका आधारमा अरुण काबेली पावर कम्पनी अगाडि रहेको छ । सो कम्पनीको ९ करोड रुपियाँभन्दा बढीको कारोबार भएको छ । अपि पावर कम्पनीको ७ करोड ७४ लाख, एचआइडीसीएलको ६ करोड दुई लाख, नागरिक लगानी कोष्को ४ करोड एक लाख, हिमाल दोलखा हाइड्रोपावर ३ करोड ४३ लाख, शिखर इन्स्योरेन्स कम्पनीको दुई करोड ७९ लाख र कुमारी बैंकको २ करोड ६८ लाख रुपियाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

यसैगरी मंगलबारको कारोबारका आधारमा जनरल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९दशमलव ९१ प्रतिशतले बढेको छ । त्यस्तै माउन्टेन हाइड्रोको शेयर मूल्य ९दशमलव ६६ प्रतिशत, हिमाल दोलखा हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ६० प्रतिशत, जोशी हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ४० प्रतिशत, घलेम्दी हाइड्रोको शेयर मूल्य ८ दशमलव ८७, अपि पावर कम्पनीको शेयर मूल्य ७ दशमलव ३२ र ङादी पावरकोे शेयर मूल्य ७ दशमलव २५ प्रतिशतले वृद्धिभएको छ । तर, यस दिन नेपाल फाइनान्स, रिलायन्स फाइनान्स, मुक्तिनाथ विकास बैंकलगायतका कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्