गर्भवतीहरुको कहाली लाग्दो अवस्था



  • मञ्जु भट्ट

सुत्केरी हुन भन्दै महाराजगन्जमा रहेको त्रिभुवन शिक्षण अस्पतालमा भर्ना भइयो । यसभन्दा अघि पहिलो सन्तान शल्यक्रियामार्फत जन्माएको हुँदा डाक्टरहरु पनि बढी नै सचेत थिए । आफ्ना वरिपरि सुत्केरी व्यथाले छटपटाएर रोइकराइ गरिरहेका गर्भवतीका पीडासँगै सहनै नसकिने आफ्नै पीडाले बेहोस हुन्छु कि जस्तै लागिरहेको थियो । वरिपरि डाक्टरहरु भए पनि आफूलाई केही भइहाल्यो भने ५ वर्षकी छोरीको के हालत होला भन्ने चिन्ता लागिरहेको थियो । कुरा ६ वर्षअगाडिको भए पनि अहिलेसम्म मेरो मनबाट हट्न सकेको छैन । यसै पनि गर्भवती र सुत्केरी जोखिमपूर्ण र संवेदनशील अवस्था हुन् । खान, बस्न, उठ्न, सुत्न, हिँड्न अप्ठेरो हुने यस्तो अवस्थामा सबैको माया र साथको एकदमै जरुरत हुन्छ । एउटा ज्यानभित्र अर्को ज्यान पालिरहेको अवस्थामा यदि समयमा उपचार पाउन सकिएन भने जे पनि हुन सक्ने डाक्टरदेखि साधारण मानिससम्मले बुझेका हुन्छन् ।
छोरीको रुपमा जन्म लिइसकेपछि उमेर बढ्दै जाँदा उनले भविष्यका धेरै सपना देखिसकेकी हुन्छिन् । ती सपनाहरुमध्ये उमेर पुगेसँगै राम्रो परिवारमा आफूले मन पराएको केटासँग बिहे गर्न पाउनु एउटा चेलीको ठूलो सपनाभित्र पर्दछ । बिहे भइसकेपछि उनले त्यो भन्दा पनि महत्वपूर्ण संसार चलाउने, वंश धान्ने सन्तानको सपना देख्न थाल्छिन् । हाम्रो समाजमा बिहे भइसकेपछि सन्तानको रहर नगर्ने कमै जोडी होलान् । श्रीमान्–श्रीमती र सपरिवार नै मिलेर देखेको यो सपना गर्भवती महिला अस्पतालमा पुगेर पनि उपचारको अभावमा वा अस्पतालले उपचार नै नगरी बिरामी फर्काउँदा वा अस्पताल लग्दै गर्दा बाटोमा नै मृत्युवरण गर्न पुगिन् भने त्यो पीडा कस्तो हुन्छ होला ! भोग्नेलाई मात्रै थाहा हुन्छ ।
अरु बेला पनि दुर्गमका गर्भवती तथा सुत्केरी महिलाले स्वास्थ्यसंस्था तथा सुविधासम्पन्न अस्पतालको अभावमा ज्यान गुमाउँदै नआएका भने होइनन् । यद्यपि हेलिकप्टरको प्रयोग हुन थालेदेखि अकालमै मृत्युवरण गर्ने अवस्थामा पुगेका धेरै महिलाको भने ज्यान जोगिन पुगेको छ । तर अहिले आएर चीनको वुहानबाट शुरु भएको कोभिड–१९ को महामारीले नेपालका सुगम तथा दुर्गमका सुत्केरी तथा गर्भवती महिलाहरुसम्मलाई छोडेन ।
घटना–१, सुत्केरी व्यथा लागेपछि विराटनगर महानगरपालिका–६, सुकुम्बासी टोलकी ३० वर्षीया विमला ऋषिदेवलाई विराटनगरमा रहेको सरकारी कोशी अस्पताल लगियो । सरकारी अस्पतालले नै तेस्रो पटक शल्यक्रिया गर्न नमिल्ने र बेडसमेत खालि नभएको कारण देखाउँदै ढोकाबाटै फर्काइदियो । उनका श्रीमान्ले घर फर्काएर निजी अस्पताल लग्न पैसाको जोहो गर्दागर्दै व्यथाले छटपटाएकी उनले पेटमा रहेको बच्चासहित भदौ २५ गते घरमै प्राणत्याग गरिन् । सजिलै ज्यान जोगाउन सकिने भए पनि अस्पताल पुगेरसमेत अस्पतालको चरम लापरबाहीको कारण दुईजनाले ज्यान गुमाए ।
घटना–२, शौचालयमा लडेर घाइते भएकी मोरङकी सात महिनाकी २३ वर्षीया गर्भवती सविना थापाको पनि अस्पतालले बेवास्ता गर्दा ज्यान गयो । उपचार होला भन्ने आशामा रातभरि नोवेल, विराट, शिक्षण, विराट नर्सिङ होम, ग्रिनक्रस, कोशी तथा सुरक्षालगायतका सातवटा अस्पताल डुलाउँदा पनि कुनै अस्पतालले भर्ना गर्न मानेनन् । उपचार गर्न नमान्नुको मुख्य कारण आईसीयु तथा भेन्टिलेटर खालि नहुनु र कोराना लागेको हुनसक्ने त्रास भएको भनिएको पीडित पक्षको गुनासो थियो । रातभरि पीडाले छटपटाएकी उनले समयमा उपचार नपाउँदा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहानै प्राण त्यागिन् ।
घटना–३, प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य अवस्थामा सुत्केरी भएकी दैलेखकी २३ वर्षीया पार्वती शाहीको अत्यधिक रक्तश्राव हुँदा ज्यान गयो । स्वास्थ्य केन्द्रका अनुसार आवश्यक स्वास्थ्य सामग्री र डाक्टर नहुनु यो घटना हुनुको मुख्य कारण हो भने पीडित पक्षका अनुसार स्वास्थ्य केन्द्रले समयमै रिफर नगरिदिँदा नवजात शिशुले आमाको दूध खान पाएन ।
घटना–४, जेठ महिनामा संखुवासभाबाट हेलिकप्टरमा काठमाडौं ल्याइएकी सुत्केरीको प्रसूति गृहमा समेत भेन्टिलेटर नहुँदा मृत्यु हुन पुग्यो । भेन्टिलेटरसहितको न्युरोसम्बन्धी उपचार आवश्यक रहेकी उनको पाटन, वीर तथा टिचिङ अस्पतालले समेत भर्ना लिन नमान्दा अनाहकमा ज्यान गयो ।
घटना–५, ६ महिनाको गर्भ खेर गएपछि अत्यधिक रक्तश्रावका कारण बर्दिया जिल्ला गुलरिया नगरपालिका–५ की ३२ वर्षीया गुड्डी पालको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकले नेपालगन्ज रेफर गरेका थिए । नेपालगन्ज जान एम्बुलेन्स खर्च २ हजार तिर्न नसक्दा अस्पतालबाट घर फर्काइएकी उनको घरमै मृत्यु भयो ।
यी त केही प्रतिनिधि घटना मात्र हुन् । समाचार बन्न नसकेका दुर्गमका कुनाकाप्चामा यस्तै दर्दनाक कैयौं घटनाहरु लुकेका होलान् । नेपालमा चैत ११ गतेदेखि शुरु भएको लकडाउनको ५ महिनामा देशभर ७३ जना सुत्केरीको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङ कार्यक्रममा स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा मातृ तथा नवजात शिशु शाखा विभाग प्रमुखले जानकारी दिनुभएको थियो ।
नेपालमा प्रत्येक वर्ष करिब ४ लाख महिलाहरु गर्भवती हुन्छन् । जसमध्ये करिब ६ हजार महिलाहरुले अहिले पनि घरमै बच्चा जन्माउने गरेको अध्ययनले देखाएको छ । वि.सं. २०७५ को चैतमा मातृमृत्युदर शून्य थियो भने गतवर्षको चैतमा १ लाख जीवित शिशु जन्मिदा ५३ जना गर्भवती तथा सुत्केरी महिलाले ज्यान गुमाए । सरकारी तथ्याङ्कअनुसार कोभिड–१९ ले सृजना गरेको महामारीका डरले अस्पताल नजाँदा, जान खोजे पनि यातायातको समस्या, आर्थिक समस्यालगायतका कारणले गर्भवती महिलाहरुले शिशुलाई घरमै जन्म दिँदा जोखिम बढेको छ । अस्पताल पुगिसकेका गर्भवती, सुत्केरीहरुलाई पनि उपचार नगरी फर्काइदिँदा मातृ मृत्यदरमा वृद्धि भइरहेको छ । यी विभिन्न कारणहरुले लकडाउनको समयमा मातृ मृत्युदर बढेर २ सय प्रतिशतसम्म पुगेको जनाइएको छ ।
सन् २०१६ मा जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण नेपालले दिएको एउटा तथ्याङ्कअनुसार १ लाख जीवित शिशु जन्मिदा मातृमृत्युदर २३९ थियो भने सन् २०११ मा यो दर २५८ थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पञ्चवर्षीय रणनीतिअनुसार सन् २०२१ सम्म मातृमृत्युदर प्रति १ लाखमा ९९ जनामा झार्ने रद्देश्य रहेको छ । तर गर्भवती महिलाहरुमा कोभिड–१९ ले सृजना गरेको भयका कारण यो उद्देश्य पूरा गर्न सरकारसमक्ष कडा चुनौती थपिएको छ ।
राजधानीको मुटुमा रहेका सबैभन्दा ठूला र पुराना सरकारी अस्पतालहरुमा बिरामीको लागि आवश्यक पर्ने भेन्टिलेटरसहितको उपचार सम्भव नहुनु विडम्बना हो । यही उपचार निजी अस्पतालहरुमा भने सजिलै पाइन्छ । सरकारी अस्पतालहरुमा गरिब तथा दुर्गमका नागरिकहरुका लागि निःशुल्क शय्याको व्यवस्था भइसकेको सरकारले भनिरहेको हुन्छ । तिनै जनता आर्थिक अवस्था दयनीय हुँदा एउटा सरकारी अस्पतालमा उपचार सम्भव नभएपछि अर्को सरकारी अस्पतालमा जानको लागि २ हजार भाडा तिर्न नसक्दा मृत्यु रोज्न बाध्य भएका छन् । सरकारले यस्ता केही प्रतिशत गरिबहरुको लागि मात्र पनि निःशुल्क एम्बुलेन्स सेवा दिन सकेको छैन । सरकारी अस्पतालहरुमा सर्वसुलभ चेकजाँच, औषधि उपचार तथा उपकरणको अभाव रहेको जनताले भोगेकै हो । महामारीको बेलामा सरकारी अस्पतालका डाक्टरहरुले नै सुत्केरी, गर्भवतीजस्ता अति संवेदनशील बिरामीको उपचार गर्न नमान्नु दुःखद हो । आईसीयु, भेन्टिलेटरको अभाव मात्रै होइन बेला–बेलामा सिटामोल, जीवनजलसम्मको अभावसमेत जनताले झेल्दै आएका छन् ।
केही दिनअघि मेरै घर अछाममा ३ वर्षीया भतिजीको लडेर हात भाँचियो । साधारण मलहमपट्टीबाहेक नजिकै एक्सरे गरेर भाँचिएको ठाउँ पत्ता लगाउन सक्ने कुनै अस्पताल छैन । घरबाट बिहानै निस्केर झन्डै ५ घण्टा पैदल र २ घण्टा गाडीमा गरेर आफन्तहरु बयलपाटा अस्पताल पुग्नुभयो । घर फर्किन ढिलो भएकोले राति त्यहीँ बस्नुप¥यो । अर्को दिनको बेलुकी मात्र घर पुग्नुभयो । तीन हप्तापछि प्लास्टर खोल्न डाक्टरले बोलाएका थिए । तर त्यतिखेर अस्पतालका कर्मचारीलाई कोरोना देखिएका कारण अस्पताल सिल गरिएको थियो । जसका कारण जोखिम मोलेरै भए पनि छोरीको प्लास्टर घरमै खोल्नुप¥यो ।
यसै गरी गतवर्ष ससुरा बिरामी पर्नुभयो । उहाँलाई सुख्खा खोकी लाग्ने र लामो समयदेखि हातखुट्टा सुन्निएका थिए । वृद्ध उहाँलाई नजिक अस्पतालको अभावमा डोकोमा हालेर टाढाको अस्पतालमा लग्न सकिएन । उपचार अभावका कारण लामो समयपछि उहाँको घरमै निधन भयो । आपतकालीन सेवाको अभावमा कतिपय बिरामीले अस्पतालको मुखै नदेखी प्राण त्याग्नुपरेको तीतो सत्य अहिले पनि हाम्रा सामु छ । दुर्गमका सुत्केरी, गर्भवती महिलाले उपचारको अभावमा ज्यान गुमाउनुलाई उनीहरुको नियतिजस्तै ठानिन्छ । दुर्गमका जनताले नजिकै अस्पताल नभएका कारण समयमा उपचार नपाउनुलाई उनीहरुले भाग्यमा त्यही नै लेखेर ल्याएको थियो जस्तो व्यवहार गरिन्छ अहिले पनि ।
यस्ता विकट ठाउँहरुमा सर्वसुलभ तथा सुविधासम्पन्न अस्पताल खोलिनुपर्छ भन्दै १९ औं पटक अनशन बस्नुभएका डा. गोविन्द केसीको मागलाई शहरका सुविधा सम्पन्न, २४ सै घण्टा डाक्टरको निगरानीमा बस्ने तथा घरमै अस्पताल खोल्नेहरुबाट निरन्तर बेवास्ता गरिँदै आएको छ । केही दिनअघि मात्र सुदुर पश्चिम प्रदेशमा पर्ने कञ्चनपुरको महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अस्पतालमा एउटा आईसीयु सञ्चालन हुँदा देशव्यापी समाचार बनेको देख्दा अनौठो लाग्यो । अझै पनि आईसीयु चलाउन सक्ने दक्ष डाक्रहरुको कमी रहेको अस्पतालले जनाइरहेको छ । जबकि अहिलेभन्दा झन्डै ४७ वर्षअगाडि नै नेपालको सबैभन्दा पुरानो वीर अस्पतालमा तत्कालीन राजा महेन्द्रको मृत्युको केही समयपछि सन् १९७३ मा आईसीयु जडान भइसकेको थियो ।
यसपालिको कोरोना भाइरसको महामारीले नेपाल सरकारका तर्फबाट स्वास्थ्य क्षेत्रमा भएको अहिलेसम्मको प्रगतिलाई सबैसामु छर्लङ्ग पारिदिएको छ । अब भने सरकारले बर्सेनि नयाँ गाडी किन्ने, चिया, भ्रमण, सेमिनार, गोष्ठीका नाममा हुने अनावश्यक खर्चहरु कटौती गरेर स्वास्थ्य क्षेत्रमा खर्च गर्न सक्यो भने मात्र आफ्ना नागरिकको अकालमा हुने मृत्युलाई कम गर्न सकिन्छ ।
(लेखिका भट्ट शिक्षिका हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्