दशैंको दर्द



घना बस्तीमा फैलदो अवस्थामा रहेको कोरोना संक्रमण अव देशका कुना–कन्दरामा पुग्ने निश्चितप्रायः भएको छ । नेपालीहरुको महान चाढ नजिकिएसंँगै कोरोना संक्रमण देशभर फैलनसक्ने आंँकलन गर्न थालिएको छ । देशका विभिन्न ठाउंँमा रहेका नेपालीहरु चाड मनाउन घर फर्कन थालेपछि अवस्था गम्भीर हुन थालेको हो ।

ग्रामीण क्षेत्रमा कम प्रभाव रहेको कोरोना संक्रमणको दर अब बढ्ने विज्ञहरुले बताएका छन् । कोरोना संक्रमणलाई सामान्य रुपमा लिने नेपालीको बानीले पनि यसको प्रभाव बढ्दो अवस्थामा छ । पछिल्लो समय दैनिक ५ हजारसम्म नयांँ संक्रमित देखिन थाल्दासमेत नागरिकको चेतनास्तरमा परिर्वतन आउन सकेको देखिंदैन ।

नेपालमा लक्षणविहीन कोरोना संक्रमितहरुको संख्या बढ्दो अवस्थामा रहेकाले पनि यसले समाजमा नराम्रो असर पार्ने देखिन्छ ।

सरकारले कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसक्दा यो संक्रमणले राजधानीलगायत मुलुकका विभिन्न स्थानमा महामारीको रुप लिन थालिसकेको छ । महामारीको रुपमा फैलदो अवस्थामा रहेको कोरोना संक्रमणलाई हेलचेक्रयाइँ गर्दा यसले दीर्घरोगी र वृद्धवृद्धाहरुलाई बढी असर पारेको देखिएको छ ।

यस पटक सरकारले दशैं–तिहारजस्तो चाडमा थातथलो नर्फकन र जहाँं बसेको हो त्यहीं नै बसेर मनाउन आग्रह गरेपनि अहिले देखि नै जिल्ला जानेहरुको भीड देखिन थालेको छ । सामाजिक दुरी कायम राख्ने विषयमा समेत आम नागरिकले ध्यान नदिदा अवस्था नाजुक बन्दै गएको छ ।

सरकारले चैत ११ गतेदेखि मुलुकभर लक डाउन गरेपनि त्यसबेला कोरोनाको खासै असर देखिएको थिएन । पछिल्लो समयमा नागरिक स्तरबाट लकडाउनको बिरोध भएपछि मुलुक चलायमान बनाउन सरकारले लकडाउनको अन्त्य भएको घोषणा गरेपछि अहिले कहालीलाग्दो अवस्था सिर्जना भएको छ ।

कोरोनाले पखेंटा फिंजाउन थालेपछि, सरकारले निषेधाज्ञासम्म लगाएपछि र संक्रमण तथा मृत्युको संख्या बढ्दै गएपछि नागरिकमा डर भने बढेको छ । नागरिकमा स्वास्थ्य चेतना बढेको र त्यसअनुसार व्यवहार गर्नेगरेको पनि देखिएको छ ।

मास्क लगाउने, ह्याण्ड स्यानिटाइजर बोकेर हिंड्ने र सामाजिक दूरी कायम गरेर बस्ने अभ्यास बढेको छ । तर, आवश्यकताको तुलनामा यो अभ्यास अत्यन्त न्यून छ ।

सरकार कोरोना महामारी नियन्त्रण गर्न असफल बन्दै गएपछि हात झिक्ने अवस्थामा पुगेको छ । कतिपय नागरिकहरुमा भने कोरोना संक्रमण सामान्य रुघाखोकी भएको भान छ । परिणामस्वरुप संक्रमणको दर बढ्दो अवस्था रहेको छ ।

अरुले केही गरिदिएन भन्दा पनि आफू सचेत हुनुको विकल्प देखिदैन । पछिल्लो केही दिनदेखि कोरोना संक्रमितको मृत्युदर पनि बढेको छ भने आईसीयु र भेन्टिलेटरमा राखिनेको संख्या दिन–प्रतिदिन बढ्दो अवस्थामा रहेको छ ।

अहिले अस्पतालहरुले भेन्टिलेटर नभएको भन्दै चिन्ताजनक अवस्थामा पुगेका विरामीहरुलाई समेत उपचार नगरिदिदा उनीहरुले अकालमा ज्यान गुमाउनुपरेका समाचार सार्वजनिक हुनथालेका छन् ।

अब नागरिक आफंै सचेत नहुने हो भने स्थिति काबुभन्दा बाहिर जाने निश्चित छ । त्यस कारण सबैले आ–आफ्नो ठाउंँमा सचेत हुनुको विकल्प देखिदैन । एकले अर्कालाई गाली गर्नुभन्दा पनि आफै सचेत भएर बस्नु नै उत्तम विकल्प देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्