संक्रमितको घरमै गयो ज्यान



संखुवासभा, (नेस)

कोरोना भाइरसका कारण धर्मदेवी नगरपालिका–३ मा एक जना वृद्धको घरमै ज्यान गएको छ । मृत्यु हुनेमा मुडेबजारका ७९ वर्षीय पारथमणि पौडेल रहेका छन् ।

उनको शनिबार दिउँसो करिब २ बजे घरमै मृत्यु भएको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ । संखुवासभा जिल्लामा पहिलोपटक मृत्यु भएका ७९ वर्षीय पौडेलको आश्विन २९ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनी दमका बिरामी रहेका थिए ।

उनलाई आफ्नै छोरामा कोरोना देखिएपछि कन्ट्रयाक टेसिङको आधारमा पीसीआर गर्दा उनमा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय संखुवासभाका प्रमुख रमेश बाह्रबोटीले बताउनुभयो ।

छोरा सलबहादुर पौडेललाई कोरोना पोजेटिभ देखिएपछि बुबा पारथमणी घरमा नै आइसोलेसनमा बसेका थिए । होम आइसोलेसनमा रहेको अवस्थामा शनिबार दिउँसो उनको मृत्यु भएको हो ।

मृतक पौडेलका छोरामा कोरोना पोजेटिभ देखिएपछि धर्मदेवी नगरपालिकाबाट शुक्रबार ३८ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

उनीहरुको रिर्पोट आउन बाँकी रहेको धर्मदेवी नगरपालिकाका मेयर रमेशकुमार जिमीले जानकारी दिनुभयो ।

संखुवासभा जिल्लामा हालसम्म १ सय १५ जना कोरोना संक्रमित देखिएको छ । हाल सम्म ८१ जना निको भएर घर फर्किसकेका छन् भने ३४ जना संक्रमितको खाँदबारीको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्