सम्झौता अवधिभित्रै कालोपत्रे



दुर्गाप्रसाद शर्मा, पर्वत
कोरोना महामारीको कारण देखाएर धेरै राष्ट्रिय गौरवका आयोजनाको काम अलपत्र पारिएको छ । तर, काम गर्ने इच्छाशक्ति र व्यवस्थापन पक्ष मिलाउन सक्ने हो भने सबैभन्दा कठिन भूगोल र समयमा पनि सम्झौता अवधिमै काम सम्पन्न गर्न सकिन्छ । यस्तै उदाहरण हो मध्यपहाडी लोकमार्गको लुम्ले खण्ड ।
लुम्ले खण्डमा कोरोना महामारीका बीचमा पनि काम सम्झौता अवधिमा नै सकिएको छ । लोकमार्गको पोखरा–बागलुङ सडकको स्तरोउन्नतीको काममध्ये भूगोल, मौसम र निर्माण सामग्रीका कारण सबैभन्दा कठिन मानिएकोे लुम्ले खण्डमा सम्झौता अवधिमा काम सम्पन्न भएको हो । यो खण्डमा २५ दशमलव २ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । घाम नपर्ने, निर्माण सामग्री अन्य क्षेत्रमै खोज्नुपर्ने बाध्यता समेत यो खण्डमा थियो ।
मध्यपहाडी लोकमार्गको अधिकांश स्थानमा सडक कालोपत्रे कोरोना महामारीका कारण सम्पन्न हुन नसके पनि लुम्ले खण्डमा भने कोरोना महामारीमा नै १३ किलोमिटर सडक कालोत्रपे गरिएको छ । ‘कोरोना महामारीका बीचमा पनि तोकिएकै समयमा कालोपत्रेको काम सम्पन्न भएको छ ।’ मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापा मगरले भन्नुभयो–‘मध्यपहाडीको पोखरा–बागलुङ खण्डमा सबैभन्दा कठिन मानिएको खण्डमा नै समय काम सक्नु ठूलो उपलब्धि हो ।’
नेपालको चेरापुन्जी भनिने लुम्लेखण्ड नेपालमा नै सबैभन्दा बढी पानी पर्ने ठाउँ पनि हो । यस्तो ठाउँ सधैं ओसिलो हुने, पहिरो जाने, सडकमै मुल फुट्ने मात्रै होइन यो क्षेत्रमा सडक खण्डमा निर्माण सामग्रीको पनि सबैभन्दा बढी अभाव थियो । निर्माण व्यवसायी एपेक्स कन्स्ट्रक्सन कम्पनीले गएको भदौमा कालोपत्रे गरिसक्नुपर्ने काम असोजको अन्तिम सातामा पूरा गरेको छ । कम्पनीले गएको चैतसम्म २५ किलोमिटरमध्ये १२ किलोमिटर कालोपत्रे सकेको थियो भने लकडाउनमा पनि १३ किलोमिटर सडक कालोपत्रे सम्पन्न गरेको छ । भदौ यता मात्रै ३ किलोमिटर काम सम्पन्न गरिएको बोहोराले बताउनुभयो । अब सडककमा रङरोगन गर्ने र वर्षाले क्षति पु¥याएको क्षेत्रमा सामान्य मर्मत मात्रै गर्न बाँकी छ । ‘लकडाउनमा कामदार पठाउन नपरेको भए असारमै सबै काम सकिन्थ्यो।’ निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर काशीराज बोहराले भन्नुभयो–‘मौसम, निर्माण सामग्री र कोरोना कहरका बीचमा पनि सम्झौता अवधिमा नै काम सकेका छौं।’
मध्यपहाडी लोकमार्गकै पर्वत खण्ड र हेम्जा खण्ड पनि यही अवधिमा सम्पन्न हुनुपर्ने थियो । तर, ती खण्डमा ६० प्रतिशतभन्दा माथि मात्रै काम भएको छ । तुलनात्मक रुपमा यी खण्डमा काम गर्न सजिलो थियो तर निर्माण कार्य प्रभावित बन्न पुग्यो । बागलुङको घोडाबाँधे लगायतका खण्ड पनि अलपत्र छन् । अझै मध्यपहाडी लोकमार्गमा गएको आर्थिक बर्षमा तीन सय किलोमिटर कालोपत्रको लक्ष्य लिइएकामा ११३ किलोमिटर सडकमा कालोपत्र भएको थियो ।
मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ खण्डलाई नयाँ स्वरुपमा ढाल्ने गरी मर्मत गरिरहेको छ । लोकमार्ग पूरै नयाँ स्वरुपमा बिस्तार र स्तरोन्नती गर्न चारवटा प्याकेज बनाएर काम भइरहेको छ । २०५० सालमा निर्माण सम्पन्न भएको सडकका धेरै खण्ड भत्किएर सवारी चलाउन कठिन हुँदै गएको थियो भने सवारी साधनको चाप बढेका कारण साँघुरो सडकमा ठाउँमा जाम र जोखिमसमेत हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्