रोनाल्डोविना पोर्चुगलको सहज जित



लन्डन, (एजेन्सी)
यूईएफए नेसन्स लिग फुटबलमा रोनाल्डोविना पोर्चुगलले स्वीडेनमाथि सहज जित निकालेको छ। बुधबार राति भएको समूहको चौथो खेलमा पोर्चुगलले आफ्नो घरेलु मैदानमा पाहुना टोली स्वीडेनमाथि ३–० को एकपक्षीय जित आत्मसात् गरेको छ। कोरोना संक्रमणका कारण नियमित कप्तान क्रिस्टियानो रोनाल्डोविना नै घरेलु मैदानमा उत्रिएको पोर्चुगलले उत्कृष्ट प्रदर्शन गरेको थियो।

पोर्चुगललाई सहज जित दिलाउन युवा खेलाडी डिएगो जोटा नायक बने। उनले दुई गोल गर्नुका साथै एक गोलमा असिस्ट पनि गरे। अर्को एक गोलमा भने बर्नान्डो सिल्भाले आफ्नो नाम लेखाए। पोर्चुगलका लागि खेलको २१औं मिनेटमा सिल्भाले डिएगो जोटाको पासमा पहिलो गोल गरेका थिए।

त्यसपछि, खेलको ४४औं मिनेटमा जोटाले गोल गरे। उनले जुआन कान्सेलेको पासमा उत्कृष्ट गोल गर्दै टिमलाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए। त्यसपछि दोस्रो हाफमा पनि जोटाले नै पोर्चुगलका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरे। उनले तेस्रो गोल कार्भाहालोको पासमा गरेका हुन्।

जितसँगै पोर्चुगल लिग ‘ए’ अन्तर्गत समूह–३ को शीर्ष स्थानमा कायमै छ। ४ खेलबाट पोर्चुगलले १० अंक जोडेको छ। फ्रान्सको १० अंक भए पनि पोर्चुगल गोल अन्तरमा अघि रहेर शीर्ष स्थानमा छ। फ्रान्सले क्रोएसियाविरुद्धको खेलमा गत २०१८ विश्वकप फाइनलको नतिजा पुनरावृत्ति गरेको छ। फ्रान्सले क्रोएसियालाई २–१ ले हराएको थियो।

किलियन एमबाप्पेले ७९औं मिनेटमा लुकास डिग्नेको सानदार क्रसमा गोल गर्न सफल भए। उनको यो १६औं अन्तर्राष्ट्रिय गोल थियो। यसअघि एन्टोइने ग्रिजम्यानले खेलको आठौं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। तर, निकोला भिलासिचले ६४औं मिनेटमा गोल गर्दा क्रोएसियाले खेल १–१ बराबरीमा ल्याएको थियो।

यस्तै, समूह ‘ए’ अन्तर्गत खेलमा नेदरल्यान्डसले इटालीविरुद्ध सम्भावित हार टारेको छ। इटालीका लोरेन्जो पेलेग्रिनीले १६औं मिनेटमा गोल गरेर टिमलाई १–० को अग्रतामा राखेका थिए। तर, २५औं मिनेटमा डोनी भान डी बिकले गोल गर्दै नेदरल्यान्डसलाई हारबाट बचाए।

नेदरल्यान्डस र इटालीले अंक बाँड्दा सो समूहमा पोल्यान्ड ७ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। पोल्यान्डले बोस्निया हर्जगोभिनाविरुद्धको खेल ३–० ले जितेको थियो। टिमका लागि रोबर्ट लेवान्डोस्कीले दुई गोल र कारोल लिनेटीले एक गोल गरे। पोल्यान्डले अर्को एक जित हात पारेमा अर्को सिजनमा हुने नेसन्स कपका लागि छनोट हुनेछ। लिगको हरेक समूहका शीर्ष टिम सोझै अर्को सिजनमा हुने नेसन्स कपका लागि छनोट हुने प्रावधान रहेको छ।

लेवान्डोस्कीको कीर्तिमान
पोल्यान्डका प्रमुख स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले ६३ गोल संख्या पु¥याएर राष्ट्रका लागि कीर्तिमान रचेका छन्। उनले गत सिजनमा बायर्न म्युनिखका लागि ४७ खेलबाट ५५ गोल गरेका थिए। उनले बायर्नका लागि सबै प्रतिस्पर्धामा गरी ९९ खेलबाट एक सय गोल गरेका छन्। अघिल्ला १० अन्तर्राष्ट्रिय खेलमा उनले ८ गोल गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्