स्वास्थ्यकर्मीको डायरीमा आँसुको हस्ताक्षर



इन्दिरा शर्मा, किष्ट मेडिकल कलेज, ललितपुर

कोरोना भाइरस हिंस्रक स्याल बनेर भेडिगोठमा प्रवेश गरिसकेको छ । खासगरी अस्पताल वा मेडिकल क्षेत्रमा यसको उपस्थिति डरलाग्दो हुँदै गएको छ ।

कोभिड भएका मात्र होइन, अन्य रोग लागेका व्यक्ति पनि अकाल मृत्युको शिकार हुन थालेका छन् । यस प्रकारको अप्रिय अवस्थाको संकेत पहिला नै पाइएको हो, तर पनि अबुझ यस समाजले चिकित्सक र स्वास्थकर्मीलाई ठीक व्यवहार गरेन, परिणामस्वरुप उचार महँगो र चुनौतीपूर्ण हुनपुग्यो ।

कोरोना नभए पनि अन्य कुनै पनि रोगका कारण बिरामीहरु अस्पतालमा उपचार नै नपाई मृत्युशय्यामा जान थालेका छन् ।

मृत्युले मृतकलाई मात्र पीडित बनाउँदैन । बाँच्नेलाई पनि मृत्युसमानको पीडा दिन्छ– कोही टुहुरा हुन्छन्, कोही विधवा त कोही विधुर, कसैको काख रित्तिन्छ र कसैको संरक्षकत्व ।

कोरोना संक्रमणको प्रदूषित हावा चलेपछि मृत्यु अझ कठोर र पीडादायी भएको छ– मृतकलाई न आफन्तले छुन पाउँछन्, कति ठाउँमा हेर्नसम्म दिइँदैन, आफन्तको स्याहार पाएर मर्ने नियति पनि जुर्दैन । न त रोएर अँगालो हाल्न नै पाइन्छ, एक घुट्की पानीले घाँटी रसाउँछु भन्न पनि नमिल्ने । रामनामीको सट्टा कालो प्लास्टिक ओढाइन्छ, जिउँदो छँदा आर्मी र पुलिस देख्दा डराउने मान्छेहरु अहिले उनीहरुलाई नै मलामी र दूत स्वीकार गर्न बाध्य छन् ।

स्वास्थ्य क्षेत्र यतिखेर भयानक र अपूर्व त्रासमा बाँचिरहेको छ । स्वास्थ्यकर्मीहरुले नै लाचार बनेर सेवामा लाग्नुपर्ने अवस्था सिर्जना भएको छ । मानिसहरु ओठ मुख सुकाएर हिँडेका छन् । बिरामी र उनका आफन्तको अनुहार मात्र मलिन छैन, डाक्टर र नर्सहरु पनि भयानक त्रासमा छन् । जिन्दगीको आयु कहाँसम्म छ भन्ने चिन्ताका साथ बिरामीको सेवामा छन् ।

रोग भित्रियो, औषधी अहिलेसम्म पनि भित्रिएन, उपचारमा कोरोनाका बिरामीबाट सरकारले कति फाइदा पाउँछ थाहा छैन, तर कोरोना संक्रमणसम्बन्धी उपचारमा मन्त्री र प्रशासकहरुले, ठेकेदार र आपूर्तिकर्ताले नाजायज तरिकाले कमिसन खाएको र भ्रष्टाचार गरेको समाचार सुन्नुपर्छ । यता, सतर्कता र सावधानी पनि अत्यन्त कमजोर छ । आम नागरिक पनि लापर्बाह देखिन्छन्– बिरामी तँ उपचार गर्दागर्दै नाडिएर पो जान्छन्– सामाजिक दूरी, मास्क, स्यानिटाइजर जाए भाडमा ।

यता, स्वास्थकर्मीहरुको शरीर पीपीई, मास्क र भाइजरमा बाफिएको सात महिना भयो, ज्यानको जोखिममा सेवा गर्दागर्दा मानसिक पीडा भोगेको यति लामो समय हुँदा पनि कसैले कठैबरा भनेन । कतिका आँखाभरि टिलपिल आँसु देखिन्छ, कसले ढाडस दिने, कसले निकास देखाउने?

पीडा पोख्ने ठाउँ छैन, जसको मुहार हे¥यो मलिन मात्र देखिन्छ, दबेको आवाज निस्किन्छ– पीसीआर नेगेटिभ कि पोजिटिभ?

यस बेला, सरकारको मुख ताक्नु तँ आकाशको फल आँखा तरी मर भनेजस्तै हो । यसरी भिड गर्दै कर तान्ने काम गर्दा आज कोरोनाको प्रतिशतले सबैलाई पछाडिपारिसकेको छ ।

वर्ष दिनमा आउने दशैं पनि परिवारबाट टाढा भएर बस्नुपर्ने पीडा अब गौण बनेको छ– जिन्दगी नै के हो के हो, केको चाडबाड ।

यस क्रमलाई यसरी नै बढ्न दिने हो भने जनता उपचार नपाई मर्ने निश्चित छ । बिरामीलाई डाक्टरहरु इम्युनिटी पावर बढाऊ भन्छन्, तर बजार भाउ बढेर र काम नपाएर कति भोकै मर्ने अवस्था छ । कालो बजारी बढेको छ, लासमाथि पनि कमाउनुपर्ने– कस्तो लालशा हो यो?
(प्रस्तुति ः भगवती तिमल्सिना)

प्रतिक्रिया दिनुहोस्