दिल्लीसँग राजस्थान पराजित



दुबई, (एजेन्सी)

जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत ३०औं खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले हराएको छ।

यो पाँचौं जितसँगै दिल्ली ८ खेलपछि अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। दिल्लीले राजस्थानलाई लगातार ५ खेलमा हराएको हो। यसै सिजनको पहिलो खेलमा पनि दिल्लीले राजस्थानलाई हराएको छ। दिल्लीका लागि शिखर धवन र श्रेयस अ्यरले अर्धशतक लगाएका थिए। खेलमा २ विकेट लिएका फास्ट बलर एन्रिच नोर्तजे प्लेयर अफ द म्याच घोषित भएका छन्।

दिल्लीले टस जितेर ब्याटिङ गर्दै १ सय ६१ को मध्यम स्कोर बनाएको थियो। टिमले १ सय ६२ रनको लक्ष्य तेर्साएको थियो। तर, जवाफमा राजस्थानले ८ विकेटको क्षतिमा १ सय ४८ रन बनाउन सक्यो। राम्रो ब्याटिङ भए पनि राजस्थान जित हात पार्न अक्षम भएको थियो। राजस्थानका ब्याट्सम्यान बेन स्टोक्सले ४१ रन, रोबिन उथप्पाले ३२ रन, सन्जु सेमसनले २५ रन र जोस बटलरले २२ रनको योगदान दिएका थिए। उनीहरू क्रिजमा रहुञ्जेल जित राजस्थानकै हुने देखिएको थियो। तर, उनीहरूलाई आउट गरेपछि दिल्लीले खेलमा नियन्त्रण लिएको थियो। दिल्लीका लागि तुषार देशपाण्डे र नोर्तजेले समान २÷२ विकेट लिए।

यसअघि दिल्लीको ब्याटिङ निकै खराब रहेको थियो। टिमले १० रन जोड्दा २ विकेट गुमाएको थियो। जोफ्रा आर्चरले पृथ्वी सालाई क्लिन बोल्ड गरे भने आजिन्क्य रहाणेलाई २ रनमा पवेलियन फर्काएर दिल्लीलाई झट्का दिएका थिए। त्यसपछि ओपनर शिखर धवन र कप्तान श्रेयस अ्यरले ब्याटिङ सम्हाले। उनीहरूले तेस्रो विकेटका लागि ५७ बलमा ८५ रनको दरिलो साझेदारी गरेका थिए। धवनले ५७ रन र अ्यरले ५३ रनको योगदान दिए। राजस्थानको बलरमा आर्चरले १९ रन दिएर ३ विकेट लिए भने जयदेव उनादकटले २ विकेट हात पारेका थिए।

नोर्तजेको छिटो गतिको बलिङ
दिल्लीका नोर्तजेले यस सिजनको सबैभन्दा छिटो गतिको बलिङ गरेका छन्। उनले १ सय ५६ दशमलव २ किमी प्रतिघण्टाको गतिमा बल फ्याँकेका हुन्। यसै बलमा राजस्थानका ओपनर बटलरले चौका प्रहार गरेका थिए। यसपछि सिजनको दोस्रो छिटो गतिको बल फ्याँकेर बटलरलाई बोल्ड गरे। यो बलको गति १ सय ५५ दशमलव १ किमी प्रतिघण्टा रहेको थियो।

सन्जुद्वारा १८ छक्का प्रहार
यसैगरी, यस सिजनमा राजस्थानका सन्जु सेमसनले सर्वाधिक छक्का प्रहार गरेका छन्। सन्जुले ८ खेलमा १८ छक्का प्रहार गरेका हुन्। दोस्रो स्थानमा किंग्स इलेभेन पन्जाबका निकोलास पूरण रहेका छन्। उनले ७ खेलमा १६ छक्का लगाएका छन्। सन्जुले समग्रमा आईपीएलमा १ सय १ खेल खेल्दै १ सय ७ छक्का प्रहार गरे। उनी सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको सूचीअन्तर्गत १७औं स्थानमा छन्। आईपीएलको छक्का प्रहार गर्ने सूचीमा क्रिस गेल सबैभन्दा अग्रस्थानमा छन्। उनले आईपीएलमा १ सय २५ खेलबाट ३ सय २६ छक्का प्रहार गरेका छन्। उनले यस सिजनमा हालसम्म खेल्न पाएका छैनन्।

धवन दोस्रो स्थानमा
आईपीएलमा सर्वाधिक अर्धशतक लगाउने सूचीमा शिखर धवन दोस्रो स्थानमा उक्लिएका छन्। उनले ३९औं अर्धशतक लगाएसँगै विराट कोहली, रोहित शर्मा र सुरेश रैना पछि परेका छन्। उनीहरू तीनै जनाले ३८÷३८ अर्धशतक बनाएका छन्। आईपीएलमा सर्वाधिक अर्धशतक बनाउने ब्याट्सम्यान डेभिड वार्नर हुन्। उनले हालसम्म ४६ अर्धशतक लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्