विद्यार्थीलाई पैगम्बर मोहम्मदको कार्टुन देखाउने शिक्षकको हत्या



पेरिस (एजेन्सी) ।

फ्रान्सको राजधानी पेरिसमा एक ब्यक्तीले त्यहाँको एक स्कुलमा पढ्ने आफनो बच्चालाई पैगम्बर मोहम्मदको कार्टुन देखाएका एक शिक्षकको शिर छेदन गरि हत्या गरेको छ । ती ब्यक्तीले अल्लाहु अकबर को नारा लगाए । घटनाको केही समयपछि प्रहरी पुगेको र बन्दुक देखाउँदै भाग्ने प्रयास गर्दा प्रहरीको एन्काउन्टरमा उनी मारिएको बताइएको छ ।

इस्लाममा पैगम्बर मोहम्मदको कुनै प्रकारको मुर्ति वा चित्र बनाउनुलाई सबैभन्दा गम्भिर अपराधका रुपमा लिइन्छ । यसलाई पैगम्बरको अपमान र इस्लाम विरोधी कृत्यका रुपमा लिइन्छ ।

१८ बर्षका ती हत्याराले इतिहासका ती शिक्षकमाथि हमला गर्नु पुर्व अल्लाहु अकबरको नारा लगाएको दावी गरिएको छ । शिक्षकमाथि अभिब्यक्ती स्वतन्त्रताको पाठ पढाउने बेला आफना विद्यार्थीलाई इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको कार्टुन देखाएको आरोप लागेको थियो । यस घटनालाई लिएर फ्रान्समा राजनितिक बहस तात्तिन थालेको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों आफै मृत शिक्षकको घर जाने कार्यक्रम रहेको बताइएको छ ।

शिक्षकको घाँटी काटेर गरिएको हत्यालाई लिएर फ्रान्समा फेरी एक पटक धार्मिक स्वतन्त्रतालाई लिएर बहस छेडिएको छ । राष्ट्रपति म्याक्रोंले यसलाई इतिहासको हत्या भनेका छन् । उनले यस घटनालाई कट्टरपन्थीद्वारा देशको गणतन्त्र विरुद्ध भएको हमला भएको बताए । उनीहरु फ्रान्सलाई विभाजित गर्न सफल नहुने राष्ट्रपतिले प्रतिबद्धता ब्यक्त गरे ।

प्रहरीले यस घटनामा एक नाबालिक सहित चार जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका सबै आरोपी आक्रमणकारीसँग सम्बन्धित हुन् । प्रहरीले उनीहरुसँग सोधपुट गरिरहेको छ । शिक्षकको टाउको काटिएको घटनासँगै तिनीहरुको सम्बन्ध रहेको बताइएको छ । उनीहरुमाथि हत्या भएपछि आरोपीलाई भाग्नमा मद्दत गरेको आरोप छ ।

आक्रमणकारीको एन्काउन्टरको एक भिडियो पनि भाइरल भइरहेको छ । उक्त भिडियो एक स्थानिय नागरिकले आफनो घरबाट खिचिएको हो । यस प्रहरीका कयौं गाडी देखिएका छन् । तर बगैंचामा बार राखिएकाले आक्रमणकारी र प्रहरी प्रष्ट रुपमा देखिएको छैन । भिडियोमा प्रहरीले तिब्रताका साथ आरोपीलाई पछ्याउँदै उनलाई हतियार फ्याँक्न भनिरहेको सुनिन्छ । जब आक्रमणकारीले प्रहरीमाथि नै बन्दुक तेस्र्याए, प्रहरीले उनलाई गोली प्रहार गरे ।

ती आक्रमणकारी रुसको चेच्न्याका नागरिक भएको बताइएको छ । घटनालाई लिएर रुसी गुप्तचर एजेन्सी र प्रहरीले पनि यस मामिलामा जाँच गरिरहेका छन् । चेच्न्या रुसको नियन्त्रणमा रहेको द्वन्द्व ग्रस्त क्षेत्र हो । मुस्लिम बाहुल्य रहेको उक्त क्षेत्रलाई स्वतन्त्र राष्ट्र बनाउन पृथक्तावादीहरु रुसी सेनासँग छापामार युद्ध लडिरहेका छन् ।

यो घटना सन् २०१५ मा सार्ली हेब्डोमा भएको इस्लामिक कट्टरपन्थी हमलालाई लिएर सुनवाई भइरहेको समयमा भएको हो । उक्त हमला पनि पैगम्बर मोहम्मदको कार्टुन छापिएकोमा आक्रोसित भएका इस्लामिक कट्टरपन्थीहरुले गरेका थिए । हालै मात्र उक्त घटनामा मुद्दाको सुनवाई भएपछि अखबारले पुन कार्टुन छापेको थियो । जसलाई लिएर अलकायदाले २०१५ को हमला अन्तिम नभएको धम्की दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्