बुफोनले खेले ६ सय ५० म्याच



लन्डन, (एजेन्सी)
इटालियन ‘सिरी ए’ क्लब युभेन्ट्सका भेट्रान गोलकिपर जियानुइजी बुफोनले इटालियन ‘सिरी ए’ लिगमा ६ सय ५०औं म्याच खेलेका छन्।
योसँगै उनले इटालियन ‘सिरी ए’ मा सबैभन्दा धेरै म्याच खेलेर रेकर्ड बनाएका छन्। शनिबार राति युभेन्ट्सले क्रोटोनेविरुद्ध खेल्दा उनले आफ्नो करिअरमा ६ सय ५०औं ‘सिरी ए’ लिग म्याच पूरा गरेका हुन्।
योसँगै ‘सिरी ए’ लिगमा ६ सय ५० म्याच खेल्ने बुफोन एक मात्रै खेलाडी बनेका छन्। शनिबार रातिको खेलअघि उनैको नाममा इटालियन शीर्ष लिगमा ६ सय ४९ म्याच खेल्ने रेकर्ड थियो। यसअघि, इटालियन लिगमा सर्वाधिक खेलको रेकर्ड पाओलो माल्दिनीका नाममा थियो। उनले आफ्नो पूरै करिअर एसी मिलानमा बिताउने क्रममा ‘सिरी ए’ लिगमा कुल ६ सय ४७ म्याच खेलेका थिए।
यससँगै बुफोनले आफ्नो व्यावसायिक करिअरमा २४औं सिजन पनि पूरा गरेका छन्। बुफोनले हालसम्म आफ्नो करिअरमा कुल ९ सय १७ व्यावसायिक म्याच खेलेका छन्। ४२ वर्षीय बुफोनको क्लबसँग सिजन २०२० र २१ को अन्त्यसम्मका लागि सम्झौता रहेको छ। बुफोनले सन् १९९५ मा ‘सिरी ए’ क्लब पार्माबाट लिगमा पहिलोपटक डेब्यू गरेका थिए। पार्मापछि उनी सन् २००१ मा युभेन्ट्समा अनुबन्ध भएका थिए।

प्रतिक्रिया दिनुहोस्