घर–घरमा जिउँदो देवता छन्, चिनौं !



कृष्णहरि बास्कोटा
कार्यसमिति सदस्य, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ

गत असोज २९ गते नेपाल समाचारपत्रमा पहिलो र दोस्रो पृष्ठ पूरै ढाकेर एउटा विज्ञापन छापियो । ‘ज्याकेट एड’ भनिने यस खालको विज्ञापन बिरलै मात्र प्रकाशित हुने गर्दछ । सामान्य विषयका लागि ज्याकेट पेज दिइँदैन । ज्येष्ठ नागरिकप्रतिको समाजको जिम्मेवारी बोध गराउने यस विज्ञापनको प्रकाशन भएकै दिन नेपाल सरकारका सचिव रहेर लामो समय सेवा दिएका र राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्तका रूपमा सफलताका साथ कार्यकाल पूरा गरेर अवकाश पाएका कृष्णहरि बास्कोटाले नेपाल समाचारपत्रमा फोन गरेर प्रशन्नता व्यक्त गर्नुभयो । धन्यवाद दिनुभयो । ज्येष्ठ नागरिकप्रतिको यस्तो सम्मानले समाज सुसंस्कृत हुने भएकाले यस प्रकारको कार्य स्तुत्य रहने उहाँको भनाइ थियो । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका कार्यसमिति सदस्यसमेत रहेका उहाँका अरू भनाइ पनि हुन सक्छन् भन्ने विचारले उहाँको अन्तर्वार्ता नै लिइयो ः

कोभिड–१९ को सन्दर्भमा ज्येष्ठ नागरिकका पक्षमा विश्वव्यापीस्तरमा के भएका छन् ?
कोभिड–१९ को सन्दर्भमा संयुक्त राष्ट्रसंघका महासचिवले ज्येष्ठ नागरिकका पक्षमा ४ बुँदे भनाइ अघि सार्नुभएको छ । यसपछि विश्वव्यापीस्तरमा ज्येष्ठ नागरिकको पक्षमा विभिन्न मुलुकले राहत र सहायता घोषणा गरेका छन् । अमेरिकाले कोभिड–१९ को राहतस्वरूप प्रतिव्यक्ति १२ सय अमेरिकीे डलर उपलब्ध गराएको छ । यसै गरी, जापानले १ लाख येन, अस्ट्रेलियाले ७ सय ५० डलर, कोलम्बियाले २ सय ४० डलर, भारतले भारु १ हजार, अर्जेटिनले ४७ अमेरिकी डलर, सिंगापुरले ६८.५ डलर, ट्युनिसियाले ६८ डलर, टर्कीले २ सय ३० डलर, युक्रेनले ३५ डलर र मोनटेंगो ५० युरो उपलब्ध गराएका छन् ।
यसै गरी, यस सन्दर्भमा मासिक भत्ता र पेन्सन एड३भान्समा दिनेमा कोस्टारिका, मेक्सिको, पेरू, दक्षिण अफ्रिका छन् भने मासिक भत्ता बढाउनेमा ब्राजिल र उज्वेकिस्तान रहेका छन् । यस अवस्थामा भत्ता दिने कार्यलाई खुकुलो तुल्याउनेमा बेलायत र इटाली पर्दछन् भने भविष्यका लागि भत्ता वृद्धि गर्नेमा कोलम्बिया र इन्डोनेसिया रहेका छन् । साथै, अतिरिक्त सुविधाको घोषणा गर्नेमा अर्जेटिना, अर्मेनिया र टर्की छन् भने बालबच्चालाई सुविधा बढाउनेमा पोल्यान्ड र साउथ कोरिया छन् ।
यस अतिरिक्त घरविहीनलाई सुविधा, धाराबत्तीको शुल्क छुट र ज्येष्ठ नागरिकलाई ऋणमाफी गर्नेहरुमा स्पेन, एलसाल्भाडोर र बोलिभिया छन् भने स्वरोजगारलाई सघाउनेमा आयरल्यान्ड, पोर्चुगल, न्युजिल्यान्ड रहेका छन् । यस क्रममा बेरोजगारलाई सघाउनेमा स्विट्जरल्यान्ड, कार्यसमय कटौती गर्नेमा न्युजिल्यान्ड, घोषित सुविधा पाउने सरल व्यवस्था लागू गर्नेमा स्विडेन, २ महिनालाई पुग्ने खाद्य सामग्री उपलब्ध गराउनेमा अर्मेनिया, ज्येष्ठ नागरिकलाई औषधि र खाद्यान्न उपलब्ध गराउनेमा रसिया र ज्येष्ठ नागरिकको बीमा गरिदिनेमा ट्रिनिडी एन्ड टोवागो उदाहरणीय मुलुक ठहरिएका छन् ।

नेपालमा के–कस्तो पहल भएको छ ?
नेपाल सरकारले कोरोना भाइरस संक्रमणका कारण उत्पन्न संकटमा ज्येष्ठ नागरिकलाई सहयोग र सहायता प्रदान गर्न सरोकारवालाको जिम्मेवारी उल्लेखित दशबुँदे मार्गदर्शन–२०७७ जारिगरेको छ ।
यस सन्दर्भमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले सरकारसँग तीन कुरा माग गरेको छ । जसअनुसार पहिलो, नियमित मासिक भत्ता पाइरहेकालाई एक महिनाको भत्ता बोनस दिऊँ । दोस्रो, ६० देखि ६९ वर्ष समूहका ज्येष्ठ नागरिकले मासिक भत्ता पाएका छैनन्, तिनलाई एकमुष्ठ रु ५ हजार दिऊँ । तेस्रो, १ सय १५ वटा वृद्धाश्रममा रहेका करिब २ हजार ज्येष्ठ नागरिकलाई एकमुष्ठ रु १५ हजार दिऊँ । तर, हालसम्म सरकारले यस विषयमा ठोस निर्णय गरिसकेको छैन ।

नेपाल सरकारले ज्येष्ठ नागरिकलाई मासिक सामाजिक सुरक्षा भत्ता दिएको छ, के यो अपुग छ ?
२०५१ सालबाट रु सयबाट आरम्भ भएको सामाजिक सुरक्षा भत्ता हाल स्वास्थ्य उपचार खर्च रु. १ हजारसहित रु ३ हजार छ । वर्तमान सरकारले यसलाई रु ५ हजार पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ । कुल गार्हस्थ्य उत्पादनको इटालीमा १६ प्रतिशत, फ्रान्समा १४ प्रतिशत तथा भारतमा ४ प्रतिशत बजेट सामाजिक सुरक्षामा छुट्याइन्छ । नेपालमा कुल गार्हस्थ्य उत्पादनको करिब २ प्रतिशत मात्रै बजेट विनियोजन गरिएकाले यो अत्यन्त न्यून छ । यसर्थ, यस्तो भत्ता रकम जीवनयापन गर्न पुग्ने बराबरको हुनुपर्छ ।

भत्ता वृद्धि गर्न सरकारको ढुकुटी पनि बलियो हुनुप¥यो नि ?
हामीले सबैलाई समानरूपमा ज्येष्ठ नागरिक भत्ता दिएका छौं । यसको सट्टा ७० देखि ७९ वर्षका लाई सरकारको प्रतिबद्धताअनुसार हाललाई मासिक रु ५ हजार भत्ता दिने र सो उमेर समूहमाथिका लागि बढी रकम दिनु उत्तम हुनेछ । जसअनुसार ८० देखि ८९ वर्षका लाई मासिक रु १० हजार दिने हो भने यस समूहमा केबल करिब १ लाख ८१ हजार ३ सय १४ जना रहेका छन् । यसै गरी, ९० देखि ९९ वर्षका लागि मसिक रु २५ हजार दिने हो भने यस उमेर समूहमा करिब २६ हजार ७ सय २९ जना छन् । यस अतिरिक्त १०० वर्ष र सो माथिका लाई मासिक रु ५० हजार दिने हो भने यस उमेर समूहमा केबल ३ हजार ५ सय ६६ जना रहेको जनगणनाबाट देखिन्छ । यसर्थ, यसबाट सरकारलाई ठूलो आर्थिक भार नपर्ने प्रस्टै छ ।

ज्येष्ठ नागरिकको स्वास्थ्य सेवामा के गर्नुपर्छ ?
प्रत्येक राष्ट्रिय र प्रदेशस्तरीय अस्पतालमा ज्येष्ठ नागरिकको उपचारको विज्ञ चिकित्सकसहितको उपकरण, वार्ड र बेडको व्यवस्था गर्नुपर्छ । संघीय र प्रादेशिक सबै अस्पातलमा जेरियार्टिक वार्ड खडा गर्नुपर्छ । ज्येष्ठ नागरिकका लागि प्रदेश सरकार र स्थानीय तहबाट आवश्यक मल्टी भिटामिन र क्याल्सियम वितरण गर्नुपर्छ । ज्येष्ठ नागरिकको सबै उपचारमा सरकारी र सामुदायिक अस्पतालमा निःशुल्क र निजी अस्पतालमा कम्तीमा ५० प्रतिशत छुटमा सेवा पाउने व्यवस्था गर्नुपर्छ । साथै, ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने र छुटमा एयर एम्बुलेन्स सेवा दिने प्रबन्ध गर्नुपर्छ । यस अतिरिक्त, ज्येष्ठ नागरिकको हालको रु १ लाखको बीमालाई रु १० लाख तुल्याउनुपर्छ ।

ज्येष्ठ नागरिक पनि आफ३नै खुट्टामा उभिन सक्ने हुन्छन् कि ?
ज्येष्ठ नागरिक आप्mनै खुट्टामा उभिन नसक्ने कुरै भएन । यसका लागि राज्यले सघाउनुपर्छ । उदाहरणका लागि कुनै ज्येष्ठ नागरिकले व्यवसाय वा स्वारोजगार गर्ने भए रु ५ लाखसम्मको सरल ब्याजदारको ऋण दिने गरीे च्यालेन्ज फन्ड खडा गर्नुपर्छ । ज्येष्ठ नागरिकले व्यवसाय गर्न सक्ने गरी बैंक र बीमा कम्पनीहरुसँग सहजीकरण गर्नुपर्छ । ज्येष्ठ नागरिक विभिन्न ज्ञान, सीप र अनुभवयुक्त रहने हुँदा, कुन ज्येष्ठ नागरिकको ज्ञान, सीप र क्षमता के–कति छ त्यसको निर्याैल गरी उनीहरूलाई उचित मौका दिनुपर्छ ।

नेपालमा ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्था पर्याप्त छैन ?
नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकको मौलिक हकको व्यवस्था छ । जसमा, ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हकको पूर्ण प्रत्याभूति प्रदान गरिएको छ । यसको अक्षरशः कार्यान्वयन हुनुपर्छ । यसै गरी, ज्येष्ठ नागरिकसम्बन्धी ऐन–२०६३ को प्रभावकारी कार्यान्वयन हुनुपर्छ । यस ऐनमा लेखिएको छ– ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्छ । ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाह गर्नुपर्छ । ज्येष्ठ नागरिकले आफ३नो सम्पत्ति आफूखुस गर्न पाउनुपर्छ । ज्येष्ठ नागरिक कल्याणकोष स्थापना गरिनुपर्छ । ज्येष्ठ नागरिकलाई राज्यले परिचयपत्र उपलब्ध गराउनुपर्छ । यी कानुनी प्रावधानको पनि हुबहु कार्यान्वयन हुनुपर्छ । यसर्थ, कानुनको पर्याप्तता वा अपर्याप्तता भन्दा पनि भइरहेका प्राबधानको कार्यान्वयनको अवस्था सुदृढ हुनुपर्छ ।

ज्येष्ठ नागरिकको सम्मानका लागि के गर्नुपर्छ ?
नेपाली उखानअनुसार आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको (बुढाबुढीको) भनेअनुसार ज्येष्ठ नागरिकका ज्ञान र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ । मातृ देवो भव, पितृ देवो भवको भावनाअनुसार हरेक व्यक्ति, परिवार, समाज र सरकारले ज्येष्ठ नागरिकलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्छ । हामी सबैले हेक्का राख्नुपर्छ, ज्येष्ठ नागरिक जिउँदो देवता हुन् । घर–घरमा रहेका यी देवतालाई हामीले चिन्न मात्र सक्नुपर्छ । हरेक निर्माण, संरचना र व्यवस्था ज्येष्ठ नागरिकमैत्री बनाउनुपर्छ । निर्णय प्रक्रियामा सहभागी गराउनुपर्छ । उनीहरूले तिरस्कृत अनुभव गर्नु घर–घरमा देवता असन्तुष्ट हुनु हो ।

प्रतिक्रिया दिनुहोस्