म्युजिक भिडियोमा निराजनको राज



–रश्मी थापा
८ वर्षमै एक हजारभन्दा धेरै म्युजिक भिडियो, अनि केही फिल्ममा केमियो रोल। विज्ञापन फिल्म पनि उत्तिकै। यसरी छोटो समयमै लोभलाग्दा लोकप्रियता कमाउन सफल भाग्यमानी मोडल र अभिनेता हुन् निराजन प्रधान। निराजन त्यस्ता भाग्यशाली मोडल तथा अभिनेता हुन्, जसले नेपाली फिल्म क्षेत्रका सुपरस्टारले भन्दा धेरै अभिनेत्री तथा मोडलका साथ अनस्क्रिन रोमान्स गर्ने मौका पाएका छन्। व्यस्तताको कुरा गर्ने हो भने पनि कोरोना कहरका समयमा पनि उनलाई म्युजिक भिडियोको सुटिङ सेड्युल मिलाउन मुस्किल परिरहेको छ।

कोरोना संक्रमणका कारण लगाइएको लकडाउन र निषेधाज्ञादेखि अहिलेसम्म पनि उनी म्युजिक भिडियोको मोडलिङ र अभिनयमै व्यस्त छन्। म्युजिक भिडियोमा काम गर्ने अभिनेत्रीदेखि ठूूला पर्दाका प्रायः नायिकाहरू तथा मिस नेपालसम्म काम गरेका निराजनको अभिनय रहेको धेरै म्युजिक भिडियो टे«न्डिङमा पर्न सफल रहँदै आएका छन्।

तनहुँमा जन्मेका निराजनले स्कुलेशिक्षा पूूरा गरेपछि त्यहींबाट उच्च शिक्षा अध्ययन तथा सानैदेखिको नायक तथा मोडल बन्ने सपना पूूरा गर्ने सोचका साथ काठमाडौंको यात्रा तय गरे। केही समय यूूएईमा बिताएर नेपाल फर्किएपछि फिल्म क्षेत्रमा काम गरिरहेका साथी तथा कलाकार रोहित रुम्बामार्फत सुर्खेतमा आयोजित चलचित्र महोत्सव–२०६९ मा सहभागी हुने मौका पाएका निराजनले त्यहाँ नृत्य निर्देशक गोविन्द राईको कोरियोग्राफीमा पहिलोपटक नृत्य गर्ने अवसरलाई सुनौला मौकाका रूपमा उपभोग गरे।

अभिनेत्री अनु शाहका साथ स्टेज शेयर गरी आफ्नो खास नृत्य कला पस्किएपछि उनी सबैको आँखामा परे। स्टेजमा नृत्य गर्दा पाएको दर्शकको त्यही माया र कलाकारलाई गर्ने सम्मान देखेर उनी कलाकारितामा थप मोहित हुँदै गए र कलाकारितामा नै लाग्छु भन्ने सोचका साथ अगाडि बढे।

महोत्सवबाट फर्किएपछि पहिलो म्युजिक भिडियोका रूपमा फिल्म तथा म्युजिक भिडियोका निर्देशक स्व. आलोक नेम्वाङका साथ काम गरेका निराजनले दोस्रो भिडियोमा वर्षा राउतका साथ जोडी बाँधे। त्यसपछि त के चाहियो, उनको कलायात्राको द्वार यसरी खुल्यो कि, उनले पछाडि फर्केर हेर्नुपरेको छैन।

‘हुन त सानैदेखि कलाकार बन्छु भन्ने सोच थियो, स्कुलमा हुने डान्स प्रोगामहरूमा पनि भाग लिइरहन्थे तर कलाकारितामा चिनजानको कोही पनि थिएनन्। पछि साथी रोहितसँगका भेटपछि काम गर्ने अवसर मिल्यो। कुनै पनि कामका लागि सही समय आउन पर्दोरहेछ।’ –निराजन भन्छन्।

एकपछि अर्को म्युजिक भिडियोमा काम गर्दै जाँदा निराजनको म्युजिक भिडियोको संख्या हजार नाघिसकेका छन्। काम गर्दै जाँदा आफूलाई अझ परिस्कृत हुँदै गएको महसुस गरे पनि उनले बीचमा आफूूलाई अझ निखार्न रंगकर्मी अनुप बरालका साथ अभिनयको तालिम लिए भने नृत्यसम्बन्धी तालिम पनि लिए।

८ हजारमा करिअर शुरु गरेका निराजन अहिले आफूले प्रति भिडियोको ८० देखि ९० हजार लिने गरेको बताउँछन्। ‘प्रोफेसनल्ली यही फिल्डमा लागिरहेको छु। कमाइको हिसाबले राम्रो छ। तर, लकडाउनको कारण अरू क्षेत्र जस्तै कला क्षेत्रमा पनि ठूूलो असर परेको छ। करिब ६ महिना काम ठप्प हँुदा यसमा आबद्ध कलाकार तथा अन्य व्यक्तिलाई यसले प्रभाव पारेको छ। अहिले विस्तारै काम शुरु हुँदै छ, त्यसैले अब केही सजिलो भएको छ।’ –निराजन भन्छन्। निराजनले प्रायः नाम चलेका अभिनेत्री, मोडल तथा निर्देशकका साथ काम गरिरहेका छन्।

म्युजिक भिडियो अभिनयका क्रममा धेरैसँग काम गरे पनि अभिनेत्रीहरू वर्षा राउत, स्वस्तिमा खड्का तथा एलिशा राईसँग काम गर्दा अझ सहज महसुस हुने उनी बताउँछन्। काम गर्दा कोसँग काम गर्ने भन्दा पनि आफ्नो भूमिका कस्तो छ भन्ने कुरामा ध्यान दिने गरेको बताउने निराजन आफूूलाई धेरै फिल्ममा अफर आएको तर चित्तबुझ्दो भूमिका नभएका कारण काम नगरेको दाबी गर्छन्।

‘मलाई लभर ब्वाईको क्यारेक्टर सुट गर्छ जस्तो लाग्छ। धेरै फिल्मको अफर आएका छन्। तर, म अझ राम्रो स्क्रिप्टको पर्खाइमा छु। यसै क्रममा रोल भन परेका कारण ए मेरो हजुर–४ मा पनि अभिनय गर्दै छु।’ –निराजन भन्छन्। निराजनले यसअघि क्लासिक, तोरी लाउरे, जालोजस्ता फिल्ममा केमियो रोल गरेका थिए। उनले मोडलिङ तथा म्युजिक भिडियोमा काम गरेर विभिन्न संघ–संस्थाबाट थुप्रै अवार्ड जितेका छन्।

प्रतिक्रिया दिनुहोस्