सगरमाथा हाइड्रोमा स्थानीयको अवोध



गणेश घिमिरे, इलाम
वातावरणमा असर पर्ने गरी काम भएको भन्दै स्थानीयले माईखोलामा निर्माणधीन सुपरमाई–ए जलविद्युत् आयोजनाको काम ठप्प पारेका छन् । सन्दकपुर र माईजोगमाई गाउँपालिकाको बीच भएर बग्ने माइखोलामा सगरमाथा हाइड्रोपावर प्रालि प्रवद्र्धक भई सुपरमाई–ए जलविद्युत् आयोजना निर्माण हुँदैछ ।
आयोजनाले इङला र समाहा खोलाको पानी माईखोलामा मिसाउन खोजेको भन्दै स्थानीयले संघर्ष समिति नै बनाएर आन्दोलन गर्दै आएका थिए । आन्दोलनका क्रममा उनीहरुले आयोजनास्थलमा कालो झन्डा गाडेर निषेधित क्षेत्र घोषणा गर्दै कोणसभा गरेर चेतावनी दिइएको संघर्ष समितिका सहसचिव प्रकाश भट्टराईले बताउनुभयो । स्थानीयसँग समन्वय नगरी आयोजनाले पर्यावरणमा असर पर्ने गरी दुई खोलाको पानी प्रयोग गरेको संघर्ष समितिको दाबी छ । समितिले केही दिनअघि मात्र आयोजनाको काम रोक्न चेतावनी दिएको थियो । तर, निर्माणक्रम जारी नै रहेपछि आफूहरू ‘आयोजनाले स्थानीयलाई हेपेर कानुनी प्रक्रिया नै नपु¥याइ काम गरिरहेकाले आयोजनाविरुद्ध आन्दोलन गर्न बाध्य भएको बताएका छन् । सन्दकपुर र माइजोगमाई गाउँपालिकाका वडाहरूले पनि कसैलाई थाहै नदिई आयोजना निर्माणका लागि खोला प्रयोग गर्न अनुमति दिएको समितिले जनाएको छ । समाहा र इङ्ला खोला प्रयोग गर्ने प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन नै नगरिएको र आयोजनाको विद्युत् खरिद सम्झौतासमेत आफूहरूलाई नदेखाइएको संघर्ष समितिले जनाउँदै आएको छ ।
सन्दकपुर गाउँपालिकाका प्रवक्ता गिरिराजमणि खनालले गाउँपालिकाले सुपरमाई–ए जलविद्युत् आयोजनालाई कुनै अनुमति नदिएको बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचन अघि नै तत्कालीन गाउँ विकास समितिले दिएको अनुमति अनुसार आयोजनाले काम गरिरहेको खनालले स्पष्ट पार्नुभयो । ९ दशमलव ६ मेगावाटको सुपरमाई–ए आयोजनाले केही महिनाअघि उत्पादन थालिसकेको छ । त्यही आयोजनामा समाहा र इङ्ला खोला मिसाउन लागिएपछि स्थानीय आक्रोशित भएका हुन् । सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गर्नुपर्ने १ करोड २७ लाख रुपियाँ स्थानीय सरकारमार्फत् वितरण गरेको आयोजनाले जनाएको छ । आयोजना प्रवद्र्धक सगरमाथा हाइड्रो पावर प्रालिले आयोजनाको जिम्मेवारीमा परेको रकम स्थानीय जनप्रतिनिधिले आ–आफ्नो क्षेत्रका लागि खर्चको बाँडफाँडसमेत गरी काम गरिसकेको बताउँदै आएको छ । आयोजनासँग इलाम नगरपालिकाको वडा २, माइजोगमाई गाउँपालिकाको वडा ६ तथा सन्दकपुर गाउँपालिकाका ३ र ५ नम्बर वडा जोडिएका छन् । १ अर्ब ७९ करोड रुपियाँ लागतमा आयोजना निर्माणाधिन अवस्थामा रहेको छ । आयोजनाबाट वार्षिक ५६ दशमलव ४६ गिगावाट÷आवर विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्