अमेरिकी अर्थ बजारमा सिक्काको अभाव



वासिङ्टन, (एजेन्सी)
अमेरिकी अर्थतन्त्रमा कोरोना भाइरस महामारीको अर्को शिकार चानचुन अर्थात् सिक्का बनेको छ। बजारमा सिक्काको अभाव हुन थालेपछि अमेरिकी सरकारले आफ्ना जनतालाई किनमेलमा सिक्का प्रयोग गरेर कारोबार सन्तुलित बनाउन अनुरोध गरेको छ।
भाइरस सन्त्रासकै कारण लकडाउन र निषेधाज्ञाजस्ता कुराले स्टोरमा थोरै व्यापार हुन थालेपछि स्वाभाविकरूपमा सिक्काको प्रवाह अर्थात् आपूर्तिमा पनि संकुचन आएको हो। हाल अमेरिकी सिक्का क्वार्टर्स, डाइम्स र निकल्सको प्रवाहमा अनपेक्षित कमी आएको छ। फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले व्यापार व्यवसाय गर्ने स्टोर र बैंक बन्द रहेकाले यो समस्या सिर्जना भएको जानकारी पत्रकारलाई दिएका छन्।
फलतः हाल सरकारले जनतालाई सिक्का प्रयोग गरेर सर–सामान खरिद बिक्रीमा वा बैंकमा सटही गरेर सहयोग गरिदिन आह्वान गरेको छ। सबै व्यक्तिले बैंक कार्डमार्फत भुक्तानी गर्ने वा कोरोना महामारीकै कारण मानिसले सिक्का छुँदा पटक–पटक हात धुनुपर्ने झन्झटबाट बच्न चाहेकाले पनि सिक्काको बजारमा अभाव हुन थालेको बताइएको छ।
सरकारले लाखौं अमेरिकीले अझै पनि नगदमा भुक्तानी दिने गरेको र यसरी करोबार गरिँदा सिक्काको आवश्यकता निश्चितरूपमा हुने जनाएको छ। पावेलले सरकारले यो समस्याबाट मुक्ति पाउन ‘सिक्का कार्यदल’ समेत तयार गरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्