आईपीएलमा एकै दिन तीन सुपर ओभर



नयाँदिल्ली, (एजेन्सी) ।

इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमा पहिलोपटक एकै दिन तीन सुपर ओभर खेलिएका छन्। जारी आईपीएलअन्तर्गत आइतबार दुईवटा खेल भए, जसमा तीन नतिजा सुपर ओभरमा निस्केको थियो। दुबईमा जारी १३आंै संस्करणको आईपीएलअन्तर्गत ३५औं खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई सुपर ओभरमा हराएको छ।

यस्तै, सोही दिन जारी आईपीएलको ३६औं खेलमा किंग्स इलेभेन पन्जाब र मुम्बई इन्डियन्सले डबल सुपर ओभर खेलेका थिए। निकै रोमाञ्चक खेल सावित भएको उक्त खेल किंग्स पन्जाबले जितेको छ। यी दुवै टिमको १ सय ७६ स्कोर टाइ भएपछि सुपर ओभर खेलिएका थिए। पहिलो सुपर ओभरमा दुवै टिमले ५–५ रन बनाएपछि दोस्रो सुपर ओभर भएको थियो।

दोस्रो सुपर ओभरमा मुम्बईले पन्जाबलाई १२ रनको लक्ष्य दिएको थियो, जसमा पन्जाबले ४ बलमै जित हासिल ग¥यो। पन्जाबका लागि क्रिस गेलले पहिलो बलमै छक्का प्रहार गरेर सानदार शुरुआत दिलाए। मुम्बईका बलर टे«न्ट बोल्टको अर्को दुई बलमा मायन्क अग्रवालले लगातार दुई चौका प्रहार गरेर पन्जाबलाई रोमाञ्चक जित दिलाएका थिए।

आईपीएलको इतिहासमा सुपर ओभर पनि टाइ भएको यो दोस्रोपटक हो। यसअघि २०१४ मा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबीचको खेल सुपर ओभर टाइ भएको थियो। तर, त्यतिबेला नतिजा दुवै टिमको बाउन्ड्री गणना गरेर निकालेको थियो। राजस्थानले बाउन्ड्री गणनामा कोलकातालाई हराएको थियो। त्यही सिजनमा पहिलोपटक चार सुपर ओभर भएको थियो। यसअघि २०१३ र २०१९ मा दुई÷दुई सुपर ओभरमा नतिजा निकालेको थियो।

यस सिजनमा चारवटा सुपर ओभर खेल भएका छन्। पहिलो सुपर ओभर खेल दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पन्जाबबीच भएको थियो। यसको नतिजा दिल्लीले आफ्नोतिर ढल्काएको थियो। त्यस्तै, रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इन्डियन्सबीचको खेल सुपर ओभर भएको दोस्रो खेल थियो। यो खेलको नतिजा बैंगलोरतिर गएको थियो। यसपछि आइतबार हैदराबाद र कोलकाता तथा मुम्बई र पन्जाबबीचको खेल सुपर ओभरमा पुगेको थियो।

किंग्स पन्जाब सुपर ओभरको किङ
आईपीएलमा हालसम्म १४ सुपर ओभर खेल भएका छन्। जसमा एउटै खेलमा दुईपटक सुपर ओभर भएको पनि सामेल छ। ८ पटक पछि ब्याटिङ गर्ने टिमले जितेको छ भने ५ पटक पहिले ब्याटिङ गर्नेले जितेको छ। कोलकाता नाइट राइडर्स, किंग्स इलेभेन पन्जाब र मुम्बई इन्डियन्सले हालसम्म सबैभन्दा बढी ४÷४ पटक सुपर ओभर खेलेका छन्।

किंग्स पन्जाबले तीनपटक सुपर ओभरमा जितेर आफूलाई सुपर ओभरको किंग नै सावित गरेको छ। त्यही मुम्बईले २ पटक र कोलकाताले एकपटक सुपर ओभरमा जित हात पारेका छन्। त्यस्तै, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स, मुम्बई रोयल च्यालेन्जर्स बैंगलोर र हैदराबादले ३÷३ पटक सुपर ओभर खेलेका छन्।

सुपर ओभरमा कीर्तिमान
सुपर ओभरमा सबैभन्दा बढी २० रन बनाएको कीर्तिमान सनराइजर्स हैदराबादको नाममा छ। यो २०१३ मा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध बनाएको थियो। २० मा १७ रन क्यामरुन वाइटले बनाएका हुन्। सुपर ओभरमा बैंगलोरबाट विनय कुमारले बलिङ गरेका थिए।

सुपर ओभरमा सबैभन्दा बढी रन पछ्याउने कीर्तिमान राजस्थान रोयल्सको नाममा छ। २००९ मा राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सको खेल टाइ भएपछि सुपर ओभरमा पुगेको थियो। कोलकाताले पहिले ब्याटिङ गरेर १६ रन जोडेको हो। जवाफमा राजस्थानले १८ रन बनाएर खेल जितेको थियो। युसुफ पठान एक्लैले १८ रन बनाएका थिए।

त्यस्तै, आईपीएलमा गत वर्ष दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सविरुद्ध सुपर ओभरमा १० रन जोडेको थियो। दिल्लीका लागि बलिङ गर्न आएका कागिसो रबाडाले मात्र ७ रन दिएका थिए। यो सबैभन्दा कम रन हो, जुन लक्ष्य सुरक्षित गरिएको थियो। योसँगै यति कम रनको लक्ष्य डिफेन्ड गर्ने कीर्तिमान बन्यो।

सुपर ओभरका बढी बलिङ गर्ने बलर
जसप्रीत बुमराह, कागिसो रबाडा, मोहम्मद सामी र जेम्स फाल्कनर यी चार बलर आईपीएलमा सुपर ओभरमा धेरै बलिङ गर्ने बलर हुन्। बुमराहले सुपर ओभरमा कुल चारपटक बलिङ गरेका छन्। उनले मुम्बई इन्डियन्सलाई दुईपटक जित दिलाएका छन्। तर, दुईपटक भने टिम हारेको छ।

त्यस्तै, दिल्लीका रबाडाले दुईपटक सुपर ओभरमा बलिङ गरेका छन्। दुवैपटक उनले टिमलाई जित दिलाए। सामीले सुपर ओभरमा तीनपटक बलिङ गरे, जसमा उनको टिम हारेको छ। एकमा मात्रै जित हात पार्न सफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्