४० हजार खसीबोका बिक्री हुने अनुमान, चौपाया अनुगमन शुरु, गल्ती गरे कारबाही



ईश्वरराज ढकाल, काठमाडौं

दशैंमा काठमाडौंमा ४० हजार खसीबोका बिक्री हुने अनुमान गरिएको छ । कोरोना महामारीका कारण खसी, बोका, भेडा, च्याङ्ग्राको माग कम हुने सम्भावना भएपछि यस्तो अनुमान गरिएको हो ।

काठमाडौं चौपाया खरिद बिक्री प्रालिका अध्यक्ष जनककुमार खड्काका अनुसार संक्रमणको कारण व्यापार कम हुने बताउनुभयो । हिजोबाट बिक्री शुरु भए पनि अनुमान गरेअनुसार बिक्री नभएको उहाँको भनाइ थियो । उहाँका अनुसार विगतमा करिब ६० हजार चौपाया बिक्री हुने गरेको थियो ।

‘यो वर्ष करिब २० हजार घट्ने आकलन गरेका छौं’, खड्काले भन्नुभयो– ‘काठमाडौंमा कलंकी, खसी बजार, टुकुचा, कोटेश्वर, बालाजु, आकाशेधारा कपन, चाल्नाखेललगायत स्थानबाट खसी, बोकालगायत चौपाया बिक्री हुने गरेको छ ।’

भक्तपुरको लोकन्थली र सल्लाघारी, ललितपुरको लगनखेलमा पनि चौपाया बजार लाग्ने गरेको छ । व्यापारीले तीबाहेकका स्थानबाट पनि चौपाया बिक्री गर्ने गरेका छन् ।
सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज सोमबारबाट खसी र बोका बिक्री गर्दै छ । कम्पनीले १ हजार ६ सय खसीबोका बिक्री गर्ने योजना बनाएको छ ।
चौपायका बिक्रीसँगै प्रदेश सरकारको सहयोगमा अनुमगन शुरु गरेको छ । काठमाडौं महानगरको तीन टोलीले अनुगमन शुरु गरेको छ । विशेषज्ञसहितको टोलीले मासुजन्य उत्पादनलाई स्वस्थ्य, स्वच्छ र गुणस्तरीय बनाउन अनुगमन गरेको जनाएको छ ।
महानगरको पशुसेवा महाशाखाका प्रमुख डा. अवधेश झाका अनुसार र प्रदेश सरकारसँग समन्वय गरेर तोकिएका ठाउँबाट स्वस्थ्य चौपाया बिक्री गर्ने गर्ने योजनाअनुसार स्वास्थ्य परीक्षण शुरु गरेका हौं । टोलीले तोकेको स्थानबाट बिक्री गरे नगरेको विषयमा समेत अनुगमन गर्नेछ ।
तीन टोलीको नेतृत्व तीनैजना स्वास्थ्य विज्ञले गरेका छन् । महाशाखा प्रमुख झाका अनुसार किचित्सक पूजा खनाल, अञ्जिरमान सिं डंगोल र डम्मरबहादुर बमको नेतृत्वको टोलीले खसी–बोकाको स्वास्थ्य परीक्षण गरी खान योग्यको सिङमा हरियो र बिरामीको सिङमा रातो रङ लगाउनेछन् । सिङमा रातो रङ लगाएको खसीलाई केही दिन आइसोलेसनमा राखेर पुनः बिक्री गर्न खुला गरिने महाशाखाले जनाएको छ ।
दशैंमा बिक्री हुने चौपायामध्ये च्याङ्ग्राको संख्या घटेकाले भाउ बढेको छ । चौपाया खरिद बिक्री प्रालिका अध्यक्ष खड्काका अनुसार मुस्ताङमा च्याङ्ग्राको मूल्य जिउँदोमा प्रतिकिलो ७ सय ५० पुगेको छ । स्थानीय प्रशासनले शुरुमा यसको मूल्य ६ सय तोकेको थियो ।
यो मूल्यमा बिक्री नभएपछि बढाएर ७ सय ५० पु¥याइएको हो । मुस्ताङको चिनियाँ नाका बन्द भएको कारण यो वर्ष च्याङग्राको भाउ बढेको हो । कोरोना संक्रमण पछि चीनले मुस्ताङसंग जोडिएको नाका बन्द गरेको छ ।
स्वच्छ मासुका लागि काठमाडौं भित्रिने नाकाहरु नागढुङ्गा, दक्षिणकाली, बालाजु, साँगामा निगरानी बढाउने भएको छ ।
महानगरले आफ्नो भौगोलिक क्षेत्रसँगै अन्तर नगर, साझेदारबीच समन्वय गर्न संघ र प्रदेश सरकारसँग सहकार्य गरेर उपत्यकाबासीलाई स्वस्थ्य मासु खुवाउने जनाएको छ । प्रहरीसहितको अनुगमन टोलीले खसीबोका ल्याइने नाकामा अनुगमनलाई तीव्रता दिने जनाएको छ ।
काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा रहेको अनुगमन टोलीले नाकामा अनुगमन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार खसीबोका मात्र नभई राँगाको मासुको समेत अनुगमन गर्नेछ । गतवर्ष टोलीले थानकोट नाकामा अनुगमन गर्दा बिरामी राँगा र भैंसीसमेत ल्याएको फेला पारेको थियो ।
संयोजक श्रेष्ठले भन्नुभयो– ‘महानगरबासीलाई मात्रै नभई उपत्यकाबासीलाई स्वस्थ मासु खुवाउन अनुगमनलाई तीव्रता दिइएका छौं । हामी फूलपातीसम्म अनुगमन गरेर बदमासी गर्नेमाथि कानुनानुसार कारबाही गर्ने तयारीमा छौं।’

प्रतिक्रिया दिनुहोस्