नेपाल समाचारपत्रमा समाचार छापिएपछि सहयोग



हेटौंडा, (नेस)
राष्ट्रिय दैनिक नेपाल समाचारपत्रमा समाचार छापिएपछि फुटबलर शुक्रबहादुर राईको उपचार खर्च गर्न धेरैले सहयोगको हात बढाएका छन््। आर्थिक सहयोगका कारण राई अस्पतालबाट घर फर्केका छन्। उनको उपचारका लागि सूर्यकिरण युवा क्लबले ६२ हजार ५ सय र हाँडीखोला युथ क्लबको अगुवाइमा ४० हजार १ सय ३० रुपियाँ गरी करिब १ लाख ३ हजार संकलन भएको हो।
यसैगरी, उपेन्द्र भट्टले १५ हजार ६२ रुपियाँ, विकेशलाल श्रेष्ठले ५ हजार, गणेशदर्पण अधिकारीले ३ हजार ६ सय ३०, सुदीप राजबाहकले ३ हजार, भीमसेन पौडेलले २ हजार ५ सय ५५, छवि सुवेदीले २ हजार र आशिष बर्तौलाले १ हजार ५ सय सहयोग गरेका छन्।
यस्तै, श्यामकुमार मानन्धरले एक हजार ५ रुपियाँ, वसन्तकुमार सिटौला, जयराम सुवेदी, प्रकाश थोकर, श्रीराम खड्का, मनोज विष्टले एक हजार तथा पत्रकार विजय पौडेलले १ हजार ३ सय ७८ रुपियाँ सहयोग गरेका छन्।
फुटबल खेल्दा लागेको चोटको उपचार खर्च तिर्न नसकेर अस्पतालमै बस्न बाध्य राई उपचार खर्च सहयोग प्राप्त भएपछि घर फर्किएका छन्। आर्थिक अवस्था कमजोर भएका राईको उपचार खर्च तिर्न सूर्यकिरण युवा क्लब र हाँडीखोला युथ क्लबले सहयोग संकलन गरेका थिए।
‘खेल्दा अर्को क्लबका खेलाडीसँग ठोक्किएर भुइँमा लड्दा कुमको हड्डी भाँच्चिएछ। उपचार गर्दा करिब डेढ लाख खर्च लागेपछि कसरी तिर्ने भन्ने समस्या परेको थियो। मैले जिल्ला लिग खेलेको क्लब र म आबद्ध गाउँको क्लबले सहयोगीहरूसँग सहयोग उठाएर उपचारमा सहयोग गर्नुभयो खुसी छु– राईले भने।’ उनलाई फुटबलकै कारण चोट लागे पनि फुटबलकै कारण उपचार खर्च सहयोग जुटेको छ।
सूर्यकिरण युवा क्लबका अध्यक्ष वीरबहादुर मिजारले खेलाडीको उपचारमा सहयोग जुटेकोमा खुसी व्यक्त गरेका छन्। ‘उपचार खर्च जुटाउन नसक्दा उपचार भइसक्दा पनि खेलाडीलाई घर लैजान पाइएको थिएन। सोमबार उपचार खर्च तिरेर खेलाडीलाई घर लिएर आएका छौंं– मिजारले भने।’ हेटौंडाको मोडल अस्पतालमा राईको उपचार भएको हो। उनको उपचारमा १ लाख ३४ हजार खर्च भएको मिजारले जानकारी दिए।
केही दिनअघि हेटौंडा उपमहानगरपालिका–१९ स्थित नेवारपानीमा भएको स्थानीय प्रतियोगिता खेल्दै गर्दा लडेर उनको कुमको हड्डी फुटेको थियो।

प्रतिक्रिया दिनुहोस्