डिडिसि बालाजुको मखनका कार्टुनमा उत्पादन मिति नै छैन, कतिपय विवरण हातैले लेखिएका



न्युज अफ नेपाल, काठमाडौं ।

दूग्ध विकास संस्थानअन्तर्गतको काठमाडौं दुग्ध वितरण आयोजना बालाजुले वटर डिप फ्रिजमा राखेको १ लाख ९४ हजार ९७५ केजी मखनको उत्पादन मितिमा प्रश्न उठेको छ । २५ किलोग्राम तौल भएको वटर कार्टुनमा राखिएको छ ।

संस्थागत बिक्री (इन्टिच्युसनल सेल वन्ली) का लागि प्याकेजिङ् गरिएका यी कार्टुनमा उत्पादकको नाम ठेगानामा सजल डेरी प्रा. लि. पोखरा लेखिएको छ । केही कार्टुनमा उत्पादन मिति लेखिएको छ भने केहीमा लेखिएको छैन । मिति भएकोमा पनि हातैले सन् २०१९ डिसेम्बर महिनाका बिभिन्न तारिख लेखिएकाछन् । व्याच नं. पनि केहीमा छ केहीमा छैन । लेखिएको व्याच नं. मा ६ देखि ११ सम्मका छन् । चिल्लो पदार्थ (फ्याट) प्रतिशतमा केही सूचना उल्लेख छैन । त्यही कोलममा तौल (नेट वेट) २५ किलोग्राम र २० डिग्री सेन्टिग्रेडमा भण्डारण गर्दा ८ महिना प्रयोग गर्न मिल्ने लेखिएको छ ।

यिनै विवरणलाई आधार मान्ने हो भने भण्डारण गरिएको मखनको ८ महिने उपभोग्य म्याद सकिएको पनि २ महिना वितिसकेको छ । ती सामान अगष्ट २०२० सम्ममा प्रयोग भइसक्नु पर्ने थियो । ४ र ५ नम्बरका केही डिफ्रिजमा केही पनि विवरण नलेखिएका ३० कार्टुनमा मखन भण्डारण थियो ।

त्यहाँ लेखिएको म्याद सिद्धियो त ? किन भण्डारण गरिराखेको? प्रश्नको उत्तरमा निमित्त आयोजना प्रमुख गोविन्दराज जोशी भन्नुहुन्छ — ‘मखनमा हुनुपर्ने फ्याटको प्रतिशत ७८ देखि ७९ सम्म देखियो । यो ८० प्रतिशत हुनुपर्ने हो । हेर्दा १ प्रतिशतको कुरा हो । तर ठूलो परिणाममा यसले ठूलै प्रभाव पार्छ । त्यसैले हामीले यो मखन प्रयोग गर्न नसकिने भनेर केन्द्रमा पत्राचार गरेका छौं । त्यसको जवाफ कुर्दैछौं । यहीकारण ठूलो परिणाममा सामान फ्रिजमा भेटिएको हो ।’

अनुगमनपछि अवस्थाका बारेमा प्रतिक्रिया दिँदै महानगरको कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीले भन्नुभयो — ‘बजार अनुगमनका क्रममा डिडिसिका उत्पादनका बिषयमा गुनासा आएका थिए । काठमाडौंका बजारमा डिडिसिका उत्पादनको ठूलो हिस्सा रहेकोले यसको गुणस्तर हाम्रो सरोकारको विषय बनेको हो ।’

‘खाद्य गुणस्तर र मूल्यका दृष्टिले बजारलाई उपभोक्तामैत्री बनाउने जिम्मेवारी सरकारको हो । व्यापारीलाई नियमन गर्नुपर्ने सरकारी निकायका काम उदाहरणीय हुनुपर्छ ।’ अनुगमनमा रहनुभएका उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना भन्नुहुन्छ — ‘खाद्य पदार्थको व्यवस्थापनमा काम गर्ने सरकारी निकाय उदाहरणीय नहुञ्जेल बजारमा हस्तक्षेपकारी काम गर्न कठिन छ ।’

महानगरको उपभोक्ता हित संरक्षण समितिले बजारमा खाद्य तथा दैनिक उपभोथ्य बस्तुको नियमित अनुगमन गरिरहेको छ । यो समितिको संयोजक उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ हुनुहुन्छ भने अनुगमनको नेतृत्व कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीले गरिरहनुभएको छ । टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण बिभाग, खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग, महानगरको पशु सेवा बिभाग, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका पदाधिकारी सहभागी हुनुहुन्छ । टोलीले सामान बरामद गर्न, नष्ट गर्न तथा अन्य आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र नगर प्रहरीसँग समन्वय गर्ने गरेको छ ।

अनुगमन टोलीले घिउ उत्पादन हुने कक्षको पूर्वाधार सुधार गर्न र सरसफाइ गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्