कृषि बिकास बैंकबाट लिएको ऋणको व्याज गाउँपालिकाले तिरिदिने



कविराज नेपाल, पाल्पा । विदेशबाट फर्किएका, युवा, दलित समुदाय, विपन्न परिवारलाई व्यवसायिक रुपमा आय आर्जनमा लगाउनका लागि यहाको एक गाउँपालिकाले कृषि बैंकबाट लिएको ऋणको व्याज तिरिदिने भएको छ ।

पश्चिम पाल्पामा रहेको रिव्दीकोट गाउँपालिकाले पालिका भित्रका किसानलाई थप व्यवसायिक बनाउनका लागि यस्तो योजना अघि सारेको र पालिकाका सबै किसानलाई व्यवसायिक कृषि कर्ममा लगाउनको लागि गाउँपालिकाले कृषि बैंकसँग सम्झौंता गरेर कामको सुरुवात गरिएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले जानकारी दिनुभयो ।

अध्यक्ष जिसीका अनुसार गाउँपालिका भित्रका किसानहरुले मापदण्ड अनुसार काम गरेमा तिनीहरुको कृषि बैंकबाट ल्याएको ऋणको व्याज समेत गाउँपालिकाले तिरिदिने गरेर सम्झौंता भएको हो ।

गाउँपालिकाका प्रशासकीय अधिकृत प्रेम चन्द्र अर्यालका अनुसार विदेशबाट फर्किएका, युवा, दलित समुदाय, विपन्न परिवारलाई व्यवसायिक रुपमा आय आर्जनमा लगाउनका लागि यस्तो योजनाको सुरुवात गरिएको हो । योजना अनुसार बैंकले मूल्यांकन गरेर किसानको हकमा ५० हजारदेखि ५ लाख सम्म र फार्मको लागि १ लाख ५० हजार देखि १० लाखसम्मको व्याज गाउँपालिकाले तिर्ने गरी सम्झौंता भएको छ ।

यसका लागि गाउँपालिका र कृषि विकास बैंक लिमिटेड, बीच कृृषक तथा कृषि तथा पशुपालन फर्मलाई कृषि ऋण प्रवाह गर्दा ब्याजमा शत प्रतिशत अनुदान उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको गाउ पालिकाले जनाएको छ ।

गाउँपालिकाले कार्यक्रममा सहभागी हुन चाहाने इच्छुक कृषि उद्यमीहरूले गाउँपालिकाले आव्हान गरेको प्रस्तावमा निवेदन दिनु पर्ने र कृषकले न्युनतम ५० हजार देखि ५ लाख सम्म र कृषि तथा पशुपालन फर्मले न्यूनतम १ लाख देखि १० लाख सम्म कृषि ऋणको ब्याजमा २०७८ असार मसान्तसम्म शतप्रतिशत अनुदान पाउने गाउँपालिकाका अध्यक्ष जिसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्