‘गुरुजी नमस्कार, यमदुत होईन, यात्रादुत बनिदिनुस्’(फोटो फिचर)



नानीराम नेपाल, सिन्धुपाल्चोक ।

अधिकांश सडक दुर्घटनामा चालकको असावधानी र लापर्वाही देखिएपछि जिल्ला प्रहरी कार्यालयले राजमार्गमा बिशेष अप्रेसन सुरु गरेको छ । ट्राफीक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित सादा पोषाकमा समेत प्रहरी परिचालन गर्दै जिल्ला प्रहरी कार्यालयले अरनिको राजमार्गमा बिशेष अप्रेसन सुरु गरेको हो ।

‘नमस्कार गुरुजी, बिस्तारै सवारी होस्’, शनिबार सुकुटेमा पुग्दा बिच सडकमा उभिएर हात जोड्दै यात्रुबाहक बसका चालकलाई ट्राफीक प्रहरीले सम्झाई बुझाई गरिरहेका थिए । जिल्ला ट्राफीक प्रहरी कार्यालयका प्रमुख प्रनानि राजेश दाहाल आफैँ ड्युटीमा खटीएर चालक र यात्रुलाई सम्झाउँदै थिए ।

‘तपाइँको सानो असावधानीले ठूलो दुर्घटना हुनसक्छ, यात्रुहरुलाई सुरक्षित गन्तब्यमा पु¥याउनु तपाइँको दायित्व हो’, चालकलाई सचेत गराउँदै ट्राफीक प्रहरी नायब निरीक्षक राजेश दाहाल सम्झाउँदैथिए, ‘गुरुजी तपाइँ यात्रुका यात्रादुत बनिदिनुस्, यमदुत हैन ।’

लकडाउनका कारण लामो समयसम्म ग्यारेजमा थन्किएका सार्वजनिक यातायातका साधनहरुको यन्त्रिक अवस्थाबारे पनि ट्राफीक प्रहरीले निगरानी बढाएको छ । सवारीका कागजपत्र मात्रै हेर्दै आएका ट्राफीक प्रहरी सवारी साधनका यन्त्रिक अवस्था पनि चेकजाँच गर्न थालेका छन् ।

सडकमा बस रोक्दै चालकको क्रियाकलापबारे यात्रुहरुसँग समेत सोधपुछ गर्न थालिएको छ । ‘गुरुजीले गाडी कस्तो चलाइरहनुभाछ, केहि शंका लागेमा तुरुन्त हामीलाई फोन गर्नुहोला’, ट्राफीक प्रहरी सहायक निरीक्षक उमेश थपलिया यात्रुहरुसँग भन्दै हुनुहुन्थयो ।

कोरोना कहरकाबिच ट्राफीक प्रहरी सवारी चेकजाँचसँगै सचेतनाको अभियानमा जुटेका छन् । बिजयादशमी नजिकिँदै गर्दा अरनिको राजमार्ग र सहायक मार्गहरुमा सवारी साधानको चाप बढेपछि संभावित दुर्घटना रोक्न प्रहरीले अभियान नै सुरु गरेर राजमार्गमा बिशेष अप्रेसन थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले बताउनुभयो नियम मिच्ने सवारी साधन र चालकलाई यसअघि कार्वाहीस्वरुप जरिवाना मात्रै हुँदै आएकोमा अब प्रहरीले त्यस्ता चालकको अभिलेख समेत राख्ने भएको छ ।

‘कुन चालकले कतिपटक गल्ती गरेको छ अब त्यो अभिलेख रहनेछ’, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो, ‘पटक पटक गल्ती गर्ने चालकलाई सवारी चलाउन दिईनेछैन ,।’ प्रहरी उपरीक्षक अधिकारीका अनुसार त्यस्ता चालकलाई अनुशिक्षण गरिने र त्यसपछि मात्र सवारी चलाउन दिईने छ । गतबर्ष दर्शै तिहारका बेला सिन्धुपाल्चोकमा ३ ठूला दुर्घटना भएपछि यसबर्ष प्रहरीले बिशेष अभियान नै लिएर सडकमा खटिएको हो ।

प्रतिक्रिया दिनुहोस्