डडेल्धुरामा सङ्क्रमण बढ्न थालेपछि प्रशासनद्वारा कडाई



राम धामी,डडेल्धुरा ।

पछिल्ला दिनहरुमा डडेल्धुरा जिल्लामा कोरोना सङ्क्रमण बढ्न थालेपछि स्थानीय प्रशासनले कडाई गर्न थालेको छ ।जिल्ला प्रशासन कार्यालय डडेल्धुराले मंगलबार सार्वजनिक सूचना जारीगर्दै कोरोना महामारी सङ्क्रमण जोखिमको बर्तमान अवस्थामा नेपाल सरकारले लागू गरेका स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्न अनुरोध गरेको छ ।

मंगलबार डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालद्वारा हस्ताक्षरित जनहितका लागि जारी सार्वजनिक सूचनामा जिल्लाभरि विद्यालय, कलेज र शैक्षिक संस्थाहरुमा हुने पठनपाठन, खेलकुद र अन्य भौतिक कृयाकलापहरु नगर्न आग्रह गरिएको छ ।राजनीतिक दल र भातृ संगठनहरुले भिडभाड हुनेगरि राजनीतिक गतिविधीहरु आमशभा, गोष्ठी लगायतका कृयाकलापहरु नगर्ने र बिभिन्न क्लव तथा समुहहरुले आयोजना गर्ने खेलकुद लगायतका धैरै संख्यामा ब्यक्तिहरु जम्मा हुने गतिविधी नगर्न अनुरोध गरिएको छ ।

यसैगरि, सबै प्रकारका मेला, जात्रा, पर्व, उत्सव तथा मन्दिरहरुमा हुने धार्मिक, सांस्कृतिक र सामाजिक जमघटहरु नगर्न र सार्वजनिक यातायात, व्यापार, उद्योग, सरकारी तथा निजी कार्यालयहरु, बैंक तथा वित्तीय संसथाहरु, बजार र व्यापारिक केन्द्रहरु लगायत मानिसहरुको भिडभाड हुने क्षेत्रहरुमा कोभिड–१९ को सङ्क्रमण जोखिम न्युनीकरण गर्न स्वास्थ्य सुरक्षा मापदण्डको परिपालना गर्न र गराउन आग्रह गरिएको छ ।

होटल रेष्टुरेन्ट, क्लव तथा खाजा र खाना खाने पसलहरुमा जमघट तथा भिडभाड हुन नदिन समेत सार्वजनिक सूचना मार्फत आग्रह गरिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । उल्लेखित सबै बुँदाहरुको उल्लङ्घन गरेको पाईएमा अटेरी गर्ने त्यसप्रकारका क्रियाकलापहरुमा संलग्न ब्यक्तिहरुलाई तत्काल नियन्त्रणमा लिई सङ्क्रामक रोग ऐन २०२० तथा प्रचलित कानून अनुसार कडा कारवाही गरिने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्