दशैंसम्मै राहत, थाकेनन् कुँवर



नेपाल समाचारपत्र, काठमाडौं

बाफल काठमाडौंका ताराबहादुर कुँवरले शनिबार २४औं चरणको राहत वितरण गर्नुभएको छ । उहाँले लकडाउन भएदेखि शुरु गर्नुभएको राहत वितरण अझै जारी छ । कुँवर कोरोना र लकडाउनको पर्वाह नगरी निरन्तर राहत वितरणमा जुट्नुभएको छ । हिजो शनिबारसम्म आइपुग्दा उहाँले १ हजार ५ सय जनालाई राहत बा“डिसक्नुभएको छ ।

अघिल्लो साता शनिबार नौमती बाजा बजाउनेसहित ५० जनालाई राहतस्वरुप चामल, दाल, नुन, तेललगायतका सामग्री वितरण गर्नुभएको थियो । राहत वितरण मात्रै नभएर उहाँले रगतको अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रम पनि गरेको बताउनुभयो ।

कहिल्यै पनि अरुको दुःख हेर्न नसक्ने बताउने कुँवरले बडादशैं, शुभ दीपावली, नेपाल संवत्, छठसहित अन्य पर्वको शुभकामना दिँदै राहत पनि वितरण गरिएको बताउनुभयो । उहाँले अझै पनि मानिसलाई दैनिकी चलाउन समस्या भइरहेकाले केही सहयोग गरिएको स्पष्ट पार्नुभयो । अप्ठ्यारोमा परेका सबैलाई आउनसमेत सार्वजनिक रुपमै सामाजिक सञ्जालमार्फत आह्वान गरिसक्नुभएको छ ।

‘राहत वितरण गर्न पाउँदा निकै आनन्द आउँछ, जीवन सार्थक भएजस्तो लाग्छ’, उहाँले भन्नुभयो– ‘सामान्य सहयोग गर्दा कसैलाई ठूलो गुण लाग्छ भने सबैले खुला दिल बनाउनुपर्छ, कहिलेकाहीं त मलाई भगवान्ले समाजसेवा गर्न नै पठाएजस्तो लाग्छ ।’ शनिबारको कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका मकवानपुरका नेता जयराम लामिछाने प्रमुख अतिथिका रुपमा हुनुहुन्थ्यो ।

कुँवरलेले राहत वितरणसँगै रक्तदान अभियान पनि चलाउनुभएको छ । पाँचपटकमा गरी १ सय ६३ जनाले रक्तदान गरेका छन् । नेपाल हेभी इक्विपमेन्ट व्यवसायीका अध्यक्ष र हजुरलाई नमस्ते ट्रेड लिंकका सञ्चालक कुँवरले केही समय अघिसम्म हरेक शनिबार बिहान दुई घण्टा चक्रपथ सरसफाइ अभियान पनि चलाउनुभएको थियो ।

कुँवरले अप्ठ्यारो अवस्थामा परेकालाई अझै पनि सहयोग गर्ने जनाउनुभएको छ । ‘कोरोनाको त्रासले सबै पेसा व्यवसाय संकटमा परेको छ, मेरो पनि व्यवसाय बन्दजस्तै छ तर पनि पहिले कमाएको थोरै रकम समाजसेवामा लगाएको हुँ’, उहाँले भन्नुभयो– ‘शुरुका दिनमा आफै खर्च गरेँ तर पछिल्ला दिनमा भने केही व्यक्ति र संघसंस्थाले पनि सहयोग गरेका छन्, विस्तारै अरुमा पनि समाजसेवाको भावना पलाएकामा खुसी लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्